विद्यार्थीमाथि हातपात गर्ने प्रधानाध्यापकसहित दुई निलम्बित


२५ भाद्र २०७५, सोमबार
teacher

नवलपरासी, २५ भदौ । विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् ।

teacher

विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिएका छन् । प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीले केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ ।

विद्यार्थीले दोषी शिक्षकद्वयलाई कार्वाहीको माग राख्दै सुनबल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् । सुनबल नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको दुई साता नपुग्दै शिक्षकद्वारा विद्यार्थीमाथि दुव्र्यवहार र हातपात भएको घटना बाहिर आएपछि यस घटनाप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको थियो ।

गत मंगलबार कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरक–फरक समुदाय र सम्प्रदायको उदाहरण दिंदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए ।

शिक्षक तिवारीले अध्यापनको क्रममा मधेशलाई लक्षित गरी ठेस पुग्ने शब्दको प्रयोग गरेको जनाउँदै विद्यार्थीले तत्कालै विरोध जनाएपछि शिक्षक तिवारी र प्रधानाध्यापक पाण्डेले आफूहरुलाई दुव्र्यवहार र हातपात गरेको जनाउँदै शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीद्वारा दिइएको उजुरीमा उल्लेख छ । तर यसबारे विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गरेका छन् ।

यसबारे शिक्षा विकास तथा समन्वय एकाइमा समेत विद्यार्थीले उजुरी दर्ता गरेपछि तत्काल समस्या समाधान गर्न सुनबल नगरपालिकामा परिपत्र गरिसकिएको एकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिए । विद्यार्थीले दोषी भनिएका शिक्षकमाथि कार्वाही हुनुपर्ने माग गर्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७