८८ केजी सुन तस्करीका मुख्य अभियुक्त छुटे, चालक जेल चलान


२५ कार्तिक २०७४, शनिबार
gold 88

काठमाडौं:काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ। गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ। जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो। तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार गराउने गर्थे। gold 88

अदालतले मुख्य अभियुक्त तामाङसहित बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडूलाई धरौटीमा छाड्ने आदेश दिएको हो। प्रहरी अनुसन्धान प्रतिवेदनको ठीकविपरीत अदालतबाट आदेश आएको छ। प्रहरीले घटनामा संलग्न भनिएका चालकहरू निर्दोष देखिएको जनाएको थियो। ४६ करोड बिगोदाबी भएको मुद्दामा दुईजनालाई चार–चार लाख तथा अन्य दुईजनालाई दुईरदुई लाख रुपैयाँ मात्र धरौटी मागिएको छ।

उनीहरूसहित दिनखर सालुखे र नन्दकुमार मर्गलेलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद शर्माले बताए। प्रहरी अनुसन्धानमा सुन तस्करीमा अग्रवाल र शाक्यको मुख्य भूमिका देखिएको थियो। तर, उनीहरू सामान्य धरौटीमै छुटेका छन्।

अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएका तामाङ सुन तस्करी मुद्दामै हत्यामा समेत संलग्न व्यक्ति हुन्। १४ असोजमा स्वयम्भूमा तस्करीको ६ किलो सुन लुकाएको आरोपमा रसुवाका गगन तामाङको हत्या भएको थियो। हत्यामा संलग्नमध्ये एक लाम्पा ग्लाजेन तामाङ ८८ किलो सुन तस्करीमा समेत संलग्न रहेको खुलेपछि महानगरीय प्रहरी परिसरले उनलाई पनि प्रतिवादी बनाएको थियो।

प्रहरी अनुसन्धान एउटा, अदालतको आदेश अर्को

प्रहरीले चालकहरू निर्दोष देखिएको भन्दै १५ कात्तिकमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिल कार्यालयले उनीहरूलाई छाड्न नमिल्ने भन्दै चालकसहित ११ जनाविरुद्ध गत १९ कात्तिकमा जिल्ला अदालतमा संगठित अपराध मुद्दा दर्ता गरेको थियो। प्रहरी अनुसन्धानमा निर्दोष देखिएका तीनैजना चालकलाई अदालतले भने जेल चलानको आदेश दिएको छ। अभियुक्तविरुद्ध ४६ करोड ७० लाख १६ हजार रुपैयाँ बिगो दाबी गरी संगठित अपराध मुद्दा चलाउन सिफारिस गरिएको थियो। बरामद भएको ८८ किलो सुनको मूल्यलाई बिगो बनाइएको हो। ११ अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार पाँच वर्ष कैद सजाय माग गरिएको थियो। तर, प्रहरी अनुसन्धानको निष्कर्षविपरीत अदालतबाट आदेश भएको छ।

मुख्य तस्कर फरार

तस्करीमा संलग्न मुख्य चार तस्कर फरार छन्। चिनियाँ नागरिक पेन बेइमिङ र उनकी श्रीमती याङ तथा अर्का चिनियाँ नागरिक झोङ होङ ल्याङ मुख्य तस्कर भएको प्रहरीले जनाएको छ। त्यस्तै, उनीहरूलाई सहयोग गर्ने रसुवाका हिस्से स्याङबा पनि फरार छन्। उनीहरू चारैजनाविरुद्ध मुद्दा दायर भएको छ।

अर्का मुख्य तस्कर मानिएका नेपाल केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङसमेत धरौटीमा छुटेर चालकहरू जेल चलान भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू चकित भएका छन्। पक्राउ परेकामध्ये दाम्पा र दिलीप रसुवागढी नाकामा गाडी चलाउने काम गर्दै आएका थिए। नाकापारि रसुवाका स्थानीय मात्र जान पाउने भएकाले उनीहरूले गाडी वारपार गराउने काम गर्दै आएका थिए। एक(एक हजार रुपैयाँ लिएर उनीहरूले गाडी वारपार गराएका थिए। सोही आधारमा उनीहरूलाई तस्करीमा मिलेमतो रहेको भन्दै मुद्दा चलाउन नमिल्ने प्रहरीको राय थियो। ती चालकहरूलाई सशस्त्र प्रहरीकै कर्मचारीले चिनियाँ तस्करसँग चिनजान गराइदिएका थिए। त्यतिवेला डिउटीमा रहेका सशस्त्र प्रहरीलाई पनि काठमाडौं परिसरले सोधुपुछ गरे पनि मुद्दा चलाएन। जबकी उनीहरूले ती चालकहरूलाई आफूहरूले नै चिनियाँसँग भेटघाट गराएको बताएका थिए।

१९ भदौमा महानगरीय अपराध महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन बरामद गरेको थियो। पक्राउ परेकाहरूलाई संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरेको हो।

प्रहरीले चालक मनोज अधिकारीलाई ८८ केजी सुनसहित क्षेत्रपाटीबाट पक्राउ गरेको थियो। उनलाई बा१७च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पुर्‍याउन लगाइएको थियो। अपराध महाशाखा र काठमाडौं परिसरले करिब दुई महिना लगाएर अनुसन्धान गर्ने क्रममा तस्करीमा संलग्न केही ठूला व्यक्तिलाई पनि पक्राउ गरेको थियो। तर, चिनियाँहरू भने भाग्न सफल भएका थिए। चिनियाँ नागरिक पेन बेइमिङ र उनकी श्रीमती याङ केरुङ नाका भएरै भागेका थिए। नेताहरूसँग समेत उनीहरूको सम्बन्ध भएकाले सजिलै भागेको आशंका गरिएको छ।यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७