शेरधन राईले भने, ‘चर्चाको मात्रै होइन म साँच्चिकै हुनेवाला मुख्यमन्त्री हुँ’


प्रकाशित मिति : November 9, 2017

भोजपुर : नेकपा (एमाले)का प्रदेश नम्बर एकका सह–संयोजक तथा भोजपुर क्षेत्र न. २ बाट प्रदेससभा सदस्यका उम्मेदवार शेरधन राईले भोजपुरे जनतालाई धाउने, रुङ्ने र उघ्ने जनप्रतिनिधि होइन दिन सक्ने जनप्रतिनिधि चाहिएको बताएका छन् । वामगठबन्धनका भोजपुरे उम्मेदवारहरु दिन सक्ने हैसियतमा रहेको तर अन्य उम्मेदवारहरु माग्ने धाउने र भाग्ने हैसियतमा रहेको उनको जिकिर छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल भोजपुरले विहिबार भोजपुरमा गरेको पत्रकार सम्मेलनमा नेता राईले भोजपुर वामपन्थीहरुको लालकिल्ला बन्ने दाबी गरे । राजनीतिक क्रान्तिको अगुवाई गरेका भोजपुरका वामगठबन्धनका नेताहरुले अब भोजपुरको समृद्धिको अगुुवाई पनि गर्ने बताए । ‘जनताहरु पुर्वाधार, कृषि, पर्यटन, जलस्रोत र रोजगारीको योजनाबद्ध विकासमा हैसियत भएका प्रतिनिधि खोजीराखेका छन्, र हाम्रो नेतृत्वले हैसियत दिन सक्छ भन्नेमा विश्वस्त तुल्याउन चाहान्छु’ उनले भने ।

नेता राईले आफू प्रदेश नम्बर एकको मुख्यमन्त्री बन्न बन्ने समेत बताए । उनले भने, ‘चर्चाको मात्रै होइन म साँच्चिकै मुख्यमन्त्री हुुँ ।’ उनले भोजपुरलाई मात्रै होइन प्रदेश नम्बर एकलाई समृद्ध बनाउने आफूसँग योजना, खाका र सपना रहेको बताए । भने, ‘एक नम्बर प्रदेशलाई समृद्ध प्रदेश बनाउन सकिन्छ भन्ने आत्मविश्वास मात्रै होइन योजना र सपना पनि म सँग छ ।’

को हुन् शेरधन राई ?

पसलभज्याङदेखी सिंहदरबारसम्म
भोजपुर सदरमुकामबाट १४ कोष टाढा पर्दछ, थिदिङखा गाउँ(साबिकको गाविस) । त्यही गाउँको पसलभञ्जाङ भन्ने टोलमा २०२७ सालमा जन्मिएका हुन् शेरधन । अहिले बिस्तारै सडक पुग्दैछ । तर, उतिबेला गाउँ पुग्न सदरमुकामदेखी एक दिन पैदल हिडेर मात्रै पुगिन्थ्यो । सामान्य किसान परिवार । बिहान बेलुकी दाउरा–घाँस गरे स्कुल जानु सामान्य दैनिकी जस्तै थियो । भुगोलको विकटताको हिसाबले दैनिकी निकै कठिन र जटिल थियो । तर, चेतनाको हिसाबले भोजपुर उर्बर । त्यही चेतनाले उनलाई पनि राजनीतितिर तान्यो । जतिबेला उनले समाजलाई सामान्य हिसाबले चिन्न सके, ठिक त्यतीबेला देखी संगठित भएर लागिहाले उनी । सबै खालका अन्याय, विभेद र असमानता हटाउनका निम्ती लड्न र लाग्न जरुरी छ भन्ने चेतनाले डोहोराएर उनी अनेरास्ववियुको प्राकमा संगठित भए । ०४४ बाट उनको यात्रा सुरु भयो ।

अखिलको प्राकबाट अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र पूर्वाञ्चल संयोजक भए । सक्रिय शेरधनलाई अखिलमा स्थापित हुन त्यतिधेरै समय लागेन । अखिलमा उनको यात्रा तेज गतिमा नै अघि बढिरहेको थियो, तर एमाले विभाजन भयो । ०५४ मा एमाले विभाजन भएको बेला उनी एमालेमा उपसचिव थिए । भोजपुरे अधिकांस नेता मालेमा गएपछि उनले पार्टीको कमाण्ड समाल्नुपर्ने भयो । अखिलको यात्रालाई पूर्ण बिराम लगाएर पार्टी सम्हाल्न भोजपुर गए । अखिलको लोभलाग्दो यात्रालाई पार्टीको कमाण्ड सम्हाल्नु उनको त्यो समयको ऐतिहासिक जिम्मेदारी थियो ।

विभाजित अवस्थामा २०५४ सालमा उनकै नेतत्वमा एमालेले चुनाव लड्यो । भोजपुर एमालेको लालकिल्लाको रुपमा स्थापित भयो । २०५६ सालमा संसदीय निर्वाचनमा सबैभन्दा कान्छो उमेरका संसद उनै थिए । ०६४ चैत्र २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा एमाओवादीका सुदन किरातीसँग पराजित भएका राई पुनः दोस्रो संविधानसभाको विजयी भए । दोस्रो संबिधानसभामा निर्वाचित भएपछि संसदको सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा केही समय काम गरे । लगत्तै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । हाल पार्टीको वैकल्पीक पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर एकको सह–संयोजकको जिम्मेवारीमा छन् ।

सधैं अडिक र अविचलित
२०५४ सालमा संसदीय चुनाव लड्दै गर्दा उनी २७ बर्षे लक्का जवान थिए । आकर्षक र खाईलाग्दो अनुहार । पोष्टरमा उनको तस्बिर देखेर उनका समर्थकहरुले नारा लगाएका थिए,‘भोट कसलाई, हाम्रो कान्छा भाईलाई ।’ भोजपुरे जनताहरुको त्यही कान्छा त्यही बेलादेखी अविचलित रुपमा एमालेको अभियान र आन्दोलनमा लागिरहेका छन् ।

एमाले विभाजन कालमा पार्टीलाई सम्हाले । तत्कालिन पार्टी उपाध्यक्ष अशोेक राईले पार्टी छोडेर नयाँ पार्टी बनाउदै गर्दा धेरै भोजपुरका अगुवा नेताहरुले पार्टी छोडे । त्यतिबेला शेरधन जिल्ला अध्यक्ष थिए । २४ जिल्लाका आदिवासी जनजाति मुलका पार्टी अध्यक्षहरुले एमाले बचाउँ अभियान सुरु गरे । त्यो अभियानका नेतृत्वदायी भुमिकामा थिए शेरधन । एमालेको अभियानमा सधैं उनी अडिक रहे । टुटफुट र बिभाजनमा उनी अविचलित रुपमा एमालेको रक्षामा लागिरहे ।

संसद र मन्त्रीको भुमिका
शेरधनले संसदको निकै प्रभावी सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा केही समय काम गरे । उनी संसदको सुशासन तथा अनुगमन समितिको सभापति रहदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई बोलाएर स्पष्टीकरण समेत सोधेका थिए । प्रमुख आयुक्तसहितका अधिकारीहरुलाई अख्तियारमाथि हाल उठिरहेका विभिन्न प्रश्नका बारेमा प्रष्टीकरण सोधेपछि त्यो बेला उनको कदम चर्चामा थियो । उनले कार्कीलाई सोधका थिए, ‘अनुसन्धान कसरी गरिन्छरु कारवाहीका प्रक्रियाहरु कसरी अगाडि बढाइएको छरु त्यहाँका गुप्तचर र जनशक्तिको अवस्था कस्तो छरु अहिले उठिरहेका विभिन्न प्रश्नहरुको सन्दर्भमा अख्तियारको भनाई के हो ? निर्दोष मान्छेहरु पनि कारवाहीमा परिरहेका छन् कि ?’ जतिबेला लोकमानलाई संसदीय समितिमा बोलाएर उनले प्रश्न सोधे त्यतिबेला लोकमानको जगजगी र आतंक थियो । त्यही बेला जोखिम मोलेरै उनले समितिमा बोलाएका थिए ।

सूचना तथा सञ्चारमन्त्री भएको बेला पनि उनले नीति निमार्णको सन्दर्भमा राम्रो काम गरेका थिए । उनी सञ्चार मन्त्री भएको बेला बनेको आम सञ्चार नीति निकै उपलब्धी मानिन्छ । राष्ट्रियता र समावेशीताको हिसाबले यो आम सञ्चार नीतिलाई सञ्चार क्षेत्रको कोशेढुङ्गा मानिन्छ । आमसञ्चार प्रतिष्ठान गठन, विज्ञापन परिषद् निर्माण, क्लिन फिड, सार्वजनिक प्रशारण सेवाको सन्दर्भमा उनले नीतिगत रुपमा दिर्घकालिन रुपमा काम गरेर छोडेका छन् । क्लिन फिड राष्ट्रियताको सन्दर्भमा निकै ठुलो राख्ने नीति हो । तर, हाल भारतीयहरुको दबाबमा यो नीतिलाई लागु गर्न दिइएको छैन ।  त्यसो त सञ्चारमन्त्री भएकोबेला समयको कारण सोचे जस्तो काम गर्न नसकेकोप्रति उनी सचेत छन् । भन्छन्, ‘निश्चय नै मसँग धेरै योजनाहरू थिए, तर त्यत्ति हुँदाहुदै पनि धेरै कामहरू गर्न सकिएन किनभने निश्चित सीमा, समय र कार्यभारले गर्दा त्यो सम्भव भएन । हामीसँग समय थोरै थियो । प्रमुख कार्यभार संविधान निर्माण थियो । यसले गर्दा पनि समृद्धि र विकासका काममा चाहे जस्तो समय दिन सकिएन, तर अब ती कार्यभारहरू सम्पन्न भएका छन् । अब हाम्रो सम्पूर्ण ध्यान विकास समृद्धिको लागि हुनेछ ।’

 

 

 

 

प्रतिक्रिया दिनुहोस्