‘प्रहरी नै हत्याराको पक्षमा लागेपछि न्याय माग्न कहाँ जाने ?’


१ आश्विन २०७५, सोमबार
Sonu Upreti


काठमाडौं, १ असोज । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको परिवारकार सदस्यहरुले दाबी गरेका छन् । सौरभ हत्याका प्रमाणहरु प्रहरीले नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या भनिएको परिवारको दाबी छ ।

Sonu Upreti
पत्रकार सम्मेलनमा बहिनी सोनु उप्रेती, तस्बिर : रिपोर्टर्स क्लब


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनको परिवारले प्रहरीले नै प्रमाणहरु नष्ट गरेर अपराधीहरुलाई उन्मुत्ती दिएको दाबी गरे ।

मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै पीडा पोखिन् । उनले प्रहरीले नै हत्याराको प्रमाण नष्ट गरेको दाबी गरिन् । उनले सोधिन्, ‘प्रहरी नै हत्याराको पक्षमा लागेपछि न्याय माग्न कहाँ जाने ?’

उनले दुई तिहाईको सरकारसँग न्याय दिने क्षमता नभएको आरोप लगाइन् । भनिन्,‘दुईतिहाईको सरकारसँग न्याय दिने क्षमता छैन पीडितहरुले आँशु झार्दै बस्नुपर्छ, हाम्रो आँशुले अपराधीलाई पोल्नेछ, एकदिन कानूनको भागिदार हुनेछ ।’

मृतक उप्रेतीकी बहिनी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको बताइन् । रुदै भनिन्, ‘मेरो भाईको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होईन, रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरु नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या गरेको भनेर भन्छ, प्रहरीले जाहेरी लिँदैन, हामीले यस सरकारबाट न्याय पाउँदैनौं भने हामी कहाँ जाने ?’

मृतकका बुबा अजुर्न उप्रेतीले छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाए ।

एसपी मनोज केसी गम्भिर भएनन्

Morang


मृत्तक उप्रेतीका मामाका छोरा श्याम सापकोटाले उक्त घट्नाका प्रमाणहरु प्रहरीले नै नष्ट गरेको बताए । उनले शक्तिशाली अनुशन्धान आयोग गठन गर्न सरकारसँग माग गरे ।

उनले भने,‘मोरङ एसपी मनोज केसीसहितको टोलीले यस घटनालाई गम्भिर भएर लिएको पाईँदैन, ४८ दिनसम्म पनि हामीले न्याय नपाउने र दोषी खुलेआम हिड्ने हो भने यस देशमा कसरी न्याय सम्प्रभुताको अनुभव गर्ने ?’

प्रहरीले किटानी जाहेरी समेत नलिएको उनको भनाई छ,‘किटानी लिनसमेत मानेको छैन्, घट्नाको निश्पक्ष छानविन हुनुपर्छ भन्नेमा हामी छौं । प्रहरी प्रशासन कसरी पीडितलाई झन पीडा दिन सकिन्छ भनेर लागेको देखिन्छ, सरकार सफल बनाउन जनताको साथ आवश्यक हुन्छ । तर, प्रहरी पशासन सरकारलाई असफल बनाउन खोज्दैछ ।’

‘गोली खान तयार छौं’
उदयनारयण सापकोटाले उक्त घट्ना भएको स्थानमा भेटिएका छुरा र काँडे लठ्ठी समेत प्रहरीले बरामद नगरेको भन्दै मृतक उप्रेतीको न्यायका लागि मोरङमा आन्दोलनको राँको बालिने चेतावनी दिए । उनले भने,‘पछिल्लो समयमा मलुकभर बलात्कार हत्याका श्रीङ्खलाबद्ध घट्नाहरु बढिरहेका छन् ।’

सौरभको मृत्युलाई न्यायमा परिणत गर्नको लागि गोली खान आफूहरु तयार रहेको उनले बताए । भने, ‘निर्मलाका हत्यारालाई कारबाही गर्न भन्दै सडकमा ओर्लेका अर्को एकजना मानिसले ज्यान गुमाउनुपर्यो, त्यस्तै हामीले पनि सौरभको मृत्युलाई न्यायमा परिणत गर्नको लागि गोली खानुपर्छ भने तयार छौं ।

गृहमन्त्री रामबहादुर थापाले आफ्ना सुरक्षा अंगहरुलाई आदेश दिए हुन्छ, हामी छाति थाप्न तयार छौं, कुनै व्यक्तिको रहस्यमय तरिकाले हत्या गरिन्छ, अनि अर्को व्यक्तिले मृतकको न्यायको लागि गोली खानुपर्छ, सँगै बसेर पढेका र शंका लागेका कुवर थापा र शत्रुधन यादवलाई सोधपुछ गर्दा हामीलाई किन सोध्ने ? भन्ने ठाउँमा भन्छौं भनेर जवाफ दिन्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७