धरहरा पुनर्निर्माण अन्योलमा, छैठौं टेण्डर पनि स्थगित


५ भाद्र २०७५, मंगलवार
dharahara1

काठमाडौं, ५ भदौ । धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैठौं पटक स्थगित भएको छ ।

dharahara1

यसले गर्दा धरहराको पुनर्निर्माणमा अन्योल बढेको छ । गत वैशाख ३१ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना प्रकाशन गरेको थियो । सूचनामा दिइएको समयमा छ वटा प्रस्ताव पेश भएका थिए । प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो ।

पाँच निर्माण कम्पनीको आर्थिक प्रस्ताव असार २६ गते खोल्ने भनी असार २० गते सूचना प्रकाशन गरिएको थियो । असार २६ गतेदेखि पाँच पटकसम्म प्रस्ताव खोल्ने काम स्थगित हुँदै आएको छ । छैठौं पटक आजलाई तोकिएको मिति पनि सूचना प्रकाशित गरेर भदौ ८ गते शुक्रबारलाई सारिएको प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।

प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति छैठौं पटक रोकिएको हो । यससम्बन्धी छानबिन गरी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरी सकिएको उनले बताए । प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइकरलामा जेभी, सिआर ५ सिइसीरस्वच्छन्द जेभी, कुमाररसिएफइसी जेभी, जिआइइटीसीररमन जेभी, सिआइसिओरकालिकाररसुवा जेभी छन् ।

जेसीजिआईसिसीरआशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको सहसचिव मानन्धरले जानकारी दिए । भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्ष अघिको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटकरपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको नयाँ धरहरा बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो ।
नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ ।

अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्मार्ण गर्न ४ अर्ब रुपैयाँ लाग्ने अनुमान तयार भएको छ । यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैं नबनाए पनि १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत ‘मेरो धरहरा मै बनाउँछु’ कार्यक्रमको धरहरा पुनर्निर्माण कोषमा २४ करोड रुपैयाँ जम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ ।

धरहराले गोश्वारा हुलाक कार्यालय रहेको जग्गासमेत उपयोग गर्ने भएको छ । त्यसका लागि सो जग्गा खाली गर्ने भनिएको प्राधिकरणले जनाएको छ । कूल ३९ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ निर्माण गरिनेछ । धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने कामलाई जारी राखिने जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवर भने प्रस्ताव खोल्ने सम्बन्धी सम्पूर्ण जिम्मेवारी प्राधिकरणकै भएको बताउछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७