गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा


३ भाद्र २०७५, आईतवार
Palika Adhyechhe 1

म्याग्दी, ३ भदौं । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका छन् ।

Palika Adhyechhe
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गरेका हुन् । गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने गरी कोष स्थापना गर्ने निर्णय गराएका भण्डारीले १३ महिनाको सुविधा बापत पाएको रकम कोषमा जम्मा गरिसकेको जानकारी दिए ।

‘म पदमा रहँदासम्म सरकारले उपलब्ध गराउने रकम यही कोषमा जम्मा गरेर पालिकाको आठ वटै वडाका गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने निर्णय गरेको छु’, अध्यक्ष भण्डारीले भने, ‘विकट र दुर्गम क्षेत्रका विपन्न बालबालिकाको शिक्षामा पहुँच वृद्धिका लागि सहयोग पुग्ने अपेक्षा गरेको छु ।’

गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक ३० हजार तलब तोकेको छ । पहिलो वर्षको करीब चार लाख कोषमा जम्मा गरिसकेको भण्डारी बताए । पाँच वर्षको अवधिमा करीब २५ लाख कोषमा जम्मा हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७