एक वर्षमै सरकारी खर्चमा कर्मचारीको ४ हजार ९१६ विदेश भ्रमण


३ भाद्र २०७५, आईतवार
Karmachari

काठमाडौं, ३ भदौं । कर्मचारीको अनावश्यक विदेश भ्रमणका विषयमा बेलाबखत निकै ठूलो वहस चल्ने गरेको छ । उनीहरुको विदेश भ्रमण उपलब्धीपूर्ण भन्दा पनि पारिवारिक रमाइलो बनिरहेको भन्दै आलोचना हुने गरेको छ ।

Karmachari

यहि कुरालाई पस्ट्याउँदै कर्मचारीहरुले एक वर्षकै अवधिमा आश्चर्यलाग्दो विदेश भ्रमण गरेका छन् । एक वर्षको अवधिमा कर्मचारीका फरक–फरक समूहले विभिन्न देशमा ४ हजार ९१६ पटक भ्रमण गरेको प्रधानमन्त्री कार्यालयले जानकारी जनाएको छ । घुमन्ते कर्मचारीको रोजाइमा युरोप, अमेरिका र अस्ट्रेलिया बढी परेका छन् । यसरी भ्रमण गर्ने कर्मचारीले आफू मात्र नभई परिवारका सदस्यहरुलाई समेत पहुँचका आधारमा विदेश पुर्‍याएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार कर्मचारीका सार्क बाहेक एसियाली राष्ट्रमा १ हजार ५८७ पटक भ्रमण गरेका छन् । कर्मचारीले युरोपका विभिन्न देशमा ५५४ पटक भ्रमण गरेका छन् । यस्तै उत्तर अमेरिकी राष्ट्रमा २५५ र अस्ट्रेलियामा १६१ पटक भ्रमण गरेका छन् । कार्यालयका अनुसार कर्मचारीले भारतको ९०२ पटक भ्रमण गरेका छन् । चीनमा ८५५ पटक भ्रमण गरेका छन् ।

यस्तै भारत बाहेकका सार्क राष्ट्रमा ५१४ पटक भ्रमण गरेका छन् । कर्मचारीले अफ्रिकी मुलुकमा ५३ र दक्षिण अमेरिकी राष्ट्रमा ३५ पटक घुमेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
गएको आव २०७४÷७५ मा २२ मन्त्रालय, केन्द्रीय निकाय, आयोग र नियोगका गरी ५ हजार ११ कर्मचारीले विदेश भ्रमण गरेका थिए । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय र निकायसँग भ्रमणको सम्पूर्ण विवरण मागेर अध्ययन गरिरहेको छ । एक वर्षमा कर्मचारीले ४५ हजार ६५७ दिन बिदेशमा बिताएको जनाइएको छ ।

कार्यालयले कर्मचारी गएका देश, भ्रमण संख्या र खर्चको विवरण निकालिरहेको छ । विदेश गएका कर्मचारीको भ्रमण मुलुकका लागि उपलब्धिमूलक भए नभएको विषयमा समेत अध्ययन भइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताएका छन् । उनीहरुको भ्रमणलाई हेर्दा सरकारी कर्मचारीहरु आफ्नो गोजीको खर्च गर्नु नपर्दा सरकारको ढुकुटीमा कतिसम्म मोज गर्न अघि सर्दा रहेछन् भन्ने कुरालाई समेत पुष्टि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७