ढल्केबर सवस्टेसन सञ्चालन, कुलमान भन्छन्, ‘विद्युत व्यापारमा यो कोशेढुङ्गा हो’


१ भाद्र २०७५, शुक्रबार
substation

काठमाडौं, १ भदौं । मुलुकभित्रको प्रशारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ ।

substation

नेपालकै हालसम्मको ठूलो स्वचालित २२०-१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । औपचारिक रूपमा बिहीबार रातिदेखि सो सवस्टेशन सञ्चालनमा आएको हो । सवस्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रशारण लाइनबाट विद्युत् आयात शुरु भएको छ । ढल्केबर सवस्टेसन निर्माण नभएकाले यसअघि १३२ केभीमार्फत् विद्युत् आयात भइरहेको थियो ।

‘ढल्केबर सवस्टेसन सञ्चालनमा आउनु र आन्तरिक प्रशारण प्रणाली सुदृढीकरण हुनु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुङ्गा हो’, उनले भने, ‘“ढल्केबरमै ४००-२२० केभीको अर्को सवस्टेसन निर्माण गरिरहेका छौं, यसको काम पनि डेढ वर्षभित्रै सकिने छ ।’ विद्युत आदान–प्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभीको अन्तरदेशीय प्रशारण लाइन यसअघि नै निर्माण भइसकेको थियो ।

सवस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत् आयात÷निर्यातका लागि ठूलो पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले जानकारी दिए । स्वचालित भएकाले काठमाडौंको स्युचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सवस्टेसनको सञ्चालन र अनुगमन गर्न सकिने छ । सवस्टेसनमा १६०-१६० एमभीए, २२०-१३२ केभीका दुई ट्रान्सफर्मर छन् । सवस्टेसन सञ्चालनमा आएपछि हिउँदमा बढी विद्युत् माग हुने समयमा भारतबाट थप विद्युत् आयातका लागि पूर्वाधार बनेकोे छ ।

यस्तै कुल ४५६ मेगावाटको माथिल्लो तामाकोशी निर्माण भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी निर्यात गर्नाका साथै उक्त लाइनमार्फत् इनर्जी बैंकिङ गर्न समेत बाटो खुलेको प्रवक्ता अधिकारीले जानकारी दिए । हाल सो प्रशारण लाइनबाट करीब १०० मेगावाट विद्युत् आयात भइरहेको छ । प्राधिकरणले गत हिउँदमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रशारण लाइनमार्फत् बढी विद्युत् माग हुने समयमा दैनिक रूपमा १२० मेगावाटसम्म विद्युत् आयात गरेको थियो । अब थप करीब १५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जनाएको छ । मुलुकभित्रको प्रशारण प्रणाली सुदृढीकरणका लागि हेटाँैडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइनको निर्माण भइरहेको छ ।

यसअघि ढल्केबरमा सवस्टेसन बनाउन समय लागेपछि भारतको मुजफ्फपुर बिन्दुमा दुई ट्रान्सफर्मरमा भाडाका राखी विद्युत् आयात गरिएको थियो । ढल्केबर सवस्टेसन चार्ज भएसँगै भारतको पावर ग्रिडसँग भाडामा लिएर राखिएका ट्रान्सफर्मर अब राख्नु नपर्ने प्रवक्ता अधिकारीले बताए । विश्व बैंकको नेपाल–भारत विद्युत् प्रशारण तथा व्यापार आयोजनाअन्तर्गत सवस्टेसन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा प्रशारण लाइन तथा सवस्टेसन निर्माण गरिएको हो ।

प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) सँग १२ जुन २०१४ मा हेटौँडा, ढल्केबर र इनरुवामा सवस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो तर सन्तोषजक काम नगरेपछि प्राधिकरणले सिसिपिजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोडेको थियो । त्यसपछि ढल्केबर सवस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनवरी २०१८ मा ठेक्का सम्झौता गरिएको थियो । भारतीय ठेकेदार कम्पनी टेलमोसले छ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७