६६ जिल्लामा नेकपाको सर्वसम्मत भागबण्डा, ४० मा एमाले र २६ मा माओवादीलाई अध्यक्ष (सूचीसहित)


६ भाद्र २०७५, बुधबार
Nepal Communist party logo

काठमाडौं, ६ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तल्लो तहको पार्टी समायोजनलाई तीब्रता दिएको छ ।

नेकपाले अहिलेसम्म ६६ जिल्लामा पार्टी समायोजनको काम टुङ्ग्याएको जनाएको छ । ६६ जिल्लामा ४० पूर्व नेकपा एमाले र २६ पूर्व माओवादी केन्द्रलाई भागवण्डा गर्दै नेतृत्वको जिम्मेवारी तय गरिएको नेकपा स्रोतले जानकारी दिएको छ । गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश–१ र कर्णाली प्रदेशका केही जिल्लामा विवाद रहेकाले प्रदेश कार्यदललाई बिहीबारसम्म विवाद समाधान गर्न समय दिइएको छ ।

बिहीबारसम्म पनि तलबाटै सहमति भएर नआए केन्द्रीय सचिवालयले माथिबाटै विवादित जिल्लाको नेतृत्व चयन गर्ने स्रोतले जानकारी दिएको छ । नेकपाका ७ वटा प्रदेश कार्यदलमध्ये अधिकांशले आफ्नो सिफारिससहितको प्रतिवेदन महासचिव विष्णु पौडेल समक्ष पेश गरिसकेका छन् ।
गण्डकी प्रदेशले भने जिल्लामा सर्वसम्मत नेतृत्व सिफारिस गर्न नसकेपछि तत्कालीन एमाले र तत्कालीन माओवादी दुवैतर्फका अध्यक्षका दाबेदारको नाम सिफारिस गरिएको छ ।

प्रदेश–२ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन । प्रदेश–१ मा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह«थुम, सुनसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुङ्गा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन । प्रदेश–२ का सप्तरी, धनुषा, सर्लाही र पर्साको नेतृत्व एमालेले पाउने र महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व माओवादीले पाउने समझदारी भएको छ ।

प्रदेश–३ को मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीका नेतृत्व तत्कालिन एमालेले पाउने सहमति भएको छ । माओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटीको नेतृत्व पाउने भएको छ ।

प्रदेश–५ मा एमालेले रुपन्देही, अर्घाखाँची,गुल्मी,पाल्पा, कपिलवस्तु, प्युठान र दाङ जिल्लाको नेतृत्व पाउने भएको छ । माओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र रुकुमको नेतृत्व पाउने सहमति भएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये एमालेले ५ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउने भएका छन् । कालिकोट र मुगु कसले लिने भन्नेमा विवाद भएको छ । एमालेले दैलेखे, सुर्खेत, जुम्ला र डोल्पा लिने सहमति भएको छ ।

त्यस्तै माओवादीले जाजरकोट, सल्यान, रुकुम र हुम्लाको नेतृत्व पाउने सहमति भएको छ । माओवादीले कालिकोट र एमालेले मुगु लिएर सहमति हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
प्रदेश–७ का ९ जिल्लामध्ये एमालेले कैलाली, बैतडी, अछाम,बाजुरा र डोटीको नेतृत्व पाएको छ । माओवादीले कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाउन जिल्लाको नेतृत्व पाउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७