दुई कोरियाबीच सेप्टेम्बरमा सम्मेलन हुने


२८ श्रावण २०७५, सोमबार
Moon JIe in and Kim Jong un

एएफपी

सोल, २८ साउन । उत्तर र दक्षिण कोरियाबीच आगामी सेप्टेम्बरमा सम्मेलन हुने भएको छ । दुई कोरियाबीच हालै भएको उच्चस्तरीय वार्तापछि सो सहमति भएको जनाइएको छ ।

दुई कोरियाबीको निशस्त्रीकरणसम्बन्धी उच्च अधिकारीको वार्ताका क्रममा सेप्टेम्बरमा उच्चस्तरीय सम्मेलन गर्ने सहमति भएको बताइएको हो ।

ती अधिकारीको हालै सम्पन्न बैठकमा सेप्टेम्बरमा उत्तर कोरियाको राजधानी प्योङ्याङमा दुई कोरियाबीचको सम्मेलन गर्ने सहमति भएको बैठकपछि जारी संयुक्त वक्तव्यमा जनाइएको छ ।

तर सो सम्मेलनको मिति भने तोकिएको छैन । हाललाई उक्त सम्मेलन गर्ने भन्ने सहमति मात्र भएको पनि सो समाचारमा जनाइएको छ । दुई कोरियाका उच्च अधिकारीबीच कोरियाली शान्ति गाउँ पानमुनजोममा भएको सो बैठक पनि सौहार्द भएको सोही संयुक्त विज्ञप्तिमा बताइएको छ ।

यदि सेप्टेम्बरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन प्योङयाङ गए भने दक्षिण कोरियाली राष्ट्रपतिका रुपमा एक दशकपछि नै उहाँको यो पहिलो भ्रमण हुनेछ ।

हुनत उत्तर कोरियाले गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि दक्षिण कोरियाले लगाउँदै आएको नाकाबन्दी हटाइएको छैन, तर पनि यसबीचमा यी दुई कोरियाबीचको सम्बन्धमा भने पछिल्लो समयमा निकै सुधार आएको छ ।

त्यसैगरी उत्तर कोरियाको निशस्त्रीकरण कार्यमा पनि केही प्रगति भएको बताइएको छ । उत्तरले आफूमाथिको आर्थिक नाकाबन्दी हटाउन दक्षिण कोरिया र अमेरिकालाई पनि बारम्बार आग्रह गरी आएको छ ।

सेप्टेम्बरमा सम्मेलन गरेर उत्तर कोरियाले अमेरिकासँगको पछिल्लो उच्चस्तरीय वार्तापछि प्रगति भएको सन्देश दिन खोजेको एसियन इन्स्टिच्युट अफ पोलिसी स्टडिजका विश्लेषक गो म्योङ हुनले जनाए ।

उनले एएफपी समाचार समितिसँग भने, ‘दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तरसँगको सम्बन्ध विकास गर्ने चाहना त राख्नुभएको छ तर पनि अमेरिकासँग उत्तर कोरियाको सम्बन्धमा सुुधार नआउदासम्म सो सम्भव छैन ।’

अप्रिल महिनामा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीचको उच्चस्तरीय बैठकका क्रममा उहाँहरुले सेप्टेम्बरसम्ममा उत्तर कोरियाको राजधानीमा द्विपक्षीय सम्मेलन गर्ने सहमति गर्नुभएको थियो ।

सोही बमोजिम उनीहरुबीच सेप्टेम्बरमा यो सम्मेलन हुन लागेको हो । उक्त सम्मेलनमा सहभागी हुन आफू इच्छुक रहेको जानकारी दक्षिण कोरियाका राष्ट्रपति मुनले दिइसकेकाे छ ।

यसअघि गत जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा उच्चस्तरीय भेटवार्ता भएपछि उत्तर कोरियाले निशस्त्रीकरणका क्षेत्रमा काम गरिरहेको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७