अर्थमन्त्री डा. खतिवडा भन्छन्, ‘पाँच वर्षभित्र नेपालमा गरिबी हट्छ’


१ भाद्र २०७५, शुक्रबार
dr. youraj khatiwada

काठमाडौं, १ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य गर्ने घोषणा गरेका छन् ।

dr. youraj khatiwada
अर्थमन्त्री डा. युवराज खतिवडा

अर्थमन्त्री डा.खतिवडाले शुक्रबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि जानकारी गराएका छन् ।

अर्थमन्त्री खतिवडाले दिगो विकासका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकारले अन्तराष्ट्रिय लगानी भित्रयाउन लागि परेको पनि स्मरण गराए । उनले दिगो विकास लक्ष्य हासिलका लागि सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जाने नीति लिएको पनि समितिलाई जानकारी गराए । अर्थमन्त्री खतिवडाले दिगो विकास लक्ष्य हासिल हुने गरी पूर्वाधार विकास गर्न निजी क्षेत्र र सहकारीसँगको सहकार्यलाई पनि सरकारले जोड दिएको उल्लेख गरे ।

उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दाबी गरे । त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाई छ । उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य अनुसार सरकारले साक्षरता, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाईरहेको बताए । सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । सोभन्दा अघि नै दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले कामलाई तीव्रता दिएको अर्थमन्त्री खतिवडाको दाबी छ ।

बैठकमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी तथ्यांक संकलनको काम सुरु गरिएको जानकारी दिए । उनले अनुगमन र मूल्यांकनको माध्यमबाट स्रोत र साधनको दुरुपयोग हुन नदिई दिगो विकास गर्न आवश्यक दिर्घकालीन योजना बनाउने काम पनि भईरहेको बताए । उपाध्यक्ष कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी योजना बनाउने कामलाई आयोगले अन्तिम चरणको पु¥याएको समेत जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७