पूराना केस पल्टाउँदै काठमाडौंका प्रहरी प्रमुख लामा, यी हुन् लामाका चार योजना


४ भाद्र २०७५, सोमबार
lama 1

काठमाडौं, ४ भदौ । काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले प्रहरी जनमुखी र प्रभावकारी बनाउँदै राजधानीबासीलाई अमन चयनको वातावरण सिर्जना गर्ने दावी गरेका छन् ।

lama 1
काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामा

भदौ १ गतेदेखि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवार सम्हालेका लामाले सोमबार पहिलो पत्रकार सम्मेलन गर्दै काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने जानकारी गराएका छन् ।

प्रहरीले नागरिक सुरक्षाका लागि काम गरेन भन्ने कतिपय गुनासा जायज भएको बताउँदै उनले भने, ‘अब म आएको छु, प्रहरीलाई लागेको आरोप लगत सावित गर्न म काम गरेर देखाउँछु ।’ उनले राजधानीको शान्ति सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । उनले अ आफूले गर्ने कामको चार वटा वुंदा यसरी व्याख्या गरेका छन् ।

१) गुण्डा तह लगाउने काइदा ब्यापारीसँग सहकार्य
भूमिगत शैलीमा काठमाडौंमा हुने गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विषेश कदम चाल्ने भन्दै एसएसपी लामाले ब्यापारीलाई सहयोग गर्न आग्रह समेत गरे । ‘गुण्डागर्दी अहिले पनि हुन्छ । तर, शैली फेरिएको छ, पैसावाल मान्छेलाई टार्गेट गर्ने र विभिन्न बाहानामा पैसा उठाउने काम अहिले पनि जारी छ, त्यसलाई नियन्त्रण गर्नेछु,’ लामाले भने, ‘यसका लागि प्रहरीलाई ब्यापारीले सहयोग गर्नुपर्छ ।’ आफूसँग लुकेर हुने गरेको गुण्डागर्दी नियन्त्रण गर्ने केही योजनाहरू रहेको भन्दै ती योजना लागू गरेर गुण्डागर्दी निमिट्यान्न पार्ने एसएसपी लामाले दावी गरे ।

२) आर्थिक चलखेल मास्छु
आर्थिक प्रलोभनमा परी काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई कार्बाही गर्ने एसएसपी लामाले चेतावनी दिएका छन् । ‘म कुनै पनि आर्थिक लोभमा पर्ने छैन र आचरण खराब भएका प्रहरी कर्मचारीलाई त्यसै छाड्ने पनि छैन,’ उनले भने, ‘प्रहरीले प्रदान गर्ने सेवामा कुनै मूल्य हुँदैन नागरिकले सेवा पाउनु पर्छ ।’

३) पूराना केस पल्टिन्छन्
प्रहरी कार्यालयमा दर्ता भएर पनि कार्यान्यवन नभएका पूराना मुद्दालाई पल्टाएर पीडितलाई न्याए दिने एसएसपी लामाले प्रतिवद्धता जनाएका छन् । ‘प्रहरीको भरोसा गरी पीडितहरू आएर उजुरी दिन्छन्, तर ती उजुरीको वर्षौसम्म सुनुवाई हुँदैन, अब त्यसको अन्त्य गर्दै पूराना फाइल खोतलेर पीडितलाई न्याए दिन्छु,’ एसएसपी लामाले भने।

४) प्रहरीलाई त्रिपालबाट कम्तीमा टिनसम्म पुर्‍याउँछु
महानगरीय प्रहरी परिसर टेकु र मातहतमा रहेका प्रहरी कर्मचारीलाई त्रिपालबाट हटाएर कम्तीमा पनि टिनको भवनमा सार्ने वातावरण मिलाउने आफ्नो योजना रहेको एसएसपी लामाले जानकारी गराएका छन् । दैनिक १४ देखि १८ घण्टा ड्यूटी गर्ने प्रहरीहरू अझै पालमुनी सुत्नु परेको छ । पालमा बसेका प्रहरीलाई कम्तीमा सुत्ने ब्यवस्था राम्रो भए प्रहरी काम कार्बाहीमा केही फरक हुने एसएसपी लामाले पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७