दलहरूको आकलन : कांग्रेसले १०० सिट र एमालेले ८७ सिट जित्ने दाबी, माओवादी गृहकार्यमा


२३ कार्तिक २०७४, बिहीबार
UMl congress moist
 काठमाडौं : प्रमुख दलहरूले आन्तरिक रूपमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले जित्ने सिट संख्याबारे आकलन गर्न थालेका छन् । दुई चरणमा गरी प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमा निर्वाचन हुँदै छ । प्रमुख दल र क्षेत्रीयस्तरका दलले जित्न सकिने निर्वाचन क्षेत्रको पहिचान गरेका छन् ।UMl congress moist

संविधानसभाको ठूलो दल कांग्रेसले एक सयभन्दा बढी सिट जितेर फेरि पनि ठूलो दल बन्ने दाबी गरेको छ । उता, माओवादीसँग गठबन्धन गरेको एमालेले प्रत्यक्षतर्फ एक्लै स्पष्ट बहुमत ल्याउने दाबी गरेको छ । प्रतिनिधिसभाका १६५ मध्ये ९६ सिटमा मात्रै उम्मेदवारी दिएको एमालेले करिब ९० सिट जित्ने दाबी गरेको छ । माओवादी, फोरम र राजपालगायतले आन्तरिक सर्वेक्षण गर्दै छन् ।

१०० सिट कटाउने कांग्रेस दाबी
कांग्रेसको आन्तरिक सर्वेक्षणले सयभन्दा बढी सिटमा जित हुने देखाएको छ । ६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिने सर्वेक्षणले देखाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘प्रत्यक्षतर्फ कम्तीमा सय स्थानमा जित्ने देखिएको छ,’ तथ्यांक संकलन समितिका संयोजकसमेत रहेका मुख्यसचिव पौडेलले भने, ‘६० स्थानमा जित पक्का रहेको र बाँकी ५० स्थानमा प्रयास गरे जित्न सक्ने देखिएको छ ।’ १६५ क्षेत्रमध्ये कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चार–चार तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग एक–एक स्थानमा तालमेल गरेको छ ।

 ८७ सिट जित्ने एमाले दाबी
एमालेले उम्मेदवारी दिएका मध्ये ९० प्रतिशत स्थानमा जित्ने बताएको छ । ९६ स्थानमा उम्मेदवारी दिएको एमालेको दाबी सही भएमा उसले ८७ सिट जित्नेछ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका स्थानको ९० प्रतिशत जित्ने गरी रणनीति बनाएर पार्टी अघि बढिरहेको बताए । ‘प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९० प्रतिशत स्थानमा हाम्रो पक्षमा नतिजा आउँछ,’ श्रेष्ठले भने, ‘हामी त्यसभन्दा बढी कसरी जितिन्छ भन्ने रणनीति बनाउन व्यस्त छौँ ।’ वाम गठबन्धनका माओवादीले ६२ स्थान उम्मेदवारी दिएको छ भने सात स्थान साना दल र स्वतन्त्रले लिएका छन् ।

आन्तरिक रिपोर्ट पर्खंदै माओवादी
माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कति स्थानमा जित्छ भन्ने आकलन गरिनसकेको जनाएको छ । प्रवक्ता पम्फा भुसालले टिकट लिएर उम्मेदवारी दर्ता गरेका नेताहरू नफर्किएकाले वस्तुस्थिति पार्टीले बुझ्न नपाएको बताइन् । ‘अहिलेसम्म कति स्थानमा जितिन्छ भन्ने आकलन गरिसकेका छैनौँ,’ भुसालले भनिन्, ‘टिकट लिएर उम्मेदवारी दर्ता गर्न गएका साथीहरू फर्कनुभएको छैन । उहाँहरू एकपटक फर्केपछि वस्तुस्थिति बुझेर आकलन गर्छौँ ।’ एमालेसँग संयुक्त घोषणापत्र नै जारी गरेर चुनावी अभियानमा लागेको माओवादीले प्रतिनिधिसभामा ६२ स्थानमा उम्मेदवारी दिएको छ ।

 स्थानीय चुनावभन्दा सुधार : राप्रपा
स्थानीय निर्वाचनको असफलता र पार्टी विभाजनको पीडालाई सुुधार्ने रणनीति राप्रपाको छ । सहप्रवक्ता मोहन श्रेष्ठले अहिले पार्टीको अवस्था सुधारेर चमत्कार देखाउने गरी आफूहरू लागिरहेको बताए । ‘हामी पार्टी विभाजन र स्थानीय तह निर्वाचनमा व्यहोरेको पराजयलाई बिर्साउने नतिजा ल्याउने गरी अघि बढिरहेका छाैँ,’ श्रेष्ठले भने, ‘स्थानीय निर्वाचनमा भन्दा चामत्कारिक नतिजा ल्याउँछौँ भन्नेमा हामी आशावादी छौँ, तयारी पनि त्यहीअनुसारको गरिरहेका छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७