चोर छुटाउन सचिवको दबाब


१ आश्विन २०७५, सोमबार
Mr. Shanker Das Bairagi

काठमाडौं, १ असोज । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीको पीएका रुपमा लामो समयदेखि काम गदैआएका चेतबहादुर कार्की चोरीको आरोपमा पक्राउ परेका छन् ।

पदले करारका कार्यालय सहयोगी भए पनि सचिवका विश्वासपात्र र पीएको भूमिकामा काम गर्ने कार्की २०७५ भदौ १९ गते बिहान बानेश्वर थापागाउँबाट गीता रेग्मीको ब्याग चोरी गरेको आरोपमा महानगरीय प्रहरी बृत्त बानेश्वरको थुनामा छन् ।

थापागाउँको पसलमा औषधि किनिरहेकी रेग्मीको ब्याग कार्कीले मोटरसाइकलबाटै थुतेर भागेका थिए । प्रहरीले मोटरसाइकल नम्बरका आधारमा उनलाई पक्राउ गरेको बानेश्वर बृत्तका प्रमुख डीएसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोक घर भएका कार्कीले रेग्मीको ब्याग चोरी गरेर उक्त ब्यागबाट १७ हजार नगद लुकाइसकेपछि प्रहरीको फन्दामा परेका थिए । कार्की हरेक बिहान सचिव बैरागीका घरमा जाने र दिउँसो मन्त्रालयमा उनको पीएको काम गर्ने गर्दैआएका थिए ।

प्रहरीबाट अवकाश पाएपछि कार्की कार्यालय सहयोगीमा करारमा परराष्ट्र मन्त्रालयमा कार्यरत रहँदैआएका थिए । कार्यालय सहयोगी भएतापनि खरिदार नासुको काम सचिवले उनलाई लगाउँदैआएका थिए । सचिवका चोटाकोठा सबैमा उनको पहुँच थियो ।

गठ्ठाघरमा चार तले घर भएका कार्कीको श्रीमती संसद सचिवालयमा असईमा कार्यरत रहेको बयान उनले प्रहरीलाई दिएका छन् । सचिवको विश्वासपात्र भएकाले परराष्ट्रमा उनले हैकम जमाउँदैआएका थिए । कार्यालय सहयोगी भए पनि उनले सचिव बैरागीको आडमा छोरालाई मन्त्रालयमै कार्यालय सहयोगीको जागिर लगाएका छन् । सचिव बैरागीको आडमा उनले साली र भान्जीलाई कम्प्युटर अप्रेटरमा करारमा राखेका छन् ।

करारमा राखिएका उनका नातेदारले सहसचिव र उपसचिव कसैलाई टेर्दैनन् । र, सचिवका कारण काम नगरे पनि उनीहरुको बारेमा कसैले केही भन्ने हैसियत पनि राख्दैनन् ।
२०७२ बैशाख १२ को भूकम्पका बेला परराष्ट सचिव बैरागीको नाममा कार्कीले गोरखधन्दा नै चलाएको कर्मचारी स्रोत बताउँछ । हरेक संघ संस्थामा परराष्ट्र सचिवको नाम लिएर उनले सहयोग ल्याएर बिक्री गरी मालामाल भए ।

भारतीय नाकाबन्दीताका परराष्ट्र सचिवको नाममा उनले आयल निगमदेखि विभिन्न संस्थाबाट खाना पकाउने एलपी ग्यास ल्याउने र कालोबजारी गरी लाखौं रुपैयाँ आर्जन गरेको कुरा पनि कर्मचारीले थाह पाएका थिए । भूकम्पदेखि नाकाबन्दीसम्म ग्यासदेखि विभिन्न सामान उनले परराष्ट्र सचिव बैरागीको नाममा ल्याएर कालोबजारी गरेको आरोप छ ।

सडकमा औषधि किनिरहेकी महिलाको ब्यागसमेत चोरी गर्ने कार्कीले पराराष्ट्र मन्त्रालयका सचिवका कार्यकक्षबाट महत्वपूर्ण डकमुेन्ट फोटोकपी गरेर कहाँकहाँ दुरुपयोग गरी फाइदा लिए होलान् ? यसको छानबिन कसले गर्ने ? कार्कीलाई सचिवले संरक्षण गरेका कारण उनले गरेका कुकर्महरुको बारेमा कसैले पनि प्रश्न उठाउन सकेका थिएनन् । बाटामा महिलाको ब्याग चोरी गरी भागेपछि प्रहरीले पक्राउ गरेका कार्कीलाई छुटाउन परराष्ट्र सचिव बैरागीले दबाब दिइरहेको समाचार आजको साँघु साप्ताहिकले लेखेको छ ।

सचिव बैरागीका सबै कमजोरी थाहा पाएका कारण पनि कार्कीलाई छुटाउन उनले दबाब दिइरहेको स्रोतले बताएको छ । सचिव बैरागीसँग चोरीको अभियोगमा थुनामा रहेका कार्कीको बारेमा प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आएनन् ।

यसैबीच, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले दुईतिहाईको सरकारलाई चुनौती दिंदै मनपरी सरुवा–बढुवा गर्दैआएका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको सोझोपनको फाइदा उठाउँदै उनले सरुवा बढुवामा वाम समर्थक कर्मचारीलाई पेल्ने र विगतकै राजावादी–कांग्रेसको सिन्डिकेटको योजना र सल्लाहमा काम गर्ने गरेको आरोप उनीमाथि लागेको छ ।

चाकडी चाप्लुसीको बिरोधी बताउने उनी अबको मुख्यसचिव बन्नका लागि नेकपाका नेताहरुको घरघरमा धाउने गरेका छन् । नेकपा समर्थक केही राजदूतहरुमार्फत् उनी शक्तिकेन्द्रमा धाउने गरेको समाचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७