‘शीर्ष नेतालाई मात्र जिताउन फोरम र राजपाबीचको चुनावी तालमेल’


२७ कार्तिक २०७४, सोमबार
Upendra yadav and mahanta thakur

काठमाडौं: सङ्घीय समाजवादी फोरम (ससफो) नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) ले प्रदेश २ मा मात्र चुनावी तालमेल गरेको भन्दै अन्य प्रदेशका नेताले असन्तुष्टि व्यक्त गरेका छन्।Upendra yadav and mahanta thakur

पार्टीका शीर्ष नेता आफू जित्ने सुनिश्चितताका लागि प्रदेश २ मा मात्र तालमेल गरेको अन्य प्रदेशका नेताहरूले आरोप लगाउनुभएको छ । प्रदेश २ मा प्रतिनिधि सभाका ३२ वटा सिटमध्ये १७ वटा फोरम नेपाल र १५ वटा राजपा नेपालले लिएका छन् ।

त्यस्तै, प्रदेश सभाका ६४ सिटमध्ये ३१ राजपा नेपाल र ३३ वटा फोरम नेपालले लिएका छन् । सुरक्षित स्थान खोज्दै मधेसवादी दलका अध्यक्षले प्रदेश २ मा नै उम्मेदवारी दिएका छन्। प्रदेश १ सुनसरीका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी २ बाट चुनाव लड्दै छन्।

अध्यक्ष मण्डलका सदस्यहरू राजकिशोर यादव सिरहा ४, राजेन्द्र महतो धनुषा ३, शरतसिंह भण्डारी महोत्तरी १, महन्थ ठाकुर महोत्तरी ३, महेन्द्र राय यादव सर्लाही २ र अनिल कुमार झा रौतहट १ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । स्थानीय तहको चुनावमा आएको मतका आधारमा सिट बाँडफाँड गरेका कारणले राजपा नेपालले अन्य प्रदेशमा फोरम नेपालसँग तालमेल नगरेको हो । राजपाले प्रदेश २ बाहेक अन्य प्रदेशको स्थानीय तहको चुनावमा भाग लिएको थिएन ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफ्नो पार्टीले अरू प्रदेशको स्थानीय तहको चुनावमा भाग नलिएको र त्यो मापदण्ड अन्य क्षेत्रमा नरहेकाले तालमेल नगरेको बताए।

प्रदेश २ मा दुई दलबीच चुनावी तालमेल भए पनि सोही दलका नेताले विद्रोही उम्मेदवारी दिएका कारण नेताहरू तनावमा देखिएका छन्।

ससफो नेपालका अध्यक्ष यादवविरुद्ध राजपा नेपालका सहमहामन्त्री जेपी ठाकुरले बागी उम्मेदवारी दिएका छन् भने महन्थ ठाकुरविरुद्ध राजपा नेपालकै चन्देश्वर झा, अनिलकुमार झाविरुद्ध फोरम नेपालका बबन सिंहले उम्मेदवारी दिएका छन्। हालसम्म उनीहरूले उम्मेदवारी फिर्ता लिएका छैनन्।

यी दुई दलका अन्य नेताविरुद्ध पनि बागी उम्मेदवारी परेका छन् । यिनै बागीका कारण कतिपय नेताको हारजीत हुनसक्छ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बागी उम्मेदवारलाई फिर्ता लिन निर्देशन दिएका छन् तर कार्यान्वयन हुन सकेको छैन ।

सप्तरीमा फोरम नेपाल र राजपा नेपालले दुई–दुईवटा निर्वाचन क्षेत्र लिएका छन् भने सिरहा र धनुषामा चाररचारमध्ये फोरम नेपालले तीन–तीन र राजपा नेपाललाई एक–एक क्षेत्रमा सहमति भएको छ । महोत्तरीमा यी दुई दलले दुईरदुईवटा लिएका छन् । सर्लाही र रौतहटमा फोरम नेपालले एक–एकवटा क्षेत्र लिएको छ । बारामा आधाआधा बाँडेका छन् भने पर्सामा फोरम नेपालले तीनवटा लिएका छन् भने राजपा नेपालले एउटामा मात्र चित्त बुझाएका छन् । यी सबै सिट बाँडफाँट स्थानीय तहमा आएको मतको आधारमा गरिएको राजपा नेपालका महासचिव केशव झाले जानकारी गराए।

राजपा नेपालका उपाध्यक्षहरू सर्वेन्द्रनाथ शुक्ला, गोविन्द चौधरी, नरसिंह चौधरी र फोरम नेपालका इस्तियाक राइन, मङ्गलप्रसाद गुप्तालगायतका नेताहरू पश्चिम मधेसबाट उम्मेदवारी दिएका छन्। उनीहरूले शीर्ष नेताहरू आफू मात्र जित्नका लागि प्रदेश दुईमा चुनावी तालमेल गरेको आरोप लगाए।

कपिलवस्तु–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका राजपा नेपालका उपाध्यक्ष नरसिंह चौधरीले अध्यक्ष मण्डलमा पश्चिमका कुनै नेता भएको भए यता पनि तालमेल हुन्थ्यो भनी टिप्पणी गरे। उनले प्रदेश २ भन्दा राम्रो सङ्गठन पश्चिममा रहेको दाबी गर्दै तालमेल नभए पनि आफूहरू चुनाव जित्ने दाबी गरे।

सप्तरीसँगै रहेको प्रदेश १ को सुनसरीमा पनि तालमेल भएको छैन । सुनसरीमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ससफोले ठाउँ छोडेको उदाहरण दिँदै बरु काँग्रेसलाई क्षेत्र छाडेको छ तर राजपा नेपालसँग तालमेल नगरेको गुनासो गरिएको छ। सुनसरीमा राजपा नेपालले चारवटै क्षेत्रमा र फोरम नेपालले तीन ठाउँमा उम्मेदवारी दिएको छ । सुनसरीका राजपा नेपालका केन्द्रीय प्रवक्ता सन्तोष मेहताले सबै ठाउँमा तालमेल गर्ने सहमति भएकोमा छलफल चालिरहेकै बेला फोरम नेपालले उम्मेदवारी घोषणा गरेका कारण अन्य प्रदेशमा तालमेल नभएको दाबी गरे तर फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादव ९मोरङ० ले अरू ठाउँमा के भयो थाह नभएको तर मोरङमा तालमेल गरौँ भनी बोलाउँदा राजपा नेपालका नेताहरू बैठकमा समेत नआएको दाबी गरे।

राजपा नेपालका उपाध्यक्ष सूर्यनारायण गणेशले झापामा तालमेल गर्न केन्द्रबाट कुनै निर्देशन वा सहमति नभए पनि यहाँ स्थानीय स्तरमा तालमेल गरेको बताए। नवलपरासी २ मा पनि स्थानीय स्तरमा तालमेल भएको राजपा नेपालका गोविन्द चौधरीले बताए। केन्द्रबाट पूरै जिल्लामा तालमेल गरेको भए थुप्रै जित्ने सम्भावना हुनसक्थ्यो भन्दै उनले त्यस्तो नगरेको गुनासो गरे । उनले भने, पार्टीका ठूला नेताले आफूलाई सुरक्षित राख्न मात्र तालमेल गर्नुभएको हो, अरूको बारेमा केही सोचिएको छैन । ’ यो खबर शुरेश कुमार यादवले आजको गोरखापत्रमा लेखेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७