प्रचण्डको चितवन घोषणापत्र सार्वजनिक, घोषणापत्रमा के छ ?


२९ कार्तिक २०७४, बुधबार
prachanda photo

काठमाडौं: माओवादी अध्यक्ष एवम् क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले चितवनको विकासका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । निकै महत्वाकांक्षी घोषणापत्रमा मोनो रेल सञ्चालन, फ्लाइओभर र रिंगरोड बनाउने, रंगशाला निर्माणजस्ता योजना अघि सारिएको छ ।prachanda photo

भरतपुरमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनबाट प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा चितवनमा मेट्रो र मोनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाइने उल्लेख छ । चितवनबाट काठमाडौं दुई घन्टामा पुग्ने गरी रेल या सडक राजमार्गको योजना अघि बढाउने पनि उल्लेख छ ।

मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याइने बुँदालाई पनि महत्वका साथ राखिएको छ । त्यस्तै, भरतपुर–मेघौली सडक यातायातलाई २०(२५ मिनेटमा ओहोर–दोहोर गर्न सक्ने ढंगले स्तरोन्नति गरिने उल्लेख छ । अन्य स्थानीय सडक निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।

नवलपुर खण्डसँग जोडेर समग्र पश्चिम चितवनको विकास गर्न नारायणी नदीमा थप तीनवटा पुल निर्माण, नारायणी र राप्ती नदीमा तटबन्धन गरी फराकिलो रिंगरोड निर्माण, पूर्वी चितवनको कयर खोला र राप्ती नदीमा समेत तटबन्धन गरी सडक निर्माण गरिने घोषणापत्रमा उल्लेख छ । भूमिको खेतीयोग्य, औद्योगिक क्षेत्र र आवास क्षेत्रका रूपमा वर्गीकरणको नीति लिइने घोषणापत्रमा लेखिएको छ । शारदानगरमा अन्तर्राष्ट्रियस्तरको खेलकुद रंगशाला निर्माण गरिने पनि जनाइएको छ । चितवनमा अन्तर्राष्ट्रियस्तरको मनोरञ्जन पार्क ९फनपार्क० निर्माण गरिने उल्लेख छ ।

जोखिमपूर्ण बस्तीको स्थानान्तरण, नदीले कटान गरिएका जमिनको क्षतिपूर्ति, बाँदरझुलाका जनताको भरपर्दो र वैज्ञानिक समाधान निकालिनेजस्ता बुँदा समेटिएका छन् । चितवनमा सञ्चार अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गरिने घोषणा गरिएको छ ।

निकुञ्जमा सुरुङमार्ग वा फ्लाइओभर
माडी र बाँकी चितवन जोड्ने गरी पाँच वर्षभित्र राष्ट्रिय निकुञ्जमा सुरुंगमार्ग वा फ्लाइओभर सडकमध्ये एक निर्माण गरिनेछ । साथै रिउ कोरिडोर पनि पूरा गरिने जनाइएको छ । माडीमा रिंगरोडको करिब ४० किमी सडक निर्माणको ठोस पहल गरिने उल्लेख छ । ‘जनयुद्धका क्रममा पार्टीको भुलवश भएको बाँदरमुढे दुर्घटनामा दिवंगतहरूको चिरस्मरणमा एक पार्क निर्माण गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।

रोजगार योजना
उद्योग, कृषि, सेवा, यातायातलगायत क्षेत्रमा आगामी पाँच वर्षभित्र ५० हजार नयाँ रोजगार सिर्जना गरिने लेखिएको छ । यस्ता रोजगारमा चितवनका विपन्न परिवारलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

आवास योजना
भूमिहीन सुकुमवासीलाई पहिलो प्राथमिकताका साथ हाल बसोवास गरेकै क्षेत्र वा पायक पर्ने ठाउँमा बहुलताको आधुनिक आवास गृह निर्माण गरी वितरण गरिने घोषणा गरिएको छ ।

औद्योगिक नगरी स्थापना
औद्योगिक क्षेत्र शक्तिखोरमा पुग्ने फराकिलो सडक निर्माण, खानेपानी, विद्युत्, सञ्चार, आदि सुविधा पु¥याइने जनाइएको छ । देशभित्र र बाहिरका उद्योगीलाई आकर्षित गरी आगामी पाँच वर्षभित्र औद्योगिक सहर निर्माण गरिने उल्लेख छ । त्यस्तै, ठोरी नाकालाई व्यवस्थित बनाई भारतसँगको व्यापार तथा सुक्खा पारवहनलाई नियमित गरिने पनि उल्लेख छ ।

पर्यटकीय नगरी
देशको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको समग्र विकास गर्दै राष्ट्रिय निकुञ्ज, ताल–तलैया, सामुदायिक वन, कृषि तथा जडीबुटी फार्म, औद्योगिक क्षेत्र, शिक्षालय, पहाडी पदयात्रा, जंगल पदयात्रा, साहसिक पर्यटनलगायतको विकास तथा प्रवद्र्धन गर्दै यातायातको व्यवस्था ९प्रस्तावित रेल, सडक सञ्जाल तथा एअरपोर्ट०को उचित व्यवस्थापन गर्ने जनाइएको छ । चितवनलाई पहिलो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरिएको छ । देवघाट, मौलाकालिका क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न गुरुयोजना तयार गरिने उल्लेख छ ।

चितवन मेडिकल राजधानी
जिल्लालाई देशकै स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा विकास गर्न विशेष योजनाको निर्माण गरी आवश्यक पहल गरिने उल्लेख छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई विकास गरी मेडिकल कलेजका रूपमा निर्माण गर्ने योजना बनाइने घोषणा गरिएको छ ।यो समचार नयाँपत्रिकामा लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७