विश्वकै धनी बेजोसले परोपकारी कार्यमा दुई अर्ब डलर सहयोग गर्ने


२९ भाद्र २०७५, शुक्रबार
Jeef bejos billion in value last year

एएफपी
वासिङ्टन, २९ भदौ । विश्वकै सर्वा्धिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन् ।

बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गरी सुझाव माग गरेको थियो । उनीसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ ।

बेजोस र उनकी श्रीमती म्याकेन्जीले निर्माण गर्नुभएको उक्त कोषको नाम ‘बेजोस डे वान फन्ड’ राखिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बेजोसले मुख्यतः दुईवटा क्षेत्रमा कोषले कार्य गर्ने जानकारी दिए ।

‘पहिलो, घरबारविहीन परिवारलाई मद्दत गर्नु, र दोस्रो, न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत नयाँ, गैरनाफामूलक सञ्जाललाई बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्नु ।’ भएको बताएका छन् ।

बेजोसले दुई अर्ब डलर केबल सुरुआत भएको र यसमा रकम बढाउँदै लैजाने बताउनुभयो । ‘मैले सानो प्रयत्नबाट पनि ठूलो काम भएको पाएको छु र यस्तो देख्दा म उत्साहित भएको छु । मेरो कोषले पनि त्यही अपेक्षा राखेको छ ।’

घरबारविहीनका सन्दर्भमा कोषले अति जरुरीमा परेका परिवारका लागि मिहिनेतसाथ दिनरात काम गरिरहेका संस्थाहरुलाई सहयोग गर्ने बेजोसले बताए ।

उनले स्कुल जान नपाएका साना बालबच्चाका लागि पूर्ण छात्रवृत्ति सहितको सुविधा उपलब्ध गराउन कोषले एक वृहत सञ्जालमार्फत काम गर्ने स्पष्ट गरे ।

अमेजनको कार्यशैली झैं प्रत्येक बालबालिका स्कुलको एउटा ग्राहक हुनेछ, बेजोसले भने ।

बेजोसले गत वर्ष ट्वीटरमार्फत गरिएको अनुरोध बमोजिम प्राप्त हजारौं नवीन धारणाहरुमध्येबाट यी दुई क्षेत्र पहिचान गरको हो ।

सन् १९९४ मा अनलाइन पुस्तक बिक्रीबाट सुरु गरेको बेजोसको अमेजन कम्पनीले अहिले विश्वव्यापी प्रभाव सिर्जना गरेको छ । यो कम्पनीले अहिले भिडियो र म्युजिक स्ट्रिमिङका साथै क्लाउड कम्प्युटिङ र अरु नयाँनयाँ सेवा थप गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७