पार्टी कार्यालय जोगाउन महामन्त्री उपहार


२६ भाद्र २०७५, मंगलवार
mahanta thakur and binod singh

काठमाडौ, २६ भदौ । राष्ट्रिय जनता पार्टीले पार्टी कार्यालय जोगाउन महामन्त्री उपहार दिएको छ । सांसद नबनाएको आक्रोसमा राजपाको पार्टी कार्यालय तोडफोड गर्ने विनोद सिंहलाई राजपाले महामन्त्री मनोनीत गरेको हो ।

अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले पार्टी कार्यालय जोगाउन सिंहलाई महामन्त्रीमा मनोनीत गरेको राजपाकै एक नेताले बताएका छन् ।

मधेशी निजामती कर्मचारी मंचबाट राजीनामा दिएर राजपाको प्रदेश समानुपातिक सूचीमा राखिए पनि सिंहलाई सांसद नबनाएपछि पार्टीसँग असन्तुष्ट मन्चका कार्यकर्ताले २०७४ पुस १४ मा कार्यालय तोडफोड गरेका थिए ।

कार्यालय तोडफोड गरेपछि मंच र राजपा नेतृत्वबीच सम्बन्ध तिक्त थियो । यसबीचमा मंचले राजपा र संघीय समाजवादी दुवै पार्टी मधेशवादी भएकाले दुवैसँग बराबरीको सम्बन्ध राख्ने धारणा राख्दैआएको छ ।

राजपाको भातृसंगठन जस्तो देखिएकाले तत्काल पार्टी कार्यालय खाली गराउनुपर्ने निष्कर्षमा मंच पुगिसकेको थियो । मंचले पार्टी कार्यालय खाली गराउने सुईको पाउनासाथ सिंहलाई महामन्त्रीमा मनोनीत गरिएको छ ।

उनको मनोनयनलाई पार्टी कार्यालय जोगाउने राजपा अध्यक्ष ठाकुरको चालका रुपमा लिइएको छ । महामन्त्री मनोनीत भइसकेपछि सिंहले पार्टी कार्यालयबाट राजपालाई हटाउनबाट तत्काल त रोकेका छन् ।

मंचलाई सरकारले दिएको बबरमहलको उक्त जग्गामा निर्मित भवनमा नक्सापास नै नगरी भर्खरै २ तल्ला थप निर्माण गरिएको छ । काठमाडौै महानगरपालिकाको मापदण्डअनुसार तीन तल्ला पनि बनाउन नपाउने भए पनि हालै उक्त भवन पाँच तल्ला बनाइएको छ ।

तीन तल्ला पहिल्यै बनेको उक्त भवनमा २ तल्ला थप गर्ने क्रममा ५० लाख रुपैयाँ खर्च भएको स्रोतले बताएको छ । २ तल्ला थपको ५० लाख रुपैयाँ खर्च राजपा अध्यक्ष महन्थ ठाकुरले जुटाएको एकथरीले भन्ने गरेका छन् भने अर्काथरीले मंचले नै बनाएको दाबी गर्दैआएका छन् ।

उता, संघीय निजामती सेवा ऐन मन्त्रिपरिषदमा छ । उक्त ऐनमा राजनीतिक पार्टी निकट ट्रेड युनियन खारेज गर्ने उल्लेख छ । यदि राजनीतिक दल निकट ट्रेड युनियन खारेज भएमा मंच पनि खारेज हुनेछ । र, उक्त भवन स्वतः राष्ट्रियकरण हुनेछ । त्यो बेलामा राजपाको कार्यालय उक्त भवनमा राख्न कानुनतः मिल्दैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७