म हाउस हस्वेण्ड


५ आश्विन २०७५, शुक्रबार
laxmi bilash koirala

-लक्ष्मी विलास कोइराला

साथी,
तीस वर्ष लामो सरकारी जागिरबाट
मैले अवकाश पाएको छु,
अवकाशसँगै,
मेरो पेशा र कार्यक्षेत्र बदलिएको छ,
जिम्मेवारी फेरिएको छ,
जीवनको नयाँ चरण प्रवेश गरेको छु,
साथी, आजकल म,
हाउस हस्वेण्ड बनेको छु ।



बिहानको हिडाइबाट हतार हतार फर्कि,
चिया बनाउँछु,
चिया पिउदै वैठकमा,
श्रीमती पत्रिका पढने,
इन्टरनेट चेक र,
कलेजको काम गरिरहँदा,
म भने खाना बनाउँछु,
छोराछोरीको टिफिन राख्छु,
ड्रेसमा आइरन गरी जुत्तामा पालिस गर्छु,
श्रीमती खाना खाएर,
अफिस निस्कदा,
श्रीमतीको ब्यागमा लिपिस्टिक राखिदिदै,
मैले उनको विदाईमा मुस्कुराउन सिकेको छु,
साथी, आजकल म,
हाउस हस्वेण्ड बनेको छु ।
 
भाँडा माझमुज,
घरको सरसफाई, अनि,
वासिङ मेसिनमा कपडा राख्छु, र,
एकैछिन मनचाह टिभि प्रोग्राम हेरी,
विजुली, धारा र टेलिफोनको विल तिरेर,
छोराछोरी लिन स्कूल पुग्छु,
फर्कदा दाल तरकारी बोकेर,
हतारोमा घर पुगी खाजा बनाउँछु, अनि,
श्रीमती अफिसबाट फर्केर घर आउँदा,
मैले उनको स्वागतमा,
ढोकामा मुस्कुराउँदै उभिन सिकेको छु,
साथी, आजकल म,
हाउस हस्वेण्ड बनेको छु ।
 
साँझ ढल्कदै गर्दा,
श्रीमतीसँग छोटो कुराकानीपछि,
उनलाई चिया खाजा दिएर,
रातको खाना बनाउन जुटने गर्छु,
खाना पाक्छ, म छोरीलाई पढाउन बस्छु,
मलाई थाक्ने फुरसद हुदैन,
श्रीमती इष्टमित्र, नातेदारसँग फोनमा वा,
फेसबुक र टिभिमा व्यस्त भैरहदा,
रातको सुत्ने बेलामा,
मैले बेड मिलाउने सीप सिकेको छु,
साथी, आजकल म,
हाउस हस्वेण्ड बनेको छु ।
साथी, आजकल म,
हाउस हस्वेण्ड बनेको छु ।

-गीतानगर, चितवन ( हालः काठमाडौं)

(कवि कोइराला केही दिन अघिमात्र अवकाशप्राप्त सहसचिव हुन् ।)

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७