पढाइ नेपालमा, प्रमाणपत्र भारतमा


२८ भाद्र २०७५, बिहीबार
book

कुश्मा, २८ भदौ । जिल्लाको एक मात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ ।

8f2e7f98 3391 4680 b969 7ad4375e896f

संस्कृत भाषा, शुक्ल, यजुर्वेद, ब्याकरण, वेद, आचारसंहिता, कर्मकाण्ड, अमरकोश, श्रीमद्भागवत गीतालगायतको उपल्लो तहले अध्ययन गर्ने पुस्तकको अध्ययन गरिँदै आएको भएता पनि उपल्लो तहको प्रमाणपत्र यहाँ नपाइने भएकाले भारतका विभिन्न विद्यालय धाउनुपरेको हो ।

२०५५ मा स्थापना भएको पाठशालालाई २०५८ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतले प्राथमिक तह (कक्षा १–५) सम्मको मान्यता स्वीकृत दिएको थियो भने २०६९ देखि कक्षा ६ को स्वीकृत प्रदान गरेको थियो । तर पाठशालामा हाल कक्षा ४, ५ र ६ को मात्र पढाइ सञ्चालन हुने गरेको छ ।

जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको एकमात्र संस्कृत विद्यालयप्रति तत्कालीन जिल्ला शिक्षा कार्यालयअनुसार भएकै कारण उपल्लो कक्षाको स्वीकृति दिन आनाकानी भएको स्थानीयको गुनासो रहेको छ ।

‘कक्षा १० सम्मको अनुमति मागेका थियौँ तर कार्यालयले दिन आनाकानी र बहाना मात्र गरिरह्यो’, कुश्मा–५ निवासी कमलनाथ पोख्रेलले भने, ‘जिल्लाको गहनाका रुपमा रहेको संस्कृत पाठशालालाई स्तरोन्नति गर्ने, भौतिक पूर्वाधारमा ध्यान दिनसक्ने हो भने संस्कृत पठनपाठनमा रुची भएका विद्यार्थी समेत बढ्ने थिए ।’

‘कक्षा १० सम्मको अनुमति मागेको भए पनि बल्लतल्ल कक्षा ६ सम्म अनुमति पाइएको छ’, संस्कृत पाठशालाका गुरु पद्मराम उपाध्यायले भने, ‘पूराना शिलालेख, ऐतिहासिक दस्तावेज समेत संस्कृत भाषामा नै हुने भएकाले संस्कृत शिक्षाका लागि राज्य उदासीन हुनु हुँदैन ।’

उनले थपे, ‘नेपाली भाषा, हिन्दी भाषा समेत संस्कृत भाषासँग परिपूरक छन् । त्यसैले सबै भाषाको जगेर्ना गर्ने बेला भइरहेको र अत्यावश्यक भाषालाई संरक्षण गर्नु राज्यको दायित्व हो ।’

राज्यले मातृभाषालाई मान्यता दिने र संरक्षण गर्ने भन्दै आएको भए पनि माओवादी द्वन्द्वकालदेखि उपेक्षा गरिंदै आएको आरोप लाग्दै आएको छ । ‘संस्कृत विषयको पठनपाठन र शिक्षालाई जोगाउनेतर्फ राज्यनै उदासीन रहेकाले विद्यार्थीले दुःख झेल्नु परेको स्थानीय एकता युवा क्लबका निवर्तमान अध्यक्ष अच्युत तिवारीले बताए ।

उनले विद्यालयमा संस्कृत शिक्षा अनिवार्य गर्न र जिल्ला जिल्लामा रहेका संस्कृत पाठशालाको संरक्षण गर्नसके मात्र इतिहासको संरक्षण हुने जिकिर गरे । हाल उक्त पाठशालामा चार शिक्षक र २६ विद्यार्थी रहेका छन् । अहिले संस्कृत शिक्षाका अलवा अंग्र्रेजी, गणित, सामाजिक र नेपाली भाषा समेत विद्यालयमा पठाइने गरेको विद्यालयका गुरु (प्रधानाध्यापक) पद्मराम उपाध्यायले जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७