म्यानपावर कम्पनीलाई सरकारले दियो ११ बुँदे निर्देशन


२२ भाद्र २०७५, शुक्रबार
वैदेशिक रोजगार विभाग


काठमाडौं,२२ भदौ । सरकारले म्यानपावर कम्पनीहरुका लागि ११ बुँदे निर्देशन जारी गरेको छ ।
वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायलाई मर्यादित र ठगीरहित बनाउन भन्दै विभागले ११ बुँदे परिपत्र गरेको छ ।

अहिले वैदेशिक रोजगारीमा नाममा विभिन्न प्रलोभन देखाएर म्यानपावर कम्पनीले कामदारलाई ठग्दै आएका छन् । सरकारले बनाएको निःशुल्क भिसा र टिकेटको नियम लागू भएको छैन । यस्तो अवस्थामा म्यानपावर कम्पनीलाई पारदर्शी, उत्तरदायी र मर्यादित बनाउन विभागले विभिन्न निर्देशनसहित पत्र काटेको छ ।

वैदेशिक रोजगारीमा पठाउँदा कामदारहरूको व्यवस्थित अभिलेख राख्न भनेको छ । कामदारसँग पासपोर्ट लिँदा कति समयसम्म म्यानपावरमा रहने हो भन्ने कुरा खुलाउनुपर्ने नियम ल्याइएको छ । त्यसको जानकारी भर्पाइ गरेर कामदारलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।

अहिले सुरुआतमै आधाभन्दा बढी शुल्क लिने र महिनौं पासपोर्ट होल्ड गरेर कामदार ठग्ने क्रम उच्च छ । त्यसलाई नियन्त्रण गर्न यस्तो निर्देशन जारी गरेको विभागका एक अधिकारीले बताए ।

म्यानपावरले अब श्रमका लागि विदेश पठाउन लागेका कामदारको अभिलेख सहजै प्राप्त हुने गरी राख्नुपर्ने छ । सबै गतिविधि वेबसाइट बनाएर अपडेट गर्नुपर्ने, नागरिक वडापत्र राख्नुपर्ने, सूचनापाटी तथा उजुरीपेटिका राख्नुपर्ने लगायतका नियम पनि विभागले बनाएको छ ।

म्यानपावरका कर्मचारीलाई कार्यालयमा परिचयपत्रसहित काम गराउनुपर्ने, फोटोसहित कर्मचारीको विवरण देखिने ठाउँमा राख्नुपर्ने, भिजिटङ कार्डमा कम्पनीको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने लगायतका नियम पनि बनाइएको छ ।

कम्पनीमा अनाधिकृत मान्छेहरु पनि नराख्न निर्देशनमा भनिएको छ । अनुगमनमा नियमहरु मिचिएको भेटिए कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७