निर्वाचनकाे लागि शान्ति सुरक्षाको व्यवस्था गर : मानव अधिकार आयोग


२९ कार्तिक २०७४, बुधबार
human rights

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातारणमा सम्पन्न गर्नका लागि सरकार र निर्वाचन आयोगसंग अनुरोध गरेको छ ।  बुधवार आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारहरु माथि चुनावी प्रचारप्रसारको क्रममा आक्रमण आक्रमण भएपछि यस्तो आग्रह गरेको हो ।

human rights
नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट आक्रमण गर्ने, उम्मेदवारलाई प्रचारप्रसारमा बन्देज गर्ने, सम्पत्ति कब्जा गर्ने, डर, त्रासको वातावरण सृजना गर्नुका साथै मतदान गरे मतादातालाई नै कारबाही गर्ने जस्ता धम्कीका कारण भयरहीत वातावरणमा निर्वाचनमा भाग लिनपाउने मतदाताको अधिकार तथा स्वतन्त्र, निर्भयतापूर्वक र शान्तिपूर्ण ढङ्गाबाट प्रचार प्रसार गर्न पाउने उम्मेदवारको अधिकारको उल्लंघन भएको ठहर आयोगले गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति दिननजिकिंदै गर्दा प्रचार प्रसारका क्रममा रुकुम, रोल्पा, भोजपुर, म्याग्दी, सङ्खुवासभा, गोरखा लगायतका जिल्लाहरूमा उम्मेदवार तथा कार्यकर्ताहरूलाई लक्षित गरी श्रृंखलाबद्ध रूपमा भएको गोली तथा बम प्रहारका घटना लगायतका निर्वाचन विरोधी गतिविधिहरूप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले विभिन्न जिल्लामा गरेको अनुगमनका क्रममा निर्वाचनको विरोधमा रहेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुबाट उम्मेदवारको घरमा कालो झन्डा राख्ने तथा सम्पत्ति कब्जा गर्ने, मतदातालाई मतदान गरे कारबाही गरिने धम्कीदिने, निर्वाचनको प्रचार प्रसारमा अवरोध गर्नेे र निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू बिच भएका झडप लगायतका तथ्यहरू प्राप्त भएको जनाउँदै आयोगले शान्ति सुरक्षाको व्यवस्था गर्न आग्रह समेत गरेको छ ।
यस्ता कार्यले भयरहीत वातावरणमा निर्वाचनमा भाग लिन पाउने मतदाताको अधिकार तथा स्वतन्त्र, निर्भयतापूर्वक र शान्तिपूर्ण ढङ्गाबाट प्रचार प्रसार गर्न पाउने उम्मेदवारको अधिकारको उल्लंघन भएको आयोगको ठहर छ ।
‘स्वच्छ, स्वतन्त्र र आवधिकनिर्वाचनलोकतन्त्र र मानवअधिकारको पर्याय हो । यसको सम्मानगर्नु सबै नागरिकको कर्तव्य पनि हो । नागरिक तथा राजनीतिक विषयक अनुबन्ध लगायतका अन्तर्राष्ट्रिय र नेपालको संविधान लगायतका राष्ट्रिय दस्ताबेजहरूबाट प्राप्त अधिकारको पूर्ण उपभोगमा अवरोध गर्ने जो कसैलाई पनि विगतमा सरकारबाट कानुनी दायरामा ल्याउन नसक्दा यस्ता घटनारू बारम्बार भइरहेको आयोगको निष्कर्ष रहेको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोगले निर्वाचनमा भाग लिनपाउने प्रत्येक नागरिकको अधिकारलाई अवरोध नगर्न आग्रह गर्दै कुनै किसिमको व्यवधान सृजना नगर्न तथा सर्वसाधारणको मानवअधिकारको सम्मान गर्न सबैलाई आग्रह गरेको छ ।
साथै आफ्ना चुनावी गतिविधिहरू सञ्चालन गर्दा संयमता अपनाउन आयोगले सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७