प्रदेश र जिल्ला कमिटीमा एमाले–माओवादीको भागबण्डा, कसलाई कति ? (सूचीसहित)

चार प्रदेशमा पूर्व एमाले र तीन प्रदेशमा पूर्व माओवादीको नेतृत्व


२९ श्रावण २०७५, मंगलवार
bam gathabandhan

काठमाडौं, २९ साउन । प्रदेश र जिल्ला तहमा नेकपा एमाले र नेकपा माओवादीको समायोजन लगभग समान हैसियतमा देखिएको छ ।

bam gathabandhan

तात्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच भागवण्डाका आधारमा बराबरीकै हैसियतमा आउँदो भदौंको दोस्रो सातासम्ममा पार्टी समायोजनको काम सिध्याउन यस्तो विधि अपनाइएको नेताहरुले जानकारी दिएका छन् । आम चुनावदेखि प्रदेश सरकार गठन हुँदै पार्टी एकतासम्म पुग्दा ६०–४०, ७०–३० र ५५–४५ को भागबण्डा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका तल्ला कमिटीहरुको एकीकरण भने बराबरीको हैसियतमा हुने भएको छ । केही संख्या तलमाथि भए पनि आमरुपमा प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण बराबरीकै आधारमा तात्कालीन दुवै पार्टीका सदस्यहरु सिफारिस भएका छन् ।

सात वटै प्रदेशमा एकीकरणका लागि गठित कार्यदलले जिल्ला कमिटीसम्मको एकीकरण प्रक्रिया अन्तिम चरणमा रहेको नेकपा स्रोतले जानकारी दिएको छ । अहिलेको एकीकरण तात्कालीन एमाले वा माओवादीको आधारमा नभई योग्यता, क्षमता, आवश्यकता, वरिष्ठतालगायतका आधारमा व्यक्तिहरुको नाम कमिटीमा सिफारिस गर्न सर्कुलर पठाइएको नेकपाका महासचिव बिष्णु पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘सम्बन्धित स्थानीय तहमा पूर्ववत् अवस्थामा कुन पार्टीले जितेको थियो भन्ने कुरालाई पनि आधार बनाएर सिफारिस हुन्छ ।’ प्रदेश–१ मा पूर्व एमाले ५० र पूर्व माओवादीले ४१ प्रतिशत पाए पनि अन्य प्रदेशमा केही संख्या मात्र घटबढ हुनसक्ने र प्रदेश–६ मा माओवादीले एमालेभन्दा एक जना बढी सदस्य पाएको नेकपा स्रोतले जानकारी दिएको छ ।

प्रदेश र जिल्ला कसको कति सदस्य ?
७ वटा प्रदेशमध्ये पूर्व एमालेले चार र पूर्व माओवादीले तीन प्रदेशको अध्यक्ष पाउने गरी शीर्ष तहमा छलफल भएको छ । त्यसो गर्दा प्रदेश १, २, ६ र ७ मा पूर्व एमालेले प्रमुख नेतृत्व पाउने छ भने प्रदेश २, ४ र ५ को नेतृत्व पूर्व माओवादीका नेताले पाउने छन् स्रोतले जनाएको छ । प्रदेश अध्यक्ष जसले पाउँछ, प्रदेश सचिव अर्को पक्षले पाउने पनि स्रोतको दावी छ । प्रदेश अध्यक्ष र सचिव केन्द्रीय कमिटी सदस्यबाट चयन हुने सम्भावना छ ।

प्रदेश इन्चार्ज स्थायी कमिटी र सहइन्चार्ज पोलिटव्यूरो सदस्यबाट पठाइने सम्भावना छ । त्यस्तै ७७ जिल्ला कमिटीमा पनि बराबरीकै आधारमा अध्यक्ष र सचिव तोकिने स्रोत बताउँछ । कुन जिल्ला कमिटीको नेतृत्व कसले पाउने भन्ने प्रदेश कमिटीको कार्यदलले नै सिफारिस गर्ने र सो आधारमा केन्द्रले निर्णय लिनेछ । केन्द्रले माथिबाट जिल्ला बाँडफाँट नगर्ने नेताहरुले बताउँदै आएका छन् ।

कर्णाली प्रदेशमा त्यहींको कार्यदलले ५ जिल्लामा पूर्व एमाले र ५ मा पूर्व माओवादीले अध्यक्ष पाउने गरी सिफारिस भएको स्रोतले बताएको छ । प्रदेश–७ मा पूर्व एमालेले ६ र पूर्व माओवादीले ३ जिल्लाको नेतृत्व पाउने गरी सहमति खोजिएको छ । यद्यपि कार्यदलका सदस्य लक्ष्मी जोशीले २ जिल्लाको छलफल बाँकी रहेको जानकारी दिएका छन् । त्यस्तै प्रदेश–५ मा पूर्व माओवादीले ६ र पूर्व एमालेले ६ जिल्लाको नेतृत्व गर्ने गरी समझदारी भएको छ । यद्यपि पूर्व माओवादीले ५ र पूर्व एमालेले ७ जिल्लाको नेतृत्व लिने गरी अर्को छलफल पनि चलिरहेको स्रोतले जानकारी दिएको छ ।

गण्डिकी प्रदेशमा पूर्व एमालेले ७ र पूर्व माओवादीले ४ जिल्लाको नेतृत्व पाउने गरी छलफल अघि बढेको छ । प्रदेश–२ मा आठमध्ये दुवैले चार–चार जिल्लाको नेतृत्व गर्ने सम्भावना छ । प्रदेश–१ मा पूर्व एमालेले ८ र पूर्व माओवादीले ६ जिल्लाको नेतृत्व पाउने सम्भावना छ । प्रदेश–३ मा पूर्व एमालेले ८ र पूर्व माओवादीले ५ जिल्लाको नेतृत्व पाउने गरी छलफल चलिरहेको जनाइएको छ । भूगोलका ७७ जिल्ला कमिटीमध्ये पूर्व एमालेले बढीमा ४४ र पूर्व माओवादीले ३३ जना अध्यक्ष पाउने संकेत देखिए पनि तल्ला कमिटीलाई नै नेतृत्व टुंग्याउन दिँदा अझ राम्रोसँग एकीकरणको भावना व्यक्त हुने नेताहरुको बताउँछन् ।

Bhagbanda

यस्तो छ प्रदेश कमिटीको मोडल

कार्यदलहरुले प्रदेश कमिटीमा रहने सदस्यहरुको सिट बाँडफाँड टुंगो अन्तिम चरणमा पुर्‍याएका छन् । प्रदेश–४ र ७ बाहेक अन्य कमिटीमा पूर्व एमाले र पूर्व माओवादीले कति–कति सिट पाउने भन्ने टुङ्गो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ ।

नम्बर–१ को प्रदेश कमिटी र स्थानीय कमिटीहरुको एकीकरणका लागि गठित कार्यदललमा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले सदस्य छन् । यो कार्यदलले २०७ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमालेबाट १२२ र पूर्व माओवादीबाट ८५ सदस्य रहने सहमति गरेको छ । यो पूर्व एमाले ५९ प्रतिशत र पूर्व माओवादी ४१ प्रतिशतको रेसियो हो । प्रदेश–२ को पार्टी एकीकरण कार्यदलमा सत्यनारायण मण्डल, विश्वनाथ साह, प्रभु साह र नागेन्द्र चौधरी सदस्य छन् । कार्यदलले २१५ सदस्यीय रहने प्रदेश कमिटीमा पूर्व एमालेबाट १०८ र पूर्व माओवादीबाट १०७ सदस्य रहने प्रस्ताव गरेको जनाएको छ ।

यस्तै प्रदेश नम्बर–३ का स्थानीय कमिटी एकीकरण गर्न गठित कार्यदलमा अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशिनाथ अधिकारी र नारायण दाहाल सदस्य छन् । २१७ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमालेबाट ११६ र पूर्व माओवादीबाट १०१ सदस्य रहने सहमति भएको छ । प्रदेश–५ का कमिटी एकीकरण गर्न गठित कार्यदलमा शंकर पोखरेल, दलबहादुर राना, मणि थापा र गणेशमान पुन छन् । २०३ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमाले १०६ र पूर्व माओवादी ९७ जना रहने सहमति भएको छ ।

गण्डकी प्रदेशका स्थानीय कमिटी एकीकरण कार्यदलमा किरण गुरुङ, हरि अधिकारी, जगत विश्वकर्मा र हितराज पाण्डे सदस्य छन् । १८७ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमाले र पूर्व माओवादी कति कति रहने भन्ने टुङ्गो भइनसकेको जनाइएको छ । पूर्व एमालेबाट ९९ र पूर्व माओवादीबाट ८८ जना रहने गरी प्रदेश कमिटीको एकीकरणबारे छलफल चलिरहेको स्रोतको दावी छ ।

कर्णाली प्रदेशको कार्यदलले आफ्नो प्रतिवेदननै बुझाइसकेको छ । कार्यदलमा युवराज ज्ञवाली, जनार्दन शर्मा,यमलाल कँडेल, मायाप्रसाद शर्मा छन् । १७५ सदस्यीय प्रदेश कमिटीमा पूर्व माओवादीबाट ८८ र पूर्व एमालेबाट ८७ सदस्य रहने सहमति भएको छ । प्रदेश–७ का कमिटीहरुको एकीकरण गर्ने कार्यदलमा भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा र लक्ष्मी जोशी छन् । १८३ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमालेबाट १०० र पूर्व माओवादीबाट ८३ जना सदस्य रहने सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७