यसकारण बढ्दो छ नर्सिङ शिक्षाप्रति युवतीहरुको आकर्षण


१५ आश्विन २०७५, सोमबार
Nurse

नेपालगञ्ज, १५ असोज । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ ।

Nurse
फाइल फोटो

नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि छन् । रोजगारीका लागि धेरै अस्पताल र स्वास्थ्य संस्था चहार्नुपर्ने अवस्था धेरै नर्स पढेकाको अनुभव बन्न पुगेको छ ।

‘नर्सिङ अध्ययन पूरा गरेको एक वर्ष पूरा भए पनि अध्ययन अनुसारको रोजगार पाउन सकेको छैन’, नेपालगञ्ज– १५ का सुष्मा थापा बताउँछिन् ।

अहिले नयाँ प्रविधिसहितका थुप्रै नर्सिङ कलेज नेपालगञ्जमा खुलेका छन् । तथ्याङ्कअनुसार नेपालगञ्जमा सात नर्सिङ कलेज सञ्चालनमा छन् । सामान्यतया प्रत्येक वर्ष एउटा कलेजबाट ४० जनाभन्दा बढी नर्सको कोटा हुन्छ ।

‘नेपाली समाजमा पहिला नर्सलाई हेपाहा दृष्टिकोणले हेरिन्थ्यो, अहिले त्यसो छैन’, नेपाल नर्सिङ संघ, बाँकेका अध्यक्ष लक्ष्मी केसी भन्छिन् । यो पेशालाई अहिले निकै सम्मानपूर्वक हेर्ने गरिएको छ ।

‘नर्सिङ विषय अब युवतीको प्राथमिकतामा पर्ने गरेको छ’, केसीले भनिन् । ‘नर्सिङ विषय अधिकांश युवतीको प्राथमिकतामा परेको छ । नर्सिङ पढेर समाज सेवा गर्ने चाहना छ’, विद्यार्थी सृष्टि शाहले भनिन् ।

नेपालगञ्जका सात कलेजबाट वार्षिक करीब २५० नर्स उत्पादन हुन्छन् । उनीहरुको मुख्य चुनौती रोजगार हो । नेपालमा मात्र होइन विदेशमा समेत नर्सिङको माग अत्याधिक छ ।‘विदेशको मोहका कारण यो विषयप्रति युवतीको चाहना बढेको हो’, अध्यक्ष केसीले भनिन् ।

नर्सिङ अध्ययनमा प्रयोगात्मक अभ्यास धेरै हुन्छ । ‘दक्ष नर्स बन्न अस्पतालमा प्रयोगात्मक कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । नेपालगञ्जमा अस्पतालको संख्या कम भएकोले चुनौती छ’, नेपालगञ्ज नर्सिङ क्याम्पसका प्रमुख कल्पना पौड्यालले भनिन् ।

नर्सप्रतिको सामाजिक दृष्टिकोण फेरिएको मात्रै होइन अहिले त समाजले सम्मानजनक व्यवहार पनि गर्न थालेकाले पनि यो पेशाप्रति युवतीको मोह बढेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७