२३ सय मेगावाटका १०७ आयोजना निर्माणाधीन, वित्तीय व्यवस्थापन पर्खदै ७४ आयोजना


१० भाद्र २०७५, आईतवार
284337154Upper tamakoshi hydro

काठमाडौं, १० भदौं । नेपालमा अहिले दुई हजार ३ सय ५६ मेगावाट क्षमताका करीब १०७ विद्युत आयोजना निर्माणाधीन चरणमा छन् ।

284337154Upper tamakoshi hydro

वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारी विद्युत प्राधिकरणले दिएको छ । प्राधिकरणले ३३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको विवरणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही समय पर सर्ने देखिएको छ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले केही दिन पहिले सुरुङ निर्माणको काम सम्पन्न गरेको छ । विद्युत् गृहलगायत निर्माणको काम जारी रहेको छ । यस्तै १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन, ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन पनि निर्माण सम्पन्न हुने चरणमा रहेको जनाएको छ । सरकारी स्वामित्व र निजी लगानीका अधिकांश आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको प्राधिकरणलाई जानकारी गराएको उक्त विवरणमा उल्लेख छ ।
यस्तै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए यसै वर्ष सम्पन्न हुने आयोजनाका रुपमा रहेका छन् । प्राधिकरणका अनुसार आगामी आवको अन्त्यसम्म नेपालको कूल जडित क्षमता दुई हजार २ सय ७४ मेगावाट बराबर पुग्नेछ । प्राधिकरणले नै प्रक्षेपण गरेको तथ्याङ्कका आधारमा वार्षिक १० प्रतिशत मात्रै विद्युत्को माग बढेको खण्डमा पनि १ हजार ७५० मेगावाटको हाराहारीमा मात्रै विद्युत् माग पुग्नेछ ।

तर नेपालका अधिकांश आयोजना नदी प्रवाही भएका कारण वर्षामा बढी विद्युत् उत्पादन हुने र हिउँदमा कम मात्रै विद्युत् उत्पादन हुने भएकाले हिउँदमा भने विद्युत् व्यवस्थापन गर्न अझै केही समस्या पर्ने देखिन्छ । सरकारले आगामी ३ वर्षभित्र ३ हजार मेगावाट र आगामी ५ वर्षभित्र ५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । निर्माणमा रहेका र सम्पन्न हुने चरणमा रहेका आयोजनाको हिसाबमा हेर्दा सरकारको लक्ष्य सहजै पूरा हुने देखिन्छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले निर्माणाधीन आयोजनालाई समयमै सक्न मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको र कुनै पनि समस्या हुन नदिने प्रतिबद्धता जनाएका छन ।

यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियमितरुपमा आयोजनाको अनुगमन तथा अनावश्यक सहजीकरणे गरिरहेका । ‘हामीलाई उपलब्ध गराइएको विवरणअनुसार नै काम भएको खण्डमा सरकारको लक्ष्य सहजै पूरा गर्न सकिन्छ’, कार्यकारी निर्देशक घिसिङले भने । सोही अवधिमा वार्षिक १० प्रतिशतका आधारमा विद्युत् माग १ हजार ७५० मेगावाट पुग्ने प्रक्षेपण छ । देशमा विद्युत् माग बर्खामा कम र हिउँदमा बढी हुने गरेको छ भने उत्पादन ठीक उल्टो छ ।

निर्माणाधीन र अब निर्माणमा जाने आयोजनाबाट अबको ५ वर्षमा कूल जडित क्षमता करीब ४ हजार ५ सय मेगावाट पुग्ने अनुमान छ । यस्तै, माग वार्षिक १० प्रतिशतका दरले २ हजार ५६० मेगावाट पुग्ने देखिन्छ । सरकारले आगामी ५ वर्षभित्र देशका सबै क्षेत्रमा विद्युत्को पहुँच पु¥याउने वाचा गरेको छ । यसका लागि बायोग्याँस, सोलार, हावालगायत स्रोतको पनि उपयोगलाई प्राथमिकता दिइएको छ । यसका साथै फोहरबाट समेत विद्युत् उत्पादन शुरु भएको छ ।

वित्तीय व्यवस्थापनको पर्खाइमा ७४ आयोजना
प्राधिकरणका अनुसार वित्तीय व्यवस्थापनको पर्खाईमा ७४ आयोजना रहेका छन् । ती आयोजनाको क्षमता १ हजार ६५८ मेगावाट रहेको छ । ती आयोजना पनि समयमै वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने पर्खाइमा छन् ।

प्राधिकरणले २ साना जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता रद्द गरेको छ । त्यसमा नारायणी शंकर बायोमास र तामे खोलाको सम्झौता रद्द गरेको हो । यस्तै बीमामा बदमासी भएको पाइएकाले ३० मेगावाट क्षमताका १० आयोजनालाई सचेत गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७