प्रधानमन्त्रीद्वारा पिरिस जलविद्युत संयन्त्र निरीक्षण


१५ आश्विन २०७५, सोमबार
Rss Images 1538374193393 SN Costarika 09302018 IMG 3146

सान होजे, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत संयन्त्र निरीक्षण गरेका छन् ।

Rss Images 1538374193393 SN Costarika 09302018 IMG 3146
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत् संयन्त्रको निरीक्षणका क्रममा जानकारी लिँदै । साथमा धर्मपत्नी राधिका शाक्यलगायत । तस्वीर : सान होजे, रासस

इओलिक पार्क आइपुग्दा प्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इञ्जिनियर जर्मन युरेना, डिबी एरियासले स्वागत गर्नुका साथै संयन्त्रका बारेमा जानकारी दिए । यसैगरी ‘कोस्टारिकन इलेक्ट्रिसिटी कर्पोरेसन’ (आइसीइ) का निर्देशक रोबेर्तो किरोसले सो परियोजनाका अन्य पक्षका बारेमा जानकारी गराएका थिए ।

कोस्टारिकाको ऊर्जा उत्पादनको ९८.१ प्रतिशत भाग नवीकरणीय ऊर्जाले ढाकेको छ । यीमध्ये पनि ८० प्रतिशत ऊर्जा जलविद्युतबाट प्राप्त हुन्छ । यस मुलुकमा सामान्यतया हरेक वर्ष करीब ७५ दिन उर्जाको मागको १०० प्रतिशत नवीकरणीय ऊर्जाले पूर्ति गर्छ । आइसीइले पानी, पृथ्वीको ताप, हावा, सूर्य र जैविक इन्धनका आधारमा ऊर्जा उत्पादन गर्छ ।

यस संस्थाले सहायक ब्याकअपका लागि मात्र हाइड्रोकार्बन ऊर्जा उपयोग गर्ने गर्छ । आइसीईको सबैभन्दा ठूलो परियोजना राष्ट्रिय विद्युत् प्रणालीमा आरेनल, काची, आङ्गोस्तुरा, पिरिस तथा रेभेन्ताजोन गरी चारवटा जलविद्युत् परियोजना छन् जसमा जलाशय समेत छ ।

यसैगरी पृथ्वीको तापका आधारमा मिराभालेस जियोथर्मल तथा लास पाइलास जियोथर्मल प्लान्ट गरी दुई परियोजना पनि यस संस्था अन्तर्गत छन् । आइसीइअन्तर्गत वायु ऊर्जा प्रणाली पनि छन् । यस संस्थाको क्यान बाग्यासे आयोमास ऊर्जा संयन्त्र कोस्टारिकाको उत्तरपश्चिमी भागमा अवस्थित छ ।

कोस्टारिकामा आईसीईले कुल उर्जाको ७०.२७ प्रतिशत उत्पादन गर्छ भने व्यापारिक समुदायले १०.२५ प्रतिशत, निजी क्षेत्रले ९.२९ प्रतिशत र ‘बनाउ, सञ्चालन गर हस्तान्तरण गर’ (बुट) प्रणालीमा १०.१८ प्रतिशत उत्पादन गर्छन् ।

कोस्टारिकाले गुआटेमाला देखि एल साल्भाडोर, होन्डुरस, निकारागुवा भएर पानामासम्म विद्युत ऊर्जा विक्री गर्छ र यसका लागि उनीहरूबीच विद्युत वितरण प्रणाली छ । पिरिस जलविद्युत संयन्त्रले १३४ मेगावाट विद्युत् उत्पादन गर्छ र यो पिरिस नदीमा आधारित बाँधयुक्त जलविद्युत् परियोजना हो ।

कोस्टारिकाको कुल जलविद्युत् उत्पादन क्षमता तीन हजार ३९ मेगावाट रहेको अनुमान गरिएको छ । सन् २०१४ मा यस मुलुकले दुई हजार ७३२ मेगावाट उत्पादन गर्नसक्ने संयन्त्र स्थापना गरिसकेको छ ।

यस मुलुकको ऊर्जाको अर्को स्रोत भनेको भौगर्भिक ताप उर्जा हो ।
प्रधानमन्त्री ओलीले आजै सहकारीमा आधारित वायुऊर्जा परियोजना कोपासान्तोसको पनि निरीक्षण गरेका छन् । उनलाई कोपासान्तोसका अध्यक्ष तथा महाप्रवन्धकले वायुऊर्जाका विषयमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले वायुऊर्जाका विण्ड टर्बाइनको पनि निरीक्षण गरेका छन् । कोपासान्तोसको एक टर्बाइनले ८५० किलोवाट विद्युत् उत्पादन गर्ने तथा त्यसको लागत २८ लाख अमेरिकी डलर पर्ने जानकारी दिइयो । यस संस्थासँग हाल १७ वटा यस्ता टर्बाइन रहेको जानकारी दिइएको छ ।

गणतन्त्र कोस्टारिका मध्यअमेरिकी मुलुक हो । यसको उत्तरी भागमा निकारागुवा, उत्तर पूर्वी भागमा क्यारेबियन सागर, दक्षिण पूर्वमा पानामा, दक्षिण पश्चिममा प्रशान्त महासागर तथा दक्षिणमा इक्वेडोर रहेका छन् । एकाउन्न हजार ६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस मुलुकको जनसंख्या ४९ लाख रहेको छ । राजधानी सान होजेको जनसंख्या तीन लाख भएको अनुमान गरिएको छ ।

कोस्टारिका स्थिर प्रजातन्त्र भएको मुलुकका रूपमा चिनिन्छ । यहाँ निकै शिक्षित र अंग्रेजी भाषा बोल्ने जनशक्ति छ । यस मुलुकले शिक्षामा निकै लगानी गरेको देखिन्छ । यो मुलुक पनि कृषिमा निर्भर छ । हाल यसले वित्त, विदेशी कम्पनीका लागि सेवा (स्वतन्त्र व्यापार क्षेत्रका आधारमा), औषधि उत्पादन तथा पर्यावरणीय पर्यटनको क्षेत्र विस्तार गरेको छ ।

प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहेका छिन् । उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७