सांसदहरुले भने, ‘पण्डितदेखि सर्वसाधरणसम्मलाई करले कञ्ज्याए संघीयता टिक्दैन’


३० श्रावण २०७५, बुधबार

काठमाडौं, ३० साउन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । सोही पार्टीका भरतकुमार शाहले सप्ताह भन्ने पण्डितदेखि सर्वसाधारणसम्मलाई करको मारमा पारिएको गुनासो गर्दै करका कारण संघीयता जोखिममा पर्ने खतरा बढेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका भुपेन्द्रबहादुर थापाले वर्षाका कारण बेनी–जोमसोम बाटो अवरुद्ध भएकाले त्यसलाई खुलाउन आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सोही पार्टीका महेश्वरजंग गहतराजले मधेश आन्दोलन र जनआन्दोलनका घाइतेको भरणपोषणको प्रबन्ध गर्न माग गरेका छन् । नेपाली कांग्रेसकी मीना सुब्बाले जनतालाई महसुस हुने गरी मन्त्रिपरिषद्का सदस्यबाट काम प्रारम्भ भएकामा अहिले त्यो सुस्ताएको आरोप लगाइन् । सोही पार्टीका रंगमती शाहीले हुम्ला र डोल्पामा शिक्षक सेवा आयोगको परीक्षा केन्द्र तोक्न आग्रह गरिन् ।

नेपाली कांग्रेसका राजेन्द्र केसीले त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक समस्या समाधान गर्न सकारसँग माग गरे । सोही पार्टीका रामबहादुर विष्टले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी टयाङ्कीमा विषादी मिसाउनेमाथि कार्बाहीको माग गरे । नेपाल कम्युनिष्ट पार्टीकी रेखा शर्माले वर्षायाममा विकास–निर्माणका काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने र निर्माण व्यवसायीलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराइन् । सोही पार्टीका लक्ष्मीकुमारी चौधरीले गरीबको परिचयपत्र खास गरीबले नपाएकाले त्यसको छानबिन गर्न माग गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७