नेपाल चीन ऊर्जा संयन्त्र बैठक असोजमा


२५ भाद्र २०७५, सोमबार
file photo

काठमाडौं, २५ भदौ । नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदान–प्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ ।

file photo

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको छ । मन्त्रालयका अनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्विपक्षीय बैठक काठमाडौँमा टुङ्गो लागेको छ । नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमति जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत असार ५ देखि १० गतेसम्म भएको चीन भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनका ऊर्जामन्त्री नुर बेक्रीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त समझदारी अनुसार दुवै देशले ऊर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमति भएको थियो । नेपालले उक्त सम्झौताअनुसार नै सात सदस्यीय संयन्त्र निर्माण गरेको छ । त्यसको सहअध्यक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय रहेका छन् ।

समितिमा ऊर्जा महाशाखा हेर्ने सहसचिव, ऊर्जाकै कानून हेर्ने सहसचिव, परराष्ट्र मन्त्रालयको चीन महाशाखा हेर्ने सहसचिव, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहने र मन्त्रालयकै सिनियर डिभिजनल इञ्जिनियर सदस्य सचिव रहेका छन् ।

ऊर्जामन्त्री पुनले चीनसँग भएका सहमतिलाई अघि बढाउन संयन्त्रको बैठक बोलाउने निर्णय भएको जानकारी दिए । चिनियाँ पक्षले बैठकमा सहभागिता जनाउनुअघि एजेण्डा पठाउन नेपाली पक्षसँग आग्रह गरेको छ ।

ऊर्जामन्त्री पुनसहित ऊर्जा मन्त्रालयका उच्च अधिकारी सम्मिलित बैठकले चीनलाई पठाउने कार्यसूची समेत तय गरिसकेको छ । बैठकमा नेपाल–चीनबीचको अन्तरदेशीय प्रशारण लाइन र ग्रिड कनेक्सन, दुई देशबीचमा संयुक्त रुपमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत् परियोजना र ऊर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल गर्ने कार्यसूची छ । यस्तै केही महत्वपूर्ण प्रशारण लाइन तथा जलविद्युत् आयोजनाका बारेमा समेत संयन्त्रमा छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७