‘फेक रेस्क्यु’ का नाममा चार अस्पतालले उठाए ७३ करोड, कुन अस्पतालले कति कुम्ल्याए ?


३० श्रावण २०७५, बुधबार
fek

काठमाडौं, ३० साउन । सरकार नेपालमा पर्यटकको संख्या बढाउन योजनावद्ध रुपमा लागिरहेका बेला विभिन्न निकायहरुले भने पर्यटकका नाममा कसरी ब्रम्हलुट मच्चाइरहेका छन् भन्ने कुराको उदाहरण ‘फेक रेस्कयु’ देखिएको छ ।

fek

यसरी फेक रेस्क्युबाट रकम असुल्नेमा पर्यटन सम्बद्ध संघसंस्था मात्र छैनन् । नाम चलेका अस्पतालहरु पनि छन् । नेपाल घुम्न आउने पर्यटकको उद्धारको नाममा हुने ठगीमा संलग्न कम्पनीमाथि थप अनुसन्धान र कार्बाहीका लागि अर्काे टोली गठन भएको छ । राजश्व अनुसन्धान विभागको नेतृत्वमा सरकारले अर्काे टोली गठन गरेको छ । ‘फेक रेस्क्यु’ मा भएको ठगी भन्दा पनि राजश्व छलीमा केन्द्रित भएर सरकारले राजश्व अनुसन्धान विभागको नेतृत्वमा थप छानबिन र कार्बाही अघि बढाउन लागेको छ । जसबाट उनीहरुले ठगीबाट भने उन्मुक्ति पाउने सम्भावना देखिएको छ ।

पर्यटन मन्त्रालयले गठन गरेको ‘पर्यटक उद्धारसम्बन्धि छानबिन कार्यदल ’ले कार्बाहीका लागि २६ वटा कम्पनीलाई संगठित अपराध तथा ठगी मुद्दामा कार्बाही गर्न सिफारिस गरेको थियो । सोही अनुसार पर्यटन मन्त्रालयले गृह मन्त्रालयलाई प्रतिवेदनसहित कार्बाहीका लागि पत्राचार गरिसकेको छ । १० वटा अस्पताल, ८ वटा ट्रेकिङ कम्पनी, ५ वटा वैदेशिक मुद्राको कारोकार गर्ने कम्पनी तथा ३ वटा हेलिकोप्टर कम्पनीको नक्कली उद्धारमा संलग्नता देखिएको थियो । ती सबै कम्पनीको नाम गोप्य राखिएको छ । तर, स्वास्थ्य मनत्रालय स्रोतले उपलब्ध गराएको प्रारम्भिक जानकारी अनुसार फेक रेसुक्युमा ४ वटा अस्पतालले ७३ करोड ३३ लाख रुपैयाँको उपचार गरेको भेटिएको छ ।

कार्यदलको प्रतिवेदनमा भएको कुरा उल्लेख गर्दै स्रोतले दिएको जानकारी अनुसार सोह«खुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुतलीको सकोन हस्पिटल प्रालि, कपुरधाराको सिवेक अस्पताल प्रालि र बल्खुको बयोधा अस्पतालले फरक–फरक शीर्षकमा बिलबीजक खडा गरी चिकित्सकीय मर्यादा विपरीत उपचार गरेको पाइएको छ । यी अस्पतालमाथि छानबिन र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको छ ।

कुन अस्पतालले कति कुम्ल्याए ?
प्रतिवेदनमा सकोन अस्पतालले २ हजार २३ जना पर्यटकको उपचार बापत ३१ करोड ९८ लाख, सिवेकले १७ सय ६३ बिरामी बापत १४ करोड २३ लाख, बयोधाले ६ सय ९७ बिरामीबाट १५ करोड ८० लाख र इराले ११ सय ३० बिरामीबाट ११ करोड ३२ लाख रुपैयाँ बिमाबाट लिएका छन् । अनुसन्धानका क्रममा कतिपय बिरामीको फर्जी विवरण समेत फेला परेको छ । उद्धार कम्पनीले यी अस्पतालमा बिरामी भर्ना गरेको विवरण कार्यदललाई पठाए पनि अस्पतालमा ती नाम गरेका व्यक्ति भर्ना नै नभएको विवरण समेत प्रतिवेदनमा छ । अस्पतालले लेक लागेको बिरामीको उपचारका क्रममा ६० लाखसम्म रकम लिएको भेटिएको छ ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले गत साउन १४ गते पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको थियो । बिमा कम्पनीलाई ठग्न नेपाल घुम्न आउने पर्यटकलाई खानामा विभिन्न पदार्थ मिसाएर बिरामी बनाउने र उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार हुने गरेको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७