चुनावी लेखाजोखा : रवीन्द्र मिश्र काठमाडौँ क्षेत्र नं. १ मा अगाडि !


२४ कार्तिक २०७४, शुक्रबार
kathamandu 1 Prakash man singh anil sharma and rabindra mishra

काठमाडौं : चुनाव नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी शुरु भएको छ ।  सो क्षेत्रमा प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, नेकपा (एमाले) र नकेपा (माओवादी केन्द्र)को वाम गठबन्धनबाट अनिलकुमार शर्मा, विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र, नेपाली काँग्रेस (बिपी) बाट हरिबोल भट्टराई, नयाँ शक्ति पार्टीबाट नारायण ढकाललगायत २२ जनाको उम्मेदवारी परेको छ ।

kathamandu 1 Prakash man singh anil sharma and rabindra mishra

महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका क्षेत्र पर्छन् ।
पूर्व उप्रधानमन्त्रीसमेत रहेका काँग्रेसका उम्मेदवार सिंह, माओवादी केन्द्रको विद्यार्थी संगठनका नेता रहनुभएका वाम गठबन्धनका उम्मेदवार शर्मा र बिबिसी नेपाली सेवाका पूर्व प्रमुख रहेका साझा पार्टीका उम्मेदवार मिश्रबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
तीन उम्मेदवारमध्ये यसअघि सोही क्षेत्रबाट दुईपटक निर्वाचित सिंहलाई बलियो उम्मेदवारकारूपमा लिइएको छ । काँग्रेसको मत साझा पार्टीले बढी काटेमा गठबन्धनका उम्मेदवार शर्मालाई निर्वाचित हुन सहज हुने विश्लेषण गरिएको छ । यस्तै नयाँ व्यक्ति र पार्टीका रूपमा साझाका उम्मेदवार मिश्रले पनि बाजी मार्न सक्ने अड्कल छ ।
उम्मेदवार सिंह र शर्माको पारिवारिक सम्बन्ध नै राजनीतिमा जोडिएको छ । सिंह काँग्रेसका संस्थापक एवं पहिलो जनआन्दोलनका कमाण्डर गणेशमान सिंहका छोरा हुन भने शर्मा माओवादी केन्द्रका नेता एवं ऊर्जा मन्त्री हुँदा विद्युत्भार कटौती गरेर चर्चा कमाएका जनार्दन शर्माका भाइ हुन् ।
स्थानीय चुनावको मतका अाधारमा रवीन्द्र मिश्र अगाडि
यो क्षेत्रमा गत स्थानीय चुनावको मतपरिणामलाई विश्लेषण गर्दा थोरै मतअन्तरले विवेकशील साझा पार्टी पहिलो, वाम गठबन्धन दोस्रो र काँग्रेस तेस्रो स्थानमा थियो ।
एकता हुनुअघि स्थानीय तहमा विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले पाएको मत ११ हजार २००, एमाले र माओवादीले पाएको मत १० हजार ९८८, काँग्रेस र राप्रपाले पाएको मत १० हजार ३८२ छ तर पछिल्लो समय यो क्षेत्रमा थपिएको पाँच हजार बढी मत कसको पक्षमा जान्छ भन्नेमा पनि अन्योल छ ।
सफा नगर, हरियाली, सफा नदी, चौडा र धुलोरहित सडकजस्ता योजना ती उम्मेदवारले प्रस्तुत गरिरहेका छन् । काँग्रेसका उम्मेदवार सिंह आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् । आफूले सांसदका रूपमा विगतमा यो क्षेत्रको विकासका लागि गरेका काम जनताले प्रत्यक्ष अनुभूति गरिरहेकाले फेरि पनि आफूलाई नै मतदाताले विजयी बनाउनेमा उनी विश्वस्त छन् ।
काठमाडौँका जनता परिवर्तनमा विश्वास गर्नेे र युवालाई नेतृत्व दिने कुरामा यो जनमतले साथ दिने विश्वास आफूलाई रहेको गठबन्धनका उम्मेदवार शर्माले बताए । वाम गठबन्धनपछि यो क्षेत्रका मतदातामा उत्साह थपिएको तथा विकास र स्थिरताका लागि गठबन्धनको पक्षमा मतदान गर्ने उनले बताए ।
साझा पार्टीका उम्मेदवार मिश्रले पुराना पार्टीहरु पटक–पटक परीक्षण भई असफल सिद्ध भइसकेकाले नयाँलाई रोज्नेमा आफू विश्वस्त रहेको बताए । घरदैलोका क्रममा जनताले देखाएको स्नेह र सद्भावले आफूलाई हौसला बढाएको र निर्वाचित हुनेमा ढुक्क रहेको पनि उनले टिप्पणी गरे ।
यस्तै प्रदेश सभातर्फ काँग्रेसबाट काठमाडौँ क्षेत्र नं १ (क) दीपेन्द्र श्रेष्ठ र ‘ख’मा सुरजचन्द्र लामिछाने, गठबन्धनबाट ‘क’ मा विष्णुकुमारी भुसाल (भट्टराई) र ‘ख’मा उम्मेदवार गणेशप्रसाद दुलाल तथा साझा पार्टीबाट ‘क’मा समीक्षा बास्कोटा र ‘ख’मा पुरुषोत्तम ढुंगेल उम्मेदवार छन् । क्षेत्र नं १ को ‘क’मा १३ जना र ‘ख’ मा १४ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार क्षेत्र नं १मा ४२ हजार ४३० मतदातामध्ये १ ‘क’मा २४ हजार ७५७ र ‘ख’ मा १७ हजार ६७३ मतदाता छन् । काठमाडौँमा प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ २० निर्वाचन क्षेत्र छन् ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७