एशियाड : आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै


३ भाद्र २०७५, आईतवार
nepal team s3jfVsohs8

काठमाडौं, ३ भदौं । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८ औँ संस्करणको एशियाली खेलकुद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिष्पर्धा गर्दैछ ।

nepal team s3jfVsohs8

इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फुटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिष्पर्धा गर्न लागेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिएका छन् ।

फुटबलमा नेपाल शुरुआती दुई खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग निश्चित छ । समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानसँग वेस्ट जाभास्थित शहीद चन्द्रभागा रङ्गशालामा प्रतिष्पर्धा गर्नेछ । नेपालले हालसम्म एशियाली खेलकूदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ । सत्र खेलमा ६८ गोल खाँदा केबल १ गोल गर्न सकेको छ ।

त्यस्तै तेक्वान्दोमा कमल श्रेष्ठ र पार्वती गुरुङले चाइनिज ताइपेहका खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन् । यस्तै महिला टिम इभेन्ट्सतर्फ उज्वेकिस्तानसँग खेल्नेछ । फेन्सिङ सावर इभेन्टमा कमला श्रेष्ठ र रवीना थापाले प्रतिष्पर्धा गर्दैछन् । पुल एमा रहेकी कमलाले जापान, मंगोलिया, हङ्कङ, चीन, इण्डोनेशिया र भियतनामकी खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन् । रवीनाले दक्षिण कोरिया, कम्बोडिया र इरानकी खेलाडीसँग प्रतिष्पर्धा गर्ने छिन् ।

कुस्तीमा भागवत साह, सरोज यागद र सुरेश सुनारले प्रतिष्पर्धा गर्दैछन् । उसुको ५२ केजी तौल समूहअन्तर्गत जुनी राईले भियतनामका खेलाडीसँग र ६० केजी तौल समूहमा मङ्गलप्रसाद थारुले इण्डोनेशियाका खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन् । नेपालले आजै ब्याडमिन्टनको महिला तथा पुरुष टिम इभेन्ट्समा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्दैछ । ब्याडमिन्टनको टिम इभेन्ट्समा पुरुषतर्फ नेपालका विकास श्रेष्ठ, रत्नजीत तामाङ, नवीन श्रेष्ठ र दीपेश धामीले प्रतिष्पर्धा गर्दछन् ।

महिला टिम इभेन्ट्समा पनि नेपालले आजै पहिलो खेल माल्दिभ्ससँग खेल्दैछ । मल्भ्दिसविरुद्ध खेल्ने नेपाली खेलाडीमा नङ्सलदेवी तामाङ, अमिता गिरी, जेशिका गुरुङ र रसिला महर्जन छन् । नेपालले कबड्डीमा आयोजक इण्डोनेशियासँग प्रतिष्पर्धा गर्दैछ । यही भदौ १७ गतेसम्म हुने एशियन गेम्समा ४५ देशका ११ हजार पाँच खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाएका छन् । प्रतियोगितामा ४० खेल सहभागी छ । चालीसमध्ये नेपालले २९ खेलमा प्रतिष्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७