सेनालाई दक्ष, व्यावसायिक र समयानुकूल बनाउन सरकार तयार छ : रक्षामन्त्री


३० श्रावण २०७५, बुधबार
DSC06816

काठमाडौं, ३० साउन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाली सेनालाई दक्ष र समयानुकूल, व्यावसायिक र राज्यले दिएका जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्न सक्ने बनाउन सरकारबाट सबैखाले सहयोग हुने बताएका छन् ।

DSC06816
रक्षा मन्त्रालयमा आयोजित मन्त्रालय तथा नेपाली सेना र सो अन्तर्गत निकायहरूबाट आर्थिक वर्ष २०७४–७५ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल

मन्त्री पोखरेलले नेपाली सेनाको कार्यशुकलताका लागि सरकारकातर्फबाट साधन स्रोत, उपकरण र बजेटको व्यवस्था गरिने बताएका छन् । आज (बुधबार) रक्षा मन्त्रालयमा आयोजित मन्त्रालय तथा नेपाली सेना र सो अन्तर्गत निकायहरूबाट आर्थिक वर्ष २०७४–७५ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेले विकासका काममा मन्त्रालय र अन्तर निकायबीच समन्वय हुनुपर्ने बताए । उनले विकास निर्माणका कामलाई समयमै पूरा गर्न सबै विभागीय प्रमुखहरूलाई निर्देशन समेत दिएका छन् । मन्त्री पोखरेलले काठमाण्डौ–(तराई–मधेस द्रुतमार्गलगायतका राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समयमै सम्पन्न गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन नेपाली सेनालगायत सबै निकायले आ–आफ्नो क्षेत्रबाट योगदान र सहयोग गर्नुपर्ने औंल्याएका थिए ।

वैठकमा नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना राज्यले दिएको जिम्मेवारी कुशलता साथ निर्वाह गर्न सदैव प्रतिबद्ध रहेको बताए । उनले तराई क्षेत्रमा नेपाली सेनाका विभिन्न ब्यारेकबाट उपलब्ध गराउँदै आएको सर्पदंश उपचार सेवा अन्य ठाउँबाट पनि माग भइरहेको बताउँदै तराईका स्थानमा थप सेवा विस्तार गर्न सरकारले बजेटको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

DSC06812
वैठकमा सहभागी मन्त्रालय तथा विभिन्न विभागका पदाधिकारीहरु

बैठकमा राष्ट्रिय योजना आयोगको सचिवालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत नेपाली सेनाका विभिन्न निर्देशनालयका प्रमुखहरूले आ–आफ्नो विचार राखेका थिए । बैठकमा नेपाली सेनाका विभिन्न विभाग तथा निर्देशनालयका प्रमुखहरुको सहभागिता थियो ।

बैठकमा रक्षा मन्त्रालयका नीति, योजना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख सहसचिव बाबुराम गौतमले मन्त्रालय र अन्तर्गत निकायहरूबाट आर्थिक वर्ष २०७४–७५ मा सञ्चालित विभिन्न कार्यक्रमहरूको भौतिक तथा वित्तीय प्रगतिका साथै आयोजना कार्यान्वयनका चुनौतीहरूबारे जानकारी गराएका थिए ।

उनले विकास निर्माण कार्यका लागि आवश्यक विष्फोटक कच्चा पदार्थको आयातलाई सहज बनाई नेपाली सेनाबाट आवश्यक परिमाणमा विष्फोटक पदार्थ तयार गर्न लगाई विकास निर्माण कार्यमा यसको अभाव नहुने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौ–तराई–मधेस द्रुतमार्गको हालसम्मको प्रगतिलगायत सेनाबाट निर्माण भइरहेका भौतिक पूर्वाधार र सडक करिडोरमा देखिएका चुनौतीहरूबारे मन्त्री पोखरेललाई जानकारी गराएका थिए । वैठकमा रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा सञ्चालित आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति सन्तोषजनक रहेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७