घोषणापत्र विना नै मत माग्दै मधेसवादी गठबन्धन उम्मेदवार


प्रकाशित मिति : November 9, 2017

काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धनका उम्मेदवार घोषणापत्र विना नै मतदातासंग मत माग्दैछन् ।


राजपा नेपाल र फोरम नेपालका उम्मेदवारहरु अहिले सर्वसधारणसँग मत माग्नमा व्यस्त छन् । तर उनीहरू निर्वाचनमा विजयी भए पछि के गर्ने भन्ने सर्वसाधरणलाई स्पष्ट रूपमा भन्न सकेका छैनन् ।
काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, साझा पार्टी लगायतकाले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर मधेसवादी गठबन्धनको निर्माण गरी निर्वाचनमा होमिएको राजपा नेपाल र फोरम नेपालले कहिले घोषणापत्र सार्वजनिक गर्ने भन्ने अन्योल रहेको छ ।
पार्टीको आधिकारिक घोषणापत्र कसले कस्तो तयार गर्दै छ भन्ने कुरा पार्टीकै नेताहरूलाई समेत थाहा छैन् । घोषणा मस्यौदा समितिमा को छन्, पार्टीको घोषणापत्र आउँछ की आउँदैन अहिले नेताहरू नै अन्योलमा परेका छन् ।
राजपा नेपालका महासचिव केशव झाले घोषणापत्र आउँछ की आउँदैन भन्ने कुरा थाहा नभएको बताए । अहिले उम्मेदवारहरु निर्वाचन प्रचारप्रसारमा व्यस्त रहेकाले घोषणापत्र कहिले आउँने त्यो एकिन नभएको उनले बताए ।
‘घोषणापत्रको मस्यौदा कसले तयार गर्दैछ मलाई थाहा छैन, कहिले आउँने की नआउँने त्यो पनि थाहा छैन’ झाले भने, ‘समिति नै बनेको छैन, अहिले सबै उम्मेदवार चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।’
दुई पार्टी मिलेर बनेको मधेसवादी गठबन्धनको साझा घोषणापत्र आउँने की छुटाछुटै त्यो भन्न नसक्ने अवस्था रहेको उनले बताए । मुख्य नेताहरू चुनावी प्रचार प्रसारको क्रममा घरदैलो, चुनावी सभालाई सम्बोधन गर्ने, सर्वसधारणसंग भेटघाटमा व्यस्त रहेकाले घोषणापत्रमा ढिलाइ भएको झाको भनाई रहेको छ ।
फोरम नेपालका नेता शिवजी यादवले संविधान संशोधन र विकासकै मुद्दा नै मधेसवादी गठबन्धनको घोषणापत्र रहेको बताए । स्थानीय निर्वाचनको समयमै घोषणापत्र सार्वजनिक गरेको बताउँदै उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि घोषणापत्र आउने बताए ।
पार्टीले घोषणापत्रको विषयमा छलफल गरिरहेको बताउँदै यादवले दुई तीन दिनमा सार्वजनिक गर्ने बताए । राजपा नेपाल र फोरम नेपालको साझा घोषणापत्र आउने तयारी भईरहको उनले बताए । तर घोषणापत्र मस्यौदा समितिमा को छ, कस्तो बन्दैछ भन्ने कुरा आफूलाई थाहा नभएको उनले बताए ।
‘घोषणपत्र आउँछ, दुई तीन दिनमा सार्वजनिक हुन्छ, हाम्रो मुख्य मुद्दा नै संविधान संशोधन र विकास हो’ यादवले भने, ‘पार्टीमा छलफल भइरहेको छ, स्थानीय निर्वाचन ताका नै हामीले घोषणापत्र सार्वजनिक गरिसकेका छौ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि घोषणापत्र आउँछ ।’
पार्टीमा घोषणापत्रको विषयमा छलफल भइरहेको यादवले बताए पनि मधेसवादी गठबन्धनको बैठक केही दिन यता बसेको छैन । घोषणापत्र मस्यौदाको विषयमा नेताहरुका बिचमा छलफल नभएको नेताहरूले नै स्वीकार गरेका छन् ।
महत्वकाँक्षी योजना सहितको घोषणापत्र सार्वजनिक गर्दै अन्य राजनीतिक दलहरूले चुनावी प्रचारप्रसारमा जुटे पनि मधेसवादी गठबन्धनका साझा उम्मेदवार संविधान संशोधन र विकासका मुद्दा लिएर सर्वसधारणमा बिचमा पुगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्