ओली सरकारको निर्णय : सरकारी खर्चले विदेशमा उपचार गर्न नपाउने


२९ भाद्र २०७५, शुक्रबार
public health act1 ZR3ReYYZEw

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केशी शर्मा ओली नेतृत्वको सरकारले पछिल्लो समय अर्को एक राम्रो काम गरेको छ । 

public health act1 ZR3ReYYZEw

ओली सरकारले पहुँचको भरमा करोडौँ सरकारी खर्चमा विदेशमा उपचार गराउने प्रवृत्ति रोक्ने गरी नयाँ निर्णय गरेको छ । संसदले शुक्रबार विदेशमा गरिने उपचार खर्च सरकारले नबेहोर्ने प्रावधानसहितको जनस्वास्थ्य विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । यो सँगै अबका दिनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र पहुँचवाला नेताहरुले विदेशमा करोडौँ सरकारी खर्चमा गर्ने उपचार अब बन्द हुने भएको हो ।

नेपालको संविधानमा स्वास्थ्यलाई मौलिक हक अन्तर्गत राखिएपछि त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि सरकारले नयाँ कानुन निर्माण गरेको हो । शुक्रबार संसदबाट सर्वसम्मतिले पारित भएको यो ऐन राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुने भएको छ।

संसदबाट पारित भएको जनस्वास्थ्य विधेयकमा प्रष्टसँग कुनै पनि व्यक्तिले विदेशमा गर्ने उपचार खर्च नब्यहोर्ने उल्लेख गरिएको छ । यो विधेयकमा ‘प्रचलित कानुनमा जे कुरा लेखिए पनि कुनै व्यक्तिले विदेशमा उपचार गर्नुपर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट व्यहोर्ने छैन,’भन्ने उल्लेख गरिएको छ।

यो विधेयक पास भएसँगै अब नेपाल बाहिर उपचार गर्न जाने नेता, मन्त्री, प्रधानमन्त्री तथा कर्मचारी जो कोहीले पनि आफैँले व्यक्तिगत खर्च गर्नुपर्ने भएको छ । यो विधेयकलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार पारित गरेको थियो । सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक समितिले पारित गरेको थियो ।

यसअघि जनस्वास्थ्य विधेयकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विदेशमा उपचार गर्न जाने जोसुकै भए पनि सरकारका कुनै पनि निकायबाट उपचार खर्च उपलब्ध गराउने छैन भन्ने संशोधन हालेका थिए। थापाको त्यही प्रस्तावलाई केही प्रष्ट बनाउँदै संसदीय समितिले अघि बढाएको थियो । अब संसदबाट समेत पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यसले कानुनको रुप लिनेछ ।

कांग्रेस नेता थापा स्वास्थ्य मन्त्री भएका बेला सरकारी खर्चमा विदेश जाने क्रमलाई रोक्न खोजिएको थियो । तर पनि सरकारले विशिष्ठ र पहुँचवालालाई विभिन्न बहानामा उपचार खर्च दिन छाडेको थिएन ।

थापाले यसलाई विकृति भएको बताउँदै राज्यकोषको दुरुपयोग रोकी स्वदेशमै उपचार गर्ने व्यवस्थाका लागि कानुन नै बनाउनुपर्ने प्रस्ताव गरेका थिए । विदेशमा सरकारी पैसाले उपचार गराउने क्रम रोक्न थापाले हालेको संशोधनले अन्ततः मू्र्तरुप पाएको हो ।

शुक्रबार संसदबाट पारित भएको यो विधेयकमा ३२ जना सांसदले एक सय ९९ संशोधन प्रस्ताव हालेका थिए । विधेयक संसदबाट पारित भएपछि सरकारी खर्चमा साना ठुला जोसुकैले पनि सरकारी खर्चमा विदेशमा उपचार गर्न पाउँदैनन् ।

यसअघि राज्यको उच्चतहमा रहेकाहरुले करोडौँ सरकारी रकम लिएर आफ्नो उपचार गर्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, तत्काली प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस नेतृ सुजाता कोइरालासहितका दर्जनौँ नेताहरुले राज्यकोषबाट करोडौँ रकम लिएर विदेशमा उपचार गर्नेमा पर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७