भोजपुरका वाम उम्मेदवारहरुले भने, ‘समृद्धिको अगुवाई पनि हामी गर्छौं’


२३ कार्तिक २०७४, बिहीबार
Bhojpur

भाेजपुर  : वामगठबन्धनका भोजपुरका उम्मेदवारहरुले भोजपुरलाई वामपन्थीहरुको लालकिल्ला बनाउने उद्घोष गरेका छन् । भोजपुरको प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा वाम गठबन्धनका उम्मेदवारहरुले जित्ने उनीहरुको दाबी छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल भोजपुरले विहिबार भोजपुरमा गरेको पत्रकार सम्मेलनमा नेताहरुले भोजपुरको समृद्धिको अगुवाई पनि आफूहरुले गर्ने उद्घोष गरे । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादीका सुदन राई, प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर एकका उम्मेदवार एमालेका राजेन्द्र राई र क्षेत्र नम्बर २ का उम्मेदवार शेरधन राईले तीनै जनाले आफूहरुले जित्ने दाबी गरे । बाम गठबन्धनका गतिशिल शक्तिहरुको नेतृत्वमा मात्रै देशको विकास सम्भव भएको उनीहरुको भनाई छ ।

Bhojpur

भोजपुर क्षेत्र न २ बाट प्रदेससभा सदस्यका उम्मेदवार शेरधन राईले भोजपुरे जनतालाई धाउने, रुङ्ने र उघ्ने जनप्रतिनिधि होइन दिन सक्ने जनप्रतिनिधि चाहिएको बताएका छन् । वामगठबन्धनका भोजपुरे उम्मेदवारहरु दिन सक्ने हैसियतमा रहेको तर अन्य उम्मेदवारहरु माग्ने धाउने र भाग्ने हैसियतमा रहेको उनको जिकिर छ ।

नेता राईले आफू प्रदेश नम्बर एकको मुख्यमन्त्री बन्न बन्ने समेत बताए । उनले भने, ‘चर्चाको मात्रै होइन म साँच्चिकै मुख्यमन्त्री हुुँ ।’ उनले भोजपुरलाई मात्रै होइन प्रदेश नम्बर एकलाई समृद्ध बनाउने आफूसँग योजना, खाका र सपना रहेको बताए । भने, ‘एक नम्बर प्रदेशलाई समृद्ध प्रदेश बनाउन सकिन्छ भन्ने आत्मविश्वास मात्रै होइन योजना र सपना पनि म सँग छ ।’

प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका नेता सुदन किरातीले भोजपुरको समृद्धिको लागि वाम गठबन्धनको उम्मेदवारहरुलाई जिताउनुपर्ने तर्क राखे । वामपन्थी शक्तिहरुबाट मात्रै मुलुक र भोजपुरको समृद्धि सम्भव हुने किरातीको जिकिर छ । किरातीले झण्डै ७० प्रतिशत वामपन्थी रहेको देशमा पूँजीवादीहरुले कम्युनिष्टलाई फुटाउ र राज गरको सिद्धान्तमा अगाडी बढ्न नदिएकाले देशको आर्थिक विकास हुन नसकेको बताए । उनले लामो कालखण्डपछिको वामशक्तिहरुको एकताले मुलुकमा दुई तिहाई वहुमत दिलाएर स्थिर र दीगो शासन व्यवस्थामार्फत गणतन्त्र संस्थागत गर्दै जनतालाई अधिकार सम्पन्न बनाउने र समाजवादतर्फ उन्मुख गराउने दावी गरे । ‘हिजो जित्दा मात्र होइन हार्दा पनि भोजपुरकै माटोमा रमाउने, भोजपुरकै विकासमा लागेका हामीहरुलाई जनताले विश्वास गरेका छन्, रोटी र नुन खाएर लडेका हामीसँग पिजा र वर्गर खाएर टिकट लिएकाहरुसँग प्रतिस्पर्धा हुन सक्दैन १०/१२ हजार मतले शानदारका साथ चुनाव जित्दैछौं ।’ 

भोजपुर क्षेत्र नम्बर एकका उम्मेदवार राजेन्द्र राईले भोजपुर र मुलुक समृद्धि लागि वामपन्थी शक्तिहरुको जित अनिवार्य भएको बताए । राष्ट्रिय स्वाभिमान सहितको समृद्धिको लागि वाम तालमेल आबश्यक भएको बताए । उनले जातीय एजेण्डालाई जनताले पराजित गरिसकेको अवस्थामा जातीय सद्रभाव खलबलिने खलबलाउने खालको नभएर सामाजिक र आर्थिक विकासको एजेण्डालाई स्थापित गराउनेगरि आफ्नो उम्मेद्वारी भएको बताए ।

भोजपुर प्रदेश ‘क’ का उम्मेद्वार राजेन्द्र राईले जनतासँग प्रत्यक्ष जोडिएका स्थानीय विकासका एजेण्डाहरुले मात्र जनतामा प्रत्यक्ष अनुभुति गर्न सक्ने भएकाले हुने र गर्नसक्ने कामहरुको सूची बनाएर जनताको घरदैलोमा पुगेको बताए । स्थानीय तह निर्वाचनलाई आधार मान्दा भोजपुरमा वाम गठबन्धन अगाडि छ ।

स्थानीय तहको मत अनुसार वाम गठबन्धनको ४० हजार २१ मत छ भने कांग्रेसको २१ हजार ९०५ मत छ । यो १८ हजार ११६ को अन्तर हो । प्रदेश ‘क’ मा वाम गठबन्धनको १८ हजार ८४७ मत छ भने कांग्रेस गठबन्धनको १३ हजार ३७९ मत छ । प्रदेश ‘ख’ मा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन झण्डै १३ हजार मतसहित अगाडि छ । वाम गठबन्धनको मत २१ हजार १७४ छ भने कांग्रेसको ८ हजार ५६२ मत छ ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७