शब्द मीमांसा
–दीपा रार्इ पुन
शब्दको अर्थहरूले
परिभाषा बोकेर हिँडेपछि
शब्दहरूलाई आफैले बुझ्दा
के हुन्छ र !
पीड़ा छ र दुख्छ
दुख्नु मन मनै रमाउनु
आफै मुस्कुराउनु आफैसँग
पीडाको गहिराई
शान्त तलाउ बोधताको
दुख कै चेतले जीवनको संघारमा
जीवनलाई बुझाई रहेको हुन्छ
केही आसा
केही भरोसा
केही विश्वास आफैसँग
लड्दै उठ्दै हिँडिन सिकाउँछ
चोट- खुसी हुने उपाय
आफ्नै अनुहार भरि इन्द्रेणी पोख्ने
दिलको घाउलाई आफै मलम लगाउने
घाम जून टिपेर आफैलाई सिउरने
आफ्नै दृढता अटल रहने
सबलाई जानु छ
त्यो क्षितिज पारी
तिमीलाई बाटो काटेर जानुमा हतार छ
आँखाबाट ओझेल हुँदै
मनबाट भागेर जानु हतार छ
बिर्सनु- सम्झनु रहेछ पलपल मेरो लागि
बिर्सनु- बिर्सनै होला तिम्रो लागि
शब्दको खेल न हो
परिभाषाहरूले त्यो क्षण मलाई
तिमीले प्रेम गर्छौ नभनी दिएको भए
म आज मलाई प्रेम गर्न जान्दिन थे
प्रेम- घृणा बनिएर एक दिन
तिमीले नै मलाई
वर्तमान दया माया प्रेम केही छैन भनिरहँदा
म उस्तै शान्त र स्निग्ध नै थिए
मेरो लागि शब्द
निश्चित समयका व्यंजक हुन
अर्थहरू बिना दोषको हुन पर्छ
हरेक दिन एउटा उत्सव जीवनको
आफैलाई जितिरहने मनोहर हुनुपर्छ
फूल भन्दै बर्साएर असिना चुट्नेहरूलाई
फुल कै प्रेमिल गुच्छाले दुख्नु पर्छ।
-हाल अमेरिका