यस्तो छ क्रिकेटर शक्ति गौचनको फिटनेस फर्मुला


२७ कार्तिक २०७४, सोमबार
Sakti ghauchan

नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन्, शक्ति गौचन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३३ वर्षीय शक्ति नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन् । राष्ट्रिय टिमबाट १५ वर्ष खेल्दा शक्ति चोटबाट टाढै रहे । टिमका सिनियर क्रिकेटर शक्ति सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन । हाल भैरहवामा बस्दै आएका शक्तिले स्वास्थ्य खबरका लागि सीताराम कोइरालासँग सधैं फिट हुनुको कारण बताएका छन्–

 Sakti ghauchan

सधैं एउटै दैनिकी पछ्याउँदै आएको छु । एउटै दैनिकी नै फिट हुनुको मूल आधार हो । सामान्यतया ६ देखि ७ बजेको बीचमा उठ्छु । बिहान तातो पानी वा कालो चिया खाने गरेको छु । कहिलेकाहीँ लेमन टि वा ग्रिन टि पनि खान्छु । नर्मल ब्रेकफास्ट खान्छु । ब्रेकफास्टमा कर्नफ्लेक्स, फलफूल र पाउरोटी लिने गरेको छु ।
बिहानको समयमा दौडिन्छु र जिम पनि जान्छु । फ्रेस भएपछि १० देखि ११ बजेको बीचमा खाना खाने गरेको छु । त्यसपछि घर नजिकको न्यु होराइजन स्कुलमा जान्छु । स्कुलको खेलकुद प्रशिक्षक छु । ३ बजेसम्म स्कुलमा बस्छु । नास्ता खाएर खेलाडीलाई प्रशिक्षण गराउँछु अनि आफू पनि गर्छु । ७ बजेतिर प्रशिक्षण सकिन्छ । त्यसपछि हल्का जुस र फलफूल खान्छु । साढे ८ र ९ को बीचमा डिनर गरेर सुत्छु । टिभी हेर्छु । १० र ११ को बीचमा सुत्ने गरेको छु । समान्तया ७ देखि ८ घन्टा सुत्छु।
राष्ट्रिय टिमको क्याम्प भएको बेला पनि यही दैनीकि हो । फरक चाहिँ घरको सट्टा होटलमा बसिन्छ र स्कुलको सट्टा प्रशिक्षणमा गइन्छ । घरमा जस्तै ६ देखि ७ मा उठेर नर्मल ब्रेकफास्ट गरेर क्याम्प गइन्छ । ३–४ घन्टा प्रशिक्षण गरेपछि १ बजेतिर लन्च हुन्छ । सेसन लामो छ भने, फेरि २ बजेदेखि पुनः प्रशिक्षण गरिन्छ । ५ बजेतिर होटल आएपछि आराम गरिन्छ । त्यसपछि पुरानै दैनिकी पछ्याउँछु।
ननभेज भएको छु । मासु हुनैपर्छ भन्ने छैन । पायल्सको बिरामी भएकाले अहिले तीन महिनादेखि मासु खाएको छैन । तर, कहिलेकाहीँ खाँदा राम्रै लाग्छ। आफूलाई सधैं फिट तथा स्वस्थ राख्न मुख्यगरी खानेकुरामा ध्यान दिनुपर्ने रहेछ। मादक पदार्थबाट टाढै बसेको राम्रो । निद्रामा पनि नियन्त्रण गर्न सक्नुपर्छ । नियमित पर्याप्त सुत्नु ठिकै हो, तर अधिक समय सुत्न खोज्नु हुँदैन।
३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ । ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु । ग्राउन्डमा भएपछि मेरो फिटनेस आपसेआफ हुन्छ । यो मलाई फिल हुन्छ।खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर इन्जोय गर्नाले फिटनेसमा समस्या आउँछ । त्यसैले म यस्तो गर्दिनँ । आफ्नो दैनिकी अनुसार चल्छु । मेरो दैनिकीले मलाइ फिट राखेको हो।
फिटनेस भनेको मिहिनेत पनि हो । मिहिनेत भनेको फिटनेस हो । फिट हुँदा राम्रो नतिजा आउँछ । फिटनेसले खेलाडीको प्रदर्शनमा पनि सकारात्मक प्रभाव पार्छ। पछिल्लो सयम बिरामी भए पनि मेरो खेल जीवनमा बिरामी भएर कहिल्यै अस्पताल भर्ना हुनुपरेन । कहिलेकाहीँ सामान्य बिरामी परेका बेला घरमै आराम गरेको छु । अहिले पायल्स हुँदा पनि घरमै आराम गरिरहेको छु।
नेपाल टिमबाट खेल्दा अहिलेसम्म चोटको समस्या भोग्नुपरेको छैन । तर, बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो । त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपर्‍यो । त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो । राष्ट्रिय टिममा परेपछि चोटले कहिल्यै सताएन । मेरो विचारमा फिट रहन सक्यो भने चोटले पनि कम सताउँछ।
नयाँ आउने खेलाडीलाई प्रशिक्षणमा गम्भीर हुनु आग्रह गर्छु । टिनएजमै भएको खन्डमा सातामा तीन पटक अनिवार्य रुपमा जिम सेसन गर्नुपर्छ । विशेषज्ञसँग सोधेर आफ्नो शरीरको कुन भागलाई बलियो बनाउने त्यहाँ केन्द्रित भएर जिम गर्नुपर्छ । क्रिकेट खेल्नेले  फिट रहन नर्मल दैनिकी पछ्याउँदा पनि काफी हुन्छ । अर्को तर्फ, खानामा पनि ध्यान दिनुपर्छ । मिहिनेत चाहिँ गर्ने तर खानामा सन्तुलन नमिलाउने हो भने त्यसले फाइदा गर्दैन।

स्वास्थ्य खबरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७