ठेकेदारको चुनावः गुण्डानाइकेका पार्टनरदेखि कालोसूचीका व्यापारीसम्म


४ आश्विन २०७५, बिहीबार
thekedar

काठमाडौं, ४ असोज । नेपाल निर्माण ब्यवसायी महासंघको ११ औं महाधिवेशनमा पहिले झैं यो पटक पनि विवादास्पद ठेकेदारहरु नै हावी हुने भएका छन् । असोज ४, ५ र ६ गते काठमाडौंमा हुने निर्वाचनमा नेपाली काँग्रेस निकट मानिएका ५ जना ब्यवसायीले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुलाई मिलाउन नसकेको खण्डमा बामगठबन्धनका एक्ला उम्मेदवारको जित सुनिश्चित हुने देखिन्छ । अहिलेसम्म अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

thekedar


यसरी घोषणा गर्नेमा बर्तमान अध्यक्ष विष्णुभाई श्रेष्ठ (विशाल एण्ड विराट), पूर्वअध्यक्ष सुकुन्तलाल हिराचन (यूनाईटेड विल्डर्स), रामशरण देउजा, यक्षध्वज कार्की (स्काई विल्डर्स), रवि सिंह (महादेव खिम्ती) र होमनाथ कोइराला (विकोई विल्डर्स) रहेका छन् । जसमध्ये सिंह, कार्की, कोइराला र देउजाले एकैपटक पत्रकार सम्मेलन गरेर अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए । यक्षध्वज कार्कीबाहेक सबै ब्यवसायी नेपाली काँगे्रसनिकट हुन् ।

कार्कीलाई नेकपाले अघि सारेको छ । कालोसूचीमा परेका हिराचन विवादास्पद ठेकेदार हुन् ।
त्यसैगरी, प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैटे’ का पार्टनर ठेकेदार दीपक गौतमले नेपाल निर्माण व्यवसायी महासंघको ११औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । ठेकेदार गौतमको गजुरमुखी कम्पनी निकै विवादास्पद मानिन्छ । गजुरमुखी कम्पनीलाई गृह मन्त्रालयले कारबाहीको सूचीमा राखेको थियो । विगतमा ठेकेदार गौतमले गुण्डा नाइके कुमार घैंटेलाई प्रयोग गरेर टेण्डर हत्याउने गरेको खबर सार्वजनिक भएको थियो । गौतमले अर्का साझेदर सन्तोष गौतमलाई पनि ठेक्का हत्याउन प्रयोग गरेको समाचार बाहिर आएको थियो । स्रोतका अनुसार सन्तोष गौतम संघका पूर्वअध्यक्ष शरद गौचन हत्यामा मुछिएका शंकास्पद पात्र हुन् ।

सन्तोष र गौचन हत्याका नाइके समिरमानसिंह बस्नेतबीच पटक–पटक कुराकानी भएको तथ्य प्रहरीले फेला पारेको थियो । गौतमले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट सेटिङमा दस अर्ब भन्दा बढीको ठेक्का लिन सफल भएपछि पैसाकै बलमा चुनाव जित्ने दाउमा छन् ।
गौतमको समूहलाई काँग्रेस नेता अर्जुननरसिंह केसी र उनका भाइ जगदिश नरसिंह केसीको संरक्षण रहेको छ, बिहीबारको युनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ ।

गुण्डानाइके श्रेष्ठसँगको लेनदेन विवाद चलिरहेका बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घैंटेलाई इन्काउण्टर गरेको थियो । मिलेमतोमा ठेक्का लिनेमात्र नभई गुण्डा, प्रहरी र प्रशासनलाई समेत मिलाउने उनले ठेक्का हात पार्दै आएको खबर यसअघि विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइसकेका छन् ।


हाल सदस्य पदमा रहेका ठेकेदार गौतमले एकैपटक विना छलफल एउटा क्लबमा पुगेर महासचिवमा उम्मेदवारी दिएपछि महासंघमा आवद्ध अन्य पदाधिकारी भने निकै रुष्ट बनेका छन् । उनै ठेकेदार गौतमले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत् अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसका लागि आफूले उम्मेदवारी दिएको बताए ।


बाहिर हेर्दा इमान्दार देखिने गौतम ठेक्का कार्टेलिङको सूत्राधार नै हुन् । गौतमले नै रेल वे विभागको पहिलो ठेक्का (बर्दिबास खण्ड) कार्टेलिङ गरेर सीमित ब्यवसायीलाई मात्र ठेक्का दिलाएका थिए । ८ प्याकेजमा लिएको उक्त काम करिब ४ अर्ब बराबरको थियो । त्यसैगरी, अहिले पनि इलाम, झापा, जनकपुर, नेपालगञ्ज, बीरगञ्ज, विराटनगरका शहरी सडकहरुका काम स–साना प्याकेजमा बनाएर आफूअनुकूल उनले काम लिन सफल भएका ब्यवसायीबीच चर्चा छ ।
नेपाल प्रहरीले ठेकेदारहरुका कारण पनि गुण्डागर्दी बढेको आरोप लगाउँदै आएको छ । ठेक्कापट्टामा गुण्डाहरुलाई अनाधिकृत रुपमा प्रवेश गराएकै कारण ब्यवसायी गौचनको हत्या भएको प्रहरीको निष्कर्ष थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७