शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ : शिक्षामन्त्री पोखरेल


४ भाद्र २०७५, सोमबार
giriraj mani pokharel

काठमाडौं, ४ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् ।

giriraj mani pokharel

प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताए । ‘उच्च शिक्षा लिएर पनि कतिपय विद्यार्थी बेरोजगार भएका छन्’, उनले भने, ‘अब बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ, त्यसतर्फ ध्यान दिनु जरुरी छ ।’ उनले परम्परागतरुपमा विश्वविद्यालय चलेकाले अब नयाँ ढङ्गले शिक्षा दिनुपर्ने धारणा राखे ।

शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउनुपर्नेमा जोड दिए । शिक्षा व्यापार नभई सेवा भएकाले त्यहीअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । दुई वर्षभित्र साक्षर नेपाल बनाइने मन्त्री पोखरेलले घोषणा गरे । विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढङ्गले लागेर दुई वर्षभित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन उनले आग्रह गरे ।

यस वर्ष सञ्चालन गरेको विद्यालय भर्ना अभियान नमूना भएको र भदौभित्र विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँले आरआर क्याम्पसले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै त्रिविको शिक्षाको गुणस्तर सुधार्न आफू लागिपरेको बताए । क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवालले आर्थिक वर्ष २०७५-७६ को कार्ययोजना पेश गर्दै आरआरलाई नमूना बनाउने बताइन् ।

आरआर क्याम्पसबाट स्नातक तह र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो । स्नातक तहतर्फ सविना देवकोटा, स्नातकोत्तरतर्फ अर्थशास्त्रका विष्णुदत्त भट्ट, अङ्ग्रेजीतर्फ अञ्जु तामाङ, नेपालीतर्फ प्रेमकुमार श्रेष्ठ र समाजशास्त्र तथा मानवशास्त्रतर्फ मनिल महर्जनले उत्कृष्ट अङ्क ल्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७