प्रधानमन्त्रीलाई नेपालको संविधान राम्रोसँग पढ्न आग्रह गर्छुः रामवीर मानन्धर


२५ कार्तिक २०७४, शनिबार
Ram bir manandar

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले नेपालमा समाजवादी व्यवस्था लागु गर्ने हो भने वामपन्थीहरुको सत्ता अनिवार्य भएको बताएका छन् । वाम प्रगतिशील गठबन्धन काठमाडौँ क्षेत्र नम्बर–७ निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो ।

Ram bir manandar
‘कम्युनिष्टहरुले सत्ता सञ्चालन गर्न सकेनन् भने यहाँ दलाल पुजिपतिहरुको हैकम चल्ने छ,’ उनले भने, ‘यो निर्वाचन पुँजिपति वर्गले राज्य सञ्चालन गर्ने कि श्रमजिवी वर्गको हितमा काम गर्नेले भन्ने बिचको अर्थात् वर्गसंघर्षको लडाइँ पनि हो ।’
उनले यो वर्ग संघर्षको लडाइँ कार्यकर्तालाई हातमा बन्दुक नबोकाई लडिरहेको पनि बताए । उनले राष्ट्रवादी देशभक्त जति सबै एक भएर अधिनायकवादलाई परास्त गरेको खण्डमा देश सम्मुन्तको बाटोतर्फ अघि बढ्ने पनि बताए । ‘प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अन्य पार्टीसँग लडेर वाम प्रगतिशील समूहले अत्याधिक बहुमत ल्याएर शासन गर्ने छ,’ उनले भने, ‘ यसमा कसैले शङ्का नगरे हुन्छ ।’
उनले उक्त कुरा सुन्दा चुनौतीपूर्ण भए पनि सम्भव रहेको भन्दै यसमा विश्वस्त हुन कार्यकर्ताहरूलाई आग्रह गरे । पछिल्लो समयमा देशमा भ्रष्टाचार बढेको भन्दै वाम गठबन्धनको सरकार आएको खण्डमा त्यो अन्त्य हुने पनि धारणा व्यक्त गरे । कार्यक्रममा क्षेत्र नम्बर–सातका प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धरले केही दिनमा नै वाम गठबन्धन विजयी भएपछि ऐतिहासिक सरकार बन्ने र त्यो सरकारले पाँच वर्षमा देशको मुहार फेर्ने दाबी गरे ।
उनले वाम एकताको सबै भन्दा बढी प्रचारक कांग्रेस नै भएको पनि दाबी गरे । ‘अहिले काँग्रेसले वामपन्थीहरुले जिते भने नेपालमा चीन वा उत्तरकोरियाको शासन लागु हुन्छ भनेर हौवा फैलाएको छ,’ उनले भने, ‘नेपाल नेपाल नै बन्छ, दक्षिणपन्थीहरुको स्वभाव नै गलत प्रचार गर्ने हो । कम्युनिष्टहरुले राज्य सञ्चालन गर्न पाए भने देशले मुहार फेर्छ भन्ने सन्देश २०५१ सालमा एमालेले दिइसकेको छ ।’

उनले २०५१ सालमा नौ महिना कम्युनिस्टले शासन चलाउँदा जनताले ठुलो आनन्दको महसुस गर्न पाएको पनि दाबी गरे । ‘आर्थिक समृद्धिको चरमचुलीमा पुगेको चीनजस्तो नेपाल बन्न सक्नु ठुलो कुरा हो,’ उनले भने, ‘म प्रधानमन्त्रीजीलाई नेपालको संविधान राम्रोसँग पढ्न आग्रह गर्छु । हामीले संविधानलाई कार्यान्वयन गर्ने हो । संविधानको प्रस्थावनामा लेखिएको कुरा राम्रोसँग पढ्न म प्रधानमन्त्रीलाई पुनः आग्रह गर्न चाहन्छु ।’
उनले हल्ला गर्दैमा केही पनि नहुने दाबी पनि गरे । ‘सयवर्षपछि साम्यवाद ल्याउन सकिएला तर तत्काल यो संविधान रहेसम्म साम्यवाद सम्भव छैन,’ उनले भने ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७