राष्ट्रिय परिचय-पत्र वितरण अन्तिम चरणमा


५ भाद्र २०७५, मंगलवार
cover1 1

काठमाडौं, ५ भदौ । राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ ।

cover1 1
सांकेतिक तस्विर

केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम शुरु गर्ने र त्यस लगतै वितरण गर्ने तयारी रहेको बताए । ‘‘अहिले परिचय पत्र परीक्षण गर्ने काम भइरहेको छ, कम्पनीले परीक्षण सकेर हामीलाई कात्तिकको दोस्रो हप्ताभित्र हस्तान्तरण गरेपछि हामी छपाइको काम गर्दछौ ।’ उनले परीक्षण सकेर कम्पनीले हस्तान्तरण गरेपछि वितरण गरिने बताए । ‘आइडिमिया आइडिण्टिटी एण्ड सेक्युरिटी’ कम्पनीले राष्ट्रिय परिचय पत्र प्रणाली विकास गरी परीक्षण गरिरहेको छ ।

कम्पनीले भदौ १५ गतेभित्र परीक्षणको काम सकाएर हस्तान्तरण गर्ने भनेता पनि प्राविधिक कारणले एक महिना ढिलो हस्तान्तरण गर्ने भएको छ । केन्द्रका कम्प्युटर इञ्जिनियर ज्ञानेश्वर बोहराले परिचय पत्रको परीक्षणक्रममा देखिएका प्राविधिक समस्यालाई अहिले समाधान गरिरहेको बताए । ‘‘परिचय पत्रमा पछि समस्या नआओस् भन्नका लागि परीक्षण गरेका थियौ, तर केही समस्या आएको हुनाले त्यसलाई अहिले हटाउने काम भइरहेको छ’, उनले भने । २०७४ असार ८ गतेको मन्त्रिपरिषद् बैठकले परिचय पत्रको ढाँचा र २०७४ पुस ८ गते सुरक्षित चिन्ह स्वीकृत गरेको थियो ।

सरकारले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्नेछ । परिचय पत्रको काम अन्तिम चरणमा भएकोले वितरण गर्ने जिल्ला पाँचथर र सिंहदरबारमा अहिले नागरिकको विवरण संकलन केन्द्रले गरिरहेको छ । निर्देशक जोशीले असार ५ गतेबाट पाँचथरमा विभिन्न समूह बनाइ विवरण संकलनको काम भइरहेको बताए । उनका अनुसार अहिलेसम्म पाँचथरमा २२ हजार र सिंहदरबारमा तीन हजार नामावली संकलन गरिएको छ । पाँचथरमा पाँच स्थानीय तहका नामावली संकलन काम बाँकी छ ।

पाँचथरमा तीन समूह गाउँपालिका र नगरपालिकामा तथा जिल्ला प्रशासन कार्यालयमा एक समूहले विवरण संकलन गरिरहेको छ । कम्प्युटर इञ्जिनियर बोहराका अनुसार १० डिजिटल नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति-पप्नीको नाम, आंैठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानासमेत उल्लेख गरिने छ । सरकारले नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो ।

सूचना अधिकारी जोशीले परिचयपत्र विवरण गर्न अहिले एक लाख १७ हजार परिचयपत्र आइसकेको बताए । केन्द्रले नागरिकको लगत संकलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्रमा छापिएर बाँडिने छ । केन्द्रमा नै ती परिचयपत्र छापेर जिल्ला लगेर वितरण गरिने छ । सरकारले विसं २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचय पत्रको काम शुरु भएको हो ।

यस वर्ष थप १५ जिल्लामा पनि वितरण गरिने
यसैगरी सरकारले थप १५ जिल्लामा राष्ट्रिय परिचय पत्र लागू गर्ने भएको छ । गृह मन्त्रालयमा मन्त्रिस्तरीय निर्णय गर्दै थप १५ जिल्लामा यसवर्ष राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय गरिएको केन्द्रका निर्देशक जोशीले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं १ झापा र संखुवासभा, प्रदेश नं २ को महोत्तरी र सप्तरी, प्रदेश नंं ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नंं ५ को गुल्मी र कपिलवस्तु, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा प्रदेश नं ७ को अछाम र कञ्चनपुरमा लागू हुनेछ । छनोटमा परेका ती जिल्लामा जाने योजना र बजेट व्यवस्थापन भईरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७