आयो नयाँ पाठ्यक्रम, कक्षा ११ र १२ मा दुई विषय थपियो, ६ देखि १० सम्म विषय घट्यो


१२ भाद्र २०७५, मंगलवार
1535444598pathecram

काठमाडौं, १२ भदौं । आउँदो शैक्षिक सत्रदेखि लागू हुने गरी नयाँ पाठ्यक्रम तयार भएको छ । अब कक्षा ११ र १२ मा दुई विषय थप भएर ७ विषयको पढाइ हुने भएको छ ।

1535444598pathecram

अहिलेसम्म ५ विषय पढाइ हुने गरेकोमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको छ । विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी जस्ता छुट्टाछुट्टै संकाय हुँदैन । ११ र १२ विद्यालय शिक्षा अनुसार नै संकायविहीन बनाइएको छ । ११ र १२ पढ्ने विद्यार्थीले नेपाली, अंग्रेजी, सामाजिक र जीवन उपयोगी शिक्षा अनिवार्य र ३ ऐच्छिक विषय पढ्नु पर्छ । अहिलेसम्म ५ विषय पढाइ हुँदै आएको छ ।

११ र १२ मा गणित विषय अनिवार्यबाट हटाइएकोमा विरोध हुँदै आएको थियो । ऐच्छिक विषयमा गणित पढ्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ । जीवन उपयोगी शिक्षाको सट्टा गणित पढ्न पाइन्छ । ‘नयाँ पाठ्यक्रम संरचना स्वीकृत गरियो । यही वर्ष कक्षा ११ मा नमूनाका रुपमा लागू गर्छौं’, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्री भन्छन्, ‘नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक बनाउने काम थालिसकेका छौं ।’

कक्षा ९ र १० मा अहिलेसम्म ८ विषय पढाइ गरिएकोमा आउँदो शैक्षिक सत्रदेखि भने ७ विषय मात्रै पठनपाठन हुने काप्री बताउँछन् । स्वास्थ्य तथा जनसंख्या विषय हटाइने भएको छ । पाठ्यपुस्तक तयार गर्दा विज्ञानमा प्रविधि सम्वन्धिका पनि विषयवस्तुहरु समावेश गर्ने तयारी गरिएको हो। ५ विषय अनिवार्य छ भने २ विषय ऐच्छिक हुनेछ ।

कक्षा ६ देखि ८ सम्म पढाइ हुँदै आएको नागरिक वा पेशा व्यवसाय विषय हटाइएको छ । ‘विषयलाई घटाएको बढाएको भन्दा पनि ती पहिल्यै रहेका विषयमा मिल्ने विषयबस्तु समावेश गरिएको हो’, उनी थप्छन् । कक्षा १ देखि ३ सम्म विषयगत शिक्षण गर्ने गरी पाठ्यक्रम तयार गरिएका छन् । कक्षा १ मा भर्ना हुनुभन्दा पहिले पूर्व बालकक्षा शिक्षालाई पनि थप व्यवस्थित बनाउन लागिएको छ ।

बालबालिकालाई मनोरञ्जनका लागि समय छुट्टाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएअनुसार नै पाठ्यक्रम बनाइएका हुन् । जीवन उपयोगी शिक्षामा स्थानीय तहहरुले आफ्ना आवश्यकताअनुसार विषय छनौट गरी शिक्षा दिन सक्छन् । विद्यालय तह संविधानअनुसार नै स्थानीय तह अन्तर्गत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७