ताप्लेजुङमा माया फर्काउने र विकास ल्याउन सक्ने नेता योगेश


२५ कार्तिक २०७४, शनिबार
Tirtha koirala and yogesh bhattrai

पत्रकारिताका क्षेत्रमा आफ्नो साढे तीन दशक लामो अनुभवबाट पत्रकार जगत्लाई संगठित रूपमै केही दिन सक्छु भन्ने विश्वासका साथ यसै वर्ष भदौमा नेपाल पत्रकार महासंघको निर्वाचनमा सभापति पदमा आफू उम्मेदवार बन्ने निर्णय गरेको थिएँ । नेपालको पत्रकारितामा पञ्चायतकालमा सीमिततामा रहेको मात्र होइन, पश्चिमा परिभाषाको स्वतन्त्र प्रेस तथा राजनीतिक विचारका आधारमा संगठित हुन पाउने अधिकारका निमित्त नेपाली पत्रकारिताले लडाइँ गर्दै आयो ।

Tirtha koirala and yogesh bhattrai

बहुदलीय प्रजातन्त्र मात्र होइन, पछिल्लो कालखण्डमा गणतन्त्रको प्राप्तिपछि पत्रकारिताले अब राजनीतिको ठूलो झोला बोकेर सधैं राजनीतिक दलको कार्यकर्ताजस्तो देखिएर आफ्ना पाठकश्रोता र दर्शकसामु अविश्वसनीय बनिरहनुपर्दैन भन्ने मेरो निष्कर्ष छ । आफ्नो निष्कर्ष कार्यान्वयनका लागि करिब १५ हजार सदस्य भएको नेपाल पत्रकार महासंघ नै प्रभावकारी निकाय बन्न सक्छ र त्यो कामका लागि म नै उपयुक्त उम्मेदवार हुन सक्ने मेरो दाबी थियो । किनभने, मैले पत्रकारितामा छापातर्फ साप्ताहिक, दैनिक, पाक्षिकमा रिपोर्टरदेखि सम्पादकसम्म रेडियो, टेलिभिजन र हाल अनलाइनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छु । नेपाल टेलिभिजन नेपाल वातावरण पत्रकार समूह र नेपाल प्रेस इन्स्टिच्युटजस्ता सम्मानित र प्रतिष्ठित संस्थाको समेत नेतृत्वको अनुभव सम्हालेको छु ।

यिनै दाबीका साथ दलहरूमा आबद्ध पत्रकार संघसंगठनको समर्थन जुटाउन मैले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका सम्बन्धित नेताहरूलाई भेट्नुपर्ने भयो । योगेश भट्टराईसँगको मेरो पूर्ण परिचयसहितको भेट पनि यही बन्न पुग्यो । जसलाई अरू दलका अरू नेताले हत्तपत्त सक्ने रहेनछन् । योगेशले सहजै स्वीकार गर्नु मेरा लागि आश्चर्य नै थियो । यो भेटबाट मैले उहाँको र उहाँ प्रचार विभाग प्रमुख रहेको दलको समर्थन पाएर मात्र यहाँ भनिरहेको छैन । गत वर्ष ताप्लेजुङ पुग्दा पाथीभरादेखि फुङलिङ दोभान, चाँगे, तेल्लाबुङ, तेम्बे, साँघु हुँदै तीनजुरे, मिल्के मात्र होइन, संखुवासभाको नुनढाकी, मादी, लुकुवापोखरी र तेह्रथुमको वसन्तपुरसम्मको पैदलयात्राका क्रममा भेटिएका मानिसहरूले त्यस क्षेत्रको विकासका लागि योगेश भट्टराईप्रति त्यति ठूलो आशा किन व्यक्त गरेका रहेछन् भन्ने मेरो मनको कौतूहलको जवाफ पनि पाएँ । सबैलाई थाहा भएकै कुरा हो योगेश एमालेमा तीन दशकअघिदेखि आबद्ध हुँदै त्यसप्रति निष्ठवान् नेता भइसकेका मानिस हुन् । तर, मेरो पछिल्लो अनुभवले उनी जति दलप्रति प्रतिबद्ध देखिन्छन्, अन्य फरक राजनीतिक विचारको कदर गर्ने, पेसागत धर्म र पेसागत मर्यादालाई पालन गरेर मात्र उन्नति हुन्छ भन्ने कुरालाई खुला रूपमा स्वीकार गर्ने दिल र दिमाग भएका नेता हुनुहुन्छ भन्ने प्रस्ट छ ।

हुन त योगेशजी र मैले तत्कालीन साँघु गाउँ हाल मैवाखोला गाउँपालिका–३ कै नारायणी स्कुलमा प्रारम्भिक शिक्षा लियौं । हाम्रो घर अलि तलमाथि, उमेर अलि कमबेसी । हाम्रो परिचय पनि काठमाडौंमा नै भयो । सामान्य परिचयपछि नै स्थानीय विद्यालयको विकासका लागि होस् वा सडकका लागि वा बिजुलीका लागि अथवा काठमाडौंमा रहेका जिल्लावासीको सहयोगका लागि हरेक विषयमा मलाई घच्घच्याउने योगेशको जाँगर कहिलेकाहीँ आश्चर्यको विषय पनि बन्ने गर्छ । म प्रश्न गर्छु, ‘अब हामी यताकै ज्यादा भइसक्यौं कतिपय व्यावहारिक कुराले मिल्दैन, कति ताप्लेजुङ ताप्लेजुङ भन्ने ?’ तर, योगेशको मन मान्दैन । योगेश र म ताप्लेजुङलाई भौगोलिक र सांस्कृतिक विविधताबीच जातभात नभएको जिल्ला पनि भन्छौं कुनै कुरामा भेदभाव छैन ।

यस्ता कुरा गरिरहँदा योगेशसँगै मलाई पनि मेरा पितापुर्खाले खुनपसिना बगाएको ताप्लेजुङ मेरो जन्मथलो बाल्यकालको प्रिय ताप्लेजुङले फेरि पालम गाउँदै धान नाच्न तानिसक्यो । साँघुको औंसी पूर्णिमामा लाग्ने हाट भर्ने बनाइसक्यो । च्याब्रुङ बजाउँदै खुट्टा उचालेर नाच्ने मात्रै होइन, गाउँघरको बालन र सँगिनीको जागरण ल्याउने रहर लागिसक्यो । यसरी मलाई र मजस्ता कैयौंको मन काठमाडौंबाट आफ्नो जल्लातिर फर्काउने र विकासको लहर ल्याउन जिल्लादेखि केन्द्रसम्म पहुँच राख्ने योगेश निर्वाचित हुन कुनै विचार, वाद, जात, धर्म र वर्णले छेक्नेछैन । किनभने, योगेशलाई मेचीको ताप्लेजुङको माया मात्र होइन, योगेश भट्टराईलाई सीमारक्षक विद्यार्थी नेताका रूपमा अझै पनि बैतडी र दार्चुलाका नेपालीले सम्झन्छन् र सद्भाव राख्छन् । २०५५ सालमा कालापानी सीमारक्षाका लागि नेपाली झन्डा बोक्दै युवा विद्यार्थीको नेतृत्व गरेर उनी त्यहाँ पुगेको अझै सम्झिन्छन् ।

-मिरर मासिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७