मतदान झण्झटिलो,मुस्ताङको मतपत्रमा रुख र सुर्य मात्रै !


प्रकाशित मिति : November 9, 2017

काठमाडौं: आगामी प्रतिनिधिसभा निर्वाचनमा मनाङ्गका मतदातालाई जम्मा दुईवटा विकल्प छन, ‘रुखमा मतदान गर्ने कि सूर्यमा । निर्वाचन आयोगले ‘रुख र सुर्यु मात्र चुनाव चिन्ह राखेर मनाङ्गको प्रतिनिधिसभाको मतपत्र तयार पारेपछि मनाङ्गवासीका लागि यी दुई चुनाव चिन्हमध्ये एक रोज्नुको विकल्प छैन । यो समचार अन्नपुर्ण पोष्टमा नरेन्द्र साउदले लेखेको छ ।

निर्वाचन आयोगले जुन जुन दलको उम्मेदवारी परेको छ,त्यस क्षेत्रको मतपत्रमा ती ती दलको मात्र चुनाव चिन्ह समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ । आयोगको उक्त कार्यले प्रतिनिधिसभा तर्फको मतपत्र निकै नै छोटो र छरितो बनेको छ । ‘यसपटकको निर्वाचनमा मतदातालाई मतदान गर्न निकै नै सहज हुने मतपत्र बनाएका छौं, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अन्नपूर्णसँग भने,‘जुन क्षेत्रमा जसको उम्मेदवारी परेको छ, त्यस्ता उम्मेदवारको मात्र चुनाव चिन्ह राखेर मतपत्र बनाएका छौं ।

मनाङ्ग र मुस्ताङ्गको प्रतिनिधिसभाका लागि कांग्रेस र एमालेका तर्फबाट मात्र उम्मेदवारी परेपछि ती क्षेत्रका मतपत्रमा कांग्रेस र एमालेका मात्र चुनाव चिन्ह राखिएको निर्वाचन आयोगले जनाएको छ । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका कारण सुर्य चिन्ह भएको स्थानको मतपत्रमा माओवादी केन्द्रको चुनाव चिन्ह गोलकारभित्र हंसिया हथौडा छैन भने हंसिया हथौडा भएको मतपत्रमा सूर्य चुनाव चिन्ह छैन ।

अघिल्ला निर्वाचनमा पट्यारलाग्दो लामो मतपत्रमा छाप लगाएका मतदाताका लागि अवको निर्वाचन मतपत्रका दृष्टिकोणले निकै नै सहज हुने निर्वाचन आयोगको भनाई छ । स्थानीय तहको निर्वाचनमा पनि धेरै नै चुनाव चिन्ह समेटिएको लामो र पट्यारलाग्दो मतपत्रको सर्वस्त्र आलोचना भएको थियो । छोटो र छरितो मतपत्रका कारण आगामी निर्वाचनको मतगणना पनि छिटो हुने तथा मतपत्र बदर कम हुने प्रमुख आयुक्त यादवले बताए । ‘अघिल्ला चुनावको परिणाम आउनै धेरै दिन लाग्यो भने बदर मतको संख्या पनि उच्च देखियो यादवले भने,‘अबको चुनावमा त्यस्तो हुंदैन भन्ने आयोगको विश्वास छ ।

आयोगले सार्वजनिक गरेको पहिलो चरणको निर्वाचनको नमूना मतपत्रमा बाजुरा र मुगुको मतपत्र पनि निकै नै छोटो छ । यी दुई जिल्लाको प्रतिनिधिसभातर्फको मतपत्रमा जम्माजम्मी तीन वटा मात्र चुनाव चिन्ह छन, ‘रुख,सूर्य र आँखा । आंखा नयाँ शक्तिको चुनाव चिन्ह हो । प्रनिनिधिसभा तर्फ सबैभन्दा ठूलो मतपत्र दोलखाको छ । दोलखाको मतपत्रमा १५ वटा चुनाव चिन्ह छन ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ को मतपत्र मध्यम खालको छ । त्यस क्षेत्रको मतपत्रमा प्रतिनिधिसभा तर्फ ९ वटा चुनाव चिन्ह छन । संखुवासभामा ११, खोटाङ्ग,मा १०, रसुवामा ११, धादिङ्ग २ मा ११, सिन्धुपाल्चोक १ मा १३,रामेछापमा १२, लम्जुङ्गमा ११ चुनाव चिन्हको मतपत्र बनेको छ ।
खोटाङ्ग र सिन्धुपाल्चोक क्षेत्र नम्वर २ को मतपत्रमा पशुपतिशम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी०का मतदाता झुक्किने स्थिती छ । ती क्षेत्रको मतपत्रमा ठिक तलमाथि गोलाकारभित्र हलो र आयातकारभित्र हलो चुनाव चिन्ह छन । राणा नेतृत्वको राप्रपाको चुनाव चिन्ह गोलकारभित्र हलो र लोहनी नेतृत्वको राप्रपाको चुनाव चिन्ह आयातकारभित्र हलो भएकाले मतदातालाई आफ्नो चिन्ह छुट्याउन गाहे हुने देखिन्छ ।

प्रदेशसभाको प्रत्यक्षतर्फ पनि मनाङ्गका दुवै क्षेत्रको मतपत्र सबैभन्दा सानो छ । मनाङ्गको प्रदेशसभा १ र २ को मतपत्रमा दुई-दुई वटा मात्र चुनाव चिन्ह छन । मनाङ्गको प्रदेशसभा २ को मतपत्रमा रुख र स्वतन्त्र उम्मेदवारको बालक चुनाव चिन्ह छन । मुस्ताङ्गको प्रदेशसभा १ मा दुई वटा मात्र चुनाव चिन्ह छन भने प्रदेशसभा २ को मतपत्रमा भने ४ वटा चुनाव चिन्ह छन ।
प्रदेशसभातर्फ बाजुराको दुवै प्रदेशसभामा ४-४ वटा चुनाव चिन्ह छन । प्रतिनिधिसभातर्फ ७ वटा चुनाव चिन्हको मतपत्र बनेको म्याग्दी को प्रदेश १ को मतपत्र पनि निकै नै छोटो छ । उक्त क्षेत्रको मतपत्रमा माओवादी केन्द्रको गोलाकारभित्र हंसिया हथौडा र राप्रपाको गाई मात्र चुनाव चिन्ह छन । डोल्पाको प्रदेश १ र रुकुम पूर्वी जिल्लाको प्रदेश २, बैतडीको प्रदेश २ को मतपत्रमा पनि दुईवटा मात्र चुनाव चिन्ह छन । प्रदेशसभातर्फ धादिङ्गको प्रदेशसभा १ को मतपत्र सबैभन्दा ठूलो १७ चुनाव चिन्ह समेटिएका छन ।

प्रत्यक्षतर्फ सानो र छरितो मतपत्र भएपनि प्रतिनिधिसभा र प्रदेशसभाको समानूपातिकतर्फको मतपत्र भने ठूलो र पट्यारलाग्दो छ । समानूपातिकतर्फ प्रतिनिधिसभकाको माथिल्लो भाग र प्रदेशसभाको मतपत्र तल्लो भागमा छापिएकाले मतदाता झुक्किने अवस्था छ । प्रतिनिधिसभाको समानूपातिकमा आयोगमा दर्ता सबै ८८ दलको चुनाव चिन्ह राखिएको भएपनि प्रदेशसभाको समानूपातिकको मतपत्रमा भने सातवटै प्रदेशको फरक फरक छ ।
मतदान झण्झटिलो
प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो भएपनि तीन वटा मतपत्रमा चारवटा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रिया भने झण्झटिलो बन्ने देखिन्छ । मतदाताले पहिलो मतपत्र प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारलाई दिनुपर्छ । त्यो मतपत्र बाकसकमा खसाई सकेपछि अर्को मतपत्र लिई प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारलाई दिनुपर्छ । त्यसपछि अर्को मतपत्र लिई प्रतिनिधिसभा र प्रदेशसभाका समानूपातिक उम्मेदवारलाई मतदान गर्नुपर्छ ।
समानुपातिकको मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका समानूपातिक र तल्लो भागमा प्रदेशसभाका समानूपातिकका लागि मत संकेत गर्नुपर्छ । संविधानसभाका दुवै निर्वाचनमा दुई वटा मतपत्रको प्रयोग गरेका मतदाताले यसपटक भने तीनवटा मतपत्रको प्रयोग गर्नुपर्नेछ । ‘आयोगका तर्फबाट हामीले मतदाता शिक्षामा निकै नै जोड दिएका छौं, प्रमुख आयुक्त यादवले भने,‘दलहरुले पनि मतदातालाई भोटिङ्ग सिस्टमबारे यथेष्ठ जानकारी गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्