मुद्दा हारेपछि न्यायाधीशलाई नुरप्रसादकाे अश्लिल गालीगलौज, इजलास अधिकृतमाथि कुर्सी प्रहार


९ आश्विन २०७५, मंगलवार
nurprasad adhikari kG5TPGYZJi

काठमाडौँ, ९ असाेज ।
गोरखा फुजेलका नुरप्रसाद अधिकारीले मुद्दा हारेपछि पाटन उच्च अदालतमा तोडफोड गरेका छन् । आइतबार अपराह्न ४ः४५ बजे नुरप्रसादले वारेसमार्फत अदालतमा चलिरहेको मुद्दा हारेपछि तोडफोड गरेको अदालतले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ । 

पाटन उच्च अदालतका सूचना अधिकारी ध्रुव सुवेदीका अनुसार इजलास अधिकृत रोशन बस्नेतसहित अदालतका कर्मचारीलाई समेत आक्रमण गरेका थिए । उनले अधिकृत बस्नेतलाई लक्षित गरी प्रहर गरेको कुर्सीबाट छलिएर मानविय क्षति हुनबाट बचेको उनले जानकारी दिए । उनले प्रहार गरेको कुर्सीले अदालतको झ्यालको सिसा भने फुटेको छ ।

ललितपुर जिल्ला अदालतको विष्णुमाया घतानीसहितको पाँच थान मुद्दा पाटन उच्च अदालतमा पुनरावेदन थियो । घतानीको मुद्दामा नुरप्रसाद वारेस बनेर आएका थिए । आइतबारको इजलास नम्बर २ मा न्यायाधीशद्वय रमेश पोख्रेल र शेखरप्रसाद पौडेलको इजलास गठन थियो ।

बहस सकिएपछि न्यायाधीशद्वय पोख्रेल र पौडेलले निर्णय सुनाउँदै गर्दा आफ्नो पक्षमा फैसला नआएपछि एक्कासी आक्रोशित भएर न्यायाधीश र कर्मचारीलाई अपशब्द बोली गालीगलौज गरेका थिए ।

‘इजलास अधिकृत रोशन बस्नेत रहेको ठाउँको कम्प्युटर खसाले, लगत्तै दराजका सिसाहरु फुटाए र कुर्सी उचालेर प्रहार गरे,’ सूचना अधिकारी सुवेदीले नयाँ पत्रिकासँग भने,‘कुर्सी प्रहारलाई छलेर जोगिएँ । त्यो कुर्सी झ्यालको सिसा फुटाएर तल खस्यो । दराज, झ्यालको सिसा, कम्प्युटर पोडियम र पुस्तकहरुमा क्षति पुगेको छ ।’ उनले प्राविधिक टोलीको प्रतिवेदन आएपछि मात्रै क्षतिको विवरण आउने बताए ।

सुवेदीका अनुसार नुरप्रसादलाई ललितपुर प्रहरीले आइतबार ६ बजे नियन्त्रणमा लिएर लगेको छ । उनले मंगलबार नुरप्रसादलाई अदालतमा उपस्थित गराएर अदालतको अवहेलना, ज्यान मार्ने उद्योग, गालीबेइज्जती लगायतका मुद्दामा जाहेरी परेपछि म्याद थप लगायका विषयमा निर्णय हुने बताए । सोमबार सार्वजनिक विदाका कारण उनीबारे कुनै निर्णय भएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७