स्थानीय तहमा असंवैधानिक निकासी कर


९ आश्विन २०७५, मंगलवार
kar


दाङ, ९ असोज । जिल्लास्थित गढवा गाउँपालिकाले गाउँसभाबाट निर्णय गरेर ढुंगा तथा बालुवा निकासीमा कर लगाउने निर्णय गर्याे । जिल्ला समन्वय समितिमार्फत ठेक्कामा ढुंगा तथा बालुवा निकासी गर्ने व्यवसायी गाउँपालिकालको यो निर्णयले दोहोरो करको मारमा परे। अाजकाे नागरिक दैनिकमा समाचार छ ।

उनीहरू गाउँपालिकाको निर्णयविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट हाले। उच्च अदालतले निवेदक मुकेशकुमार गुप्ताको निवेदनमा गत भदौ १ मा गाउँपालिकालाई अन्तरिम आदेश दियो, ‘यथावस्थामा कर संकलन नगर्नू।’

भदौ ५ मा सोही अन्तरिम आदेशलाई निरन्तरता दिँदै उच्च अदालतले ढुंगा, बालुवा निकासीमा गाउँपालिकाले कर लिन नपाउने भन्दै निषेधाज्ञा जारी गर्याे। ‘गाउँपालिकाबाट कानुन बनाएर संकलन गरेको भए हुने रहेछ,’ गाउँपालिका अध्यक्ष सहजराम यादवले भने, ‘कर संकलनसम्बन्धी कानुन नबनाएकाले पाएनौं।’

कर संकलनबारे अध्यक्ष यादवको यस्तो स्पष्टीकरण आए पनि स्थानीय सरकारले कुनै पनि वस्तुको निकासी कर लिन नपाउने संवैधानिक व्यवस्था छ। उच्च अदालतले संविधानमा उल्लेख भएको यही व्यवस्थालाई टेकेर गाउँपालिकाविरुद्ध निषेधाज्ञा जारी गरेको हो । संविधानको २३६ र अनुसूची ८ मा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने ढुवानी वा सेवाको कुनै किसिमको बाधाअवरोध गर्न वा कुनै कर, शुल्क, दस्तुर वा महसुल लगाउन वा त्यस्तो सेवा वा वस्तुको ढुवानी वा विस्तारमा कुनै किसिमको भेदभाव गर्न नपाइने उल्लेख छ।

धारा २३६ मा उल्लिखित नियम मिचेका कारण उच्च अदालतले गढवा गाउँपालिकालाई निकासी कर संकलनमा रोक लगायो । तर, तुलसीपुर उपमहानगरपालिकाले पनि यस्तै निकासी कर संकलन गरिरहेको छ । संविधानको अनुसूची ८ ले गरेको व्यवस्था भन्दै उपमहानगरपालिकाले आफैं कानुन निर्माण गरेर निकासी कर संकलनका लागि ठेक्का दिएको छ ।

लुम्बिनी कबाड सेन्टरलाई एक करोड बीस लाख रुपैयाँमा निकासी कर संकलनको ठेक्का दिइएको हो । ‘विकास निर्माणका लागि धेरै काम गर्नु छ, जनतामा विकासको अपेक्षा निकै छ,’ उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले नागरिकसँग भनिन्, ‘जनताको यो अपेक्षा पूरा गर्न पनि निकासी कर संकलन गर्न उपमहानगरले आफैं कार्यविधि बनाएको हो।’

उपमहानगरपालिका क्षेत्रबाट अन्य स्थानीय तहमा प्रवेश गर्ने मालसामानको उपमहानगरपालिकाले कर संकलन गरिरहेको छ। यसका लागि उपमहानगरका सीमाक्षेत्रमा बोर्ड टाँगेर कर संकलन केन्द्र स्थापना गरिएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७