काठमाडौंमा जग्गाको भाऊ १० गुणा बढ्यो, कुन ठाउँको जग्गाको भाऊ कति पुग्यो (सूचीसहित)


३१ श्रावण २०७५, बिहीबार
Kathmandu valley 1 1

काठमाडौं, ३१ साउन । काठमाडौंमा जग्गा किन्नका लागि पैसाको जोहो गर्दै हुनुहुन्छ ? यदि हो भने तपाईले अनुमान गरेको रकममा काठमाडौंमा जग्गा नआउने भएको छ । किनकी काठमाडौं महानगरपालिकाले गरेको जग्गाको नयाँ मूल्याङ्कनले जग्गाको भाऊ १० गुणा आकाशिएको छ ।

Kathmandu valley 1 1

कर प्रयोजनका लागि महानगरले जग्गा जमिनको नयाँ मूल्याङ्कन गरेपछि काठमाडौंको जग्गा छोइनसक्नु भएको छ । रोपनीमा गरिंदै आएको मूल्याङ्कन अहिले आनामा झारिएको छ । पहिले रोपनीको मूल्य र अहिलेको आनाको मूल्य झण्डै बराबरीमा पुगेको छ ।

काठमाडौंको जग्गा न्यूनतम चार लाखदेखि ५० लाखसम्म प्रतिआना मूल्य निर्धारण गरिएको छ ।
महानगरले मुख्य हनुमानढोका, न्यूरोड, केशरमहल, भोटाहिटी, असन र जमलमा प्रतिआनाको मूल्य अधिकतम ५० लाख तोकिएको छ । सो क्षेत्रमा यसअघि जग्गाको सरकारी मूल्य ८५ लाख रुपैयाँ रोपनी निर्धारण गरिएको थियो । काठमाडौं महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०७५ मा नै सम्पूर्ण महानगरको जग्गाको नयाँ मूल्याङ्कनको अवस्था उल्लेख छ ।

हनुमानढोका पूर्व नयाँसडक, पूरानो महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्यूरोड पीपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पूरानो महानगरपालिका भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको मूल सडकसँग जोडिएका दायाँ–बायाँका जग्गाको जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यस्तै केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूल बाटोमा जोडिएका जग्गा, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँंदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र त्यसदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूल बाटासँग जोडिएका, महेन्द्र शालिकदेखि काठमाडौं प्लाजासम्म मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाको प्रतिआना ५० लाख कायम गरिएको छ ।

यस्तै माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ५० लाख नै तोकिएको छ । ५० लाख आना तोकिएको अन्य स्थान जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वरसम्मको मूल सडक, रत्नपार्क, पुरानो बसपार्क, शहीदगेट हुँंदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिम गेट हुँदै भद्रकालीसम्मका मूल बाटोसँग जोडिएका दायाँ–बायाँको जग्गा हो । यसअघि दरबारमार्ग, नारायणहिटी पथ, जमल सडक, तीनधारा सडक, कान्तिपथ, रामशाह पथ, हात्तीसार सडकलगायत क्षेत्रमा ८५ लाख रुपैयाँ रोपनी जग्गा मूल्याङ्कन थियो ।

पुतलीसडक, वागबजार, रत्नपार्कलगायत क्षेत्रमा ४० लाख प्रतिआना मूल्याङ्कन भएको छ । पुतलीसडक कुमारी बैंक चोकदेखि पूरानो बसपार्कसम्मको (शुक्रपथ) मूलबाटो, पद्मोदय मोडदेखि सभागृहचोक, पुतलीसडक, वागबजार, रत्नपार्कसम्मको मूल सडकसँग जोडिएका दायाँ–बायाँका जग्गाको मूल्य ४० लाख तोकिएको छ । सडक पुगेको जग्गाको मूल्याङ्कन बढी छ भने सडक नपुगेको, कच्ची बाटो भएको जग्गाको कम छ । पछिल्लो समय महानगरले तोकेको सरकारी मूल्याङ्कन चलनचल्तीको मूल्यभन्दा कम नै हो ।

महानगरपालिकाले तोकेको जग्गाको मूल्यका आधारमा सर्वसाधारणले सम्पत्ति कर तिर्नुपर्नेछ । एक करोड रुपैयाँको एक हजार, दुई करोडको दुई हजार पाँ सय, तीन करोडको चार हजार पाँच सय, चार करोडको आठ हजार पाँच सय, पाँच करोडको १४ हजार पाँच सय, ६ करोडको २४ हजार पाँच सय, आठ करोडको ८५ हजार पाँच सय र १० करोडको एक लाख ७४ हजार पाँच सय सम्पत्ति कर तोकिएको छ । १० करोड रुपैयाँभन्दा बढी शून्य दशमलव ६ प्रतिशत सम्पति कर लिने व्यवस्था गरिएको छ । सरकारी मूल्यका आधारमा सम्पत्ति कर लिने व्यवस्था गरिएको महानगरका सहप्रवक्ता नमराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७