राष्ट्रिय कराते प्रतियोगितमा प्रहरी च्याम्पियन


२४ कार्तिक २०७४, शुक्रबार
8

काठमाडौं: नेपाल प्रहरी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत ५० औं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । १९ स्पर्धा समावेश प्रतियोगितामा सर्वाधिक ८ स्वर्ण जित्दै प्रहरी टिम च्याम्पियन बनेको हो ।8

पहिलो दिन बिहीबार ४ स्वर्ण जितेको प्रहरीले अन्तिम दिन पनि उत्तिनै स्वर्ण जित्यो । नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा त्रिभूवन आर्मी क्लब ६ स्वर्णसाथ दोश्रो भयो । नेपाली एपीएफ क्लब ४ स्वर्णसाथ तेश्रो बन्यो । विभागीय टोली बाहेक स्वर्ण जित्नेमा मध्यमाञ्चल मात्र रह्यो । बाँकी एक स्वर्ण मध्यमाञ्चलले हात पार्‍यो ।

प्रतियोगिताको पुरुषमा प्रहरीका रविन्द्र कार्की र महिलामा आर्मीकी कुसुम खड्का उत्कृष्ट खेलाडी चुनिए । रविन्द्रले ६० केजी तथा कुसुमले ४५ केजीमा स्वर्ण जितेका थिए । उत्कृष्ट भएवापत दुवैले समान १०–१० हजार, ट्रयाकसुट र सुट प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिला ६१ केजीको प्रतिस्पर्धामा प्रहरीकी सुनिता महर्जन पहिलो भइन् । फाइनलमा सुनिताले आर्मीकी सनी लामालाई पराजित गरिन् । ६८ केजीमाथि आर्मीकी रिता कार्कीले फाइनलमा एपीएफकी कल्पना बस्नेतलाई हराउदै शीर्ष स्थान कब्जा गरिन् ।

६८ केजीमुनि एपीएफकी रोजी ओझाले स्वर्ण जितिन् । फाइनलमा रोजीले आर्मीकी विभूषा थापालाई पाखा लगाइन् । ४० केजीमा मध्यमाञ्चलकी जिया खड्गीले स्वर्ण जित्न फाइनलमा प्रहरीकी एन्जिला धिमालको चुनौती पन्छाइन् । ४५ केजीमा आर्मीकी कुसुम खड्का पहिलो भइन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएकी कुसुमले एपीएफकी वर्षा बुढा मगरलाई फाइनलमा निराश पारिन् ।
पुरुष ७५ केजीमा प्रहरीका गंगाराम कुसुवार पहिलो बने । उनले फाइनलमा मध्यमाञ्चलका किशोर लामालाई पन्छाए । ८४ केजीमुनि एपीएफका भीम तामाङ पहिलो भए । उनले फाइनलमा प्रहरीका विप्लव श्रेष्ठमाथि जित दर्ता गरे । ८४ केजीमाथि प्रहरीका दिवस श्रेष्ठ च्याम्पियन बने । उनले फाइनलमा एपीएफका डिगम्बर पन्तलाई हराए । ५५ केजीमा प्रहरीका सोनाम लामाले उपाधि भिडन्तमा पूर्वाञ्चलका नवीन राईलाई पाखा लगाउदै पहिलो स्थान हात पारे । ६७ केजीमा एपीएफका विजय लामा पहिलो भए । उनले फाइनलमा मध्यपश्चिमाञ्चलका प्रकाश घर्ती मगरलाई पराजित गरे ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, मुख्य प्रायोजक सम्झनाका उर्दिप जोशी, कराते महासंघका अध्यक्ष दावा गुरुङ र महासचिव हरिशरण केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका १ सय ८४ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७