सवारी साधन विलासी बस्तु हो सहुलियत कर्जा पाइँदैन : अर्थमन्त्री


२६ भाद्र २०७५, मंगलवार
Finance Minister yubaraj 1

काठमाडौं, २६ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् ।

Finance Minister yubaraj
अर्थमन्त्री डा. युवराज खतिवडा

नेपाल अटो मोबाइल्स डिलर्स संघको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उनले सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा जोड दिए ।

देशमा नयाँ प्रकारका सवारी साधन आयात भइरहेको र धेरै सवारी साधन बिक्री हुँदा राजश्व संकलनमा पनि वृद्धि हुने जानकारी दिँदै उनले भने, ‘सवारी साधन अहिले पनि विलासीे वस्तु हो, यसमा लाग्ने भन्सारका साथै अन्य कर छुट गर्न सकिंदैन, यसबाट प्राप्त हुने रकमले सडक, पूर्वाधार तथा सामाजिक विकासका परियोजना सञ्चालन गर्नुपर्छ ।’ विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयात तथा कर भने छुट गर्न सकिने उनको भनाइ थियो ।

मन्त्री खतिवडाले सवारी साधनलाई आवश्यक पर्ने विभिन्न पार्टस् पूर्जा स्वदेशमै उत्पादन गर्ने गोरखकाली रबर उद्योग जस्ता संस्थालाई सहयोग र सहुलियत उपलब्ध गराइने बताउनुभयो । लगानीसम्बन्धी कानून निर्माण अन्तिम चरणमा रहेको बताउँदै उनले दुई तिहाइ राजश्व देशको आन्तरिक स्रोतबाट संकलनबाट हुन सकेमा मात्र आयातित वस्तुमा कायम रहेको करमा केही कमी गर्न सकिने जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारको क्षेत्र वृद्धि गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले निजी क्षेत्रसँग समन्वय गर्नुपर्नेमा जोड दिइन् ।

सोही संघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे ठूला सवारी साधन आयातले देशमा व्यापार घाटा बढ्दै गएकाले स्वदेशमा नै यसको उत्पादन हुनसक्ने वातावरण तयार गर्नुपर्ने बताए । नेपाल अटो मोबाइल्स डिलर्स संघका सदस्य निराकार श्रेष्ठले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पुर्‍याएकोे जानकारी दिँदै यसमा लाग्दै आएको २५६ प्रतिशत करमा पुनर्विचार गर्नुपर्ने माग गरे ।

यही भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यसैबीच टिभीएस मोटर कम्पनीले सुपर प्रिमियम मोटरसाइकल ‘टिभीएस अपाचे आर आर ३१०’ आज सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७