जुनसुकै परिस्थितिमा पनि पढाइ छाडिनँ


प्रकाशित मिति : September 10, 2017
अभिनेत्री केकी अधिकारीले एमबिए पास गरेकी छिन् । म्युजिक भिडियो, टेलिविज्ञापनका साथै फिल्म अभिनयमा पनि उत्तिकै अब्बल अभिनेत्रीका रूपमा परिचित केकीले अघिल्लो शनिबार दीक्षान्त समारोहमा दिएको ‘स्पिच’ले पनि चर्चा पाएको छ । कोसिस गर्नेहरूको कहिल्यै पनि हार हुँदैन भनेर उनले आममानिसलाई मिहिनेत गर्न प्रेरित गरेकी छिन् । फिल्म निर्देशक बद्री अधिकारीकी पुत्री केकी एमबिए डिग्री होल्डर भए पनि फिल्म अभिनयमै करिअर उँचो बनाउन चाहन्छिन् । आफ्नो पढाइ जीवनका बारेमा उनलेनयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदीलाई यसरी बताइन्:

kaki-510x330

नायिका केकी अधिकारी ।

काठमाडौं, जोरपाटीस्थित बाल सिर्जनालय बोर्डिङबाट मेरो स्कुले जीवन सुरु भएको हो । हाम्रो आफ्नै स्कुल भएकाले नर्सरीदेखि एसएलसीसम्म नै मैले त्यही बोर्डिङमा पढेँ । स्कुलमा एक कक्षामा मात्र म सेकेन्ड भएँ । अरू सबै क्लासमा सधैँ फस्र्ट भएँ ।

एउटै बिल्डिङमा स्कुल र होस्टेल भएकाले मैले कहिल्यै ब्याग बोक्न पाइनँ । अरूहरू ब्याग बोकेर स्कुल आउँथे । म भने माथिल्लो तलाबाट तल्लोमा झथेँ । अरूले झैँ ब्याग बोकेर स्कुल जान पाए हुन्थ्यो, बाबाममीले पु-याए हुन्थ्यो भन्ने लाग्थ्यो कहिलेकाहीँ । होस्टेल र स्कुल सँगै भएकाले साथीसँग घुम्न जाने, बाहिर कतै गएर खेल्ने भन्ने नै हुँदैनथ्यो । मेरो मुख्य ध्यान पढाइमा मात्र केन्द्रित हुन्थ्यो । त्यसका साथै स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा पनि म सक्रियताका साथ भाग लिन्थेँ । पुरस्कार जितिरहन्थे । खेलकुद, नाचगानमा पनि म पढाइमा झैँ अब्बल थिएँ । स्कुलमा सधैँ फस्र्ट हुँदा कतिपयले आफ्नै स्कुल भएकाले फस्र्ट बनाएका पनि भन्थे । त्यसकारण, मलाई एसएलसीमा भने निकै ‘च्यालेन्ज’ थियो ।

एसएलसीमा पनि फस्र्ट भएरै देखाउनु थियो मलाई । त्यसैले अत्यन्तै मिहिनेत गरेँ । मिहिनेतको फल मीठो भयो । मैले ८६ प्रतिशत ल्याएर स्कुल टप गरेँ । यसले आफ्नो बाबुको स्कुल भएकाले छोरीलाई फस्र्ट बनाउँछन् भन्नेहरूको मुखमा पनि बुझो लाग्यो । डिस्टिंसन ल्याएकाले सबैले साइन्स पढ्नुपर्छ भनेर सुझाब दिए । मलाई पनि साइन्स पढ्नुपर्छ भन्ने लाग्यो । साइन्स पढ्नका लागि कलेज खोज्न थालेँ ।

स्कुलमा ब्याग बोक्न नपाएको धोको प्लस टुमा पूरा गर्ने चाहना भयो मलाई । त्यसैले, मैले घरभन्दा अलि टाढाको कलेज खोजेँ । मलाई लागेको थियो कि ब्याग बोकेर घरबाट टाढा पढ्न जाँदा गज्जबै हुन्छ । मध्य–बानेश्वरको हिमालयन ह्वाइट हाउस कलेजमा एडमिट भएँ । जोरपाटीबाट ब्याग बोकेर बानेश्वर जाँदाका सुरुका केही दिन रमाइलो लाग्यो । तर, मैले स्कुल पढ्दा सोचेकोजस्तो हँुदो रहेनछ । पछि–पछि त घरनजिकै कलेज भए पनि हुने भन्ने पनि लागेको थियो । कलेजमा हामी स्कुल टपर सबैलाई एउटै क्लासमा राखिएको थियो । त्यसकारण टप गर्नुपर्छ भन्ने इगो हुने गथ्र्याे । त्यसले गर्दा पढाइमा बाहेक अन्त मन लगाइँदैनथ्यो । कलेज गयो, घर आयो अनि फेरि किताबमै ध्यान हुन्थ्यो । कलेज लाइफ हो, रमाइलो गर्नुपर्छ भन्ने सोच कहिल्यै आएन । कतिपय सिनियरले कलेजमा मस्ती गर्नुपर्छ भन्ने, तर म भने पढाइबाहेक केही सोच्दिनथेँ । साइन्स लिएकाले पनि पढाइको प्रेसर एकदमै बढी थियो ।

प्लस टु पनि डिस्टिंसन ल्याएर पास गरेँ । प्लस टुपछि एमबिबिएस इन्ट्रान्सको तयारी चल्दै गर्दा म नृत्य प्रतियोगिता ‘घिन्ताङ’मा प्रतिस्पर्धा गर्न पुगेँ । स्कुलमा पनि डान्स गर्दै आएकीले मैले खाली समयको उपयोग गर्दै सो प्रतियोगितामा भाग लिएकी थिएँ । त्यहाँ म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेल सरसँग चिनजान भयो । उहाँले मलाई म्युजिक भिडियोमा अभिनय गर्ने अफर गर्नुभयो । सुरुमा मैले मानिनँ । फेरि पनि उहाँले अफर गर्नुभएपछि मैले बुबाममीलाई सोधेँ । उहाँहरूले पढाइ बिग्रिएला भन्नुभयो । मैले उहाँहरूलाई विश्वस्त पारेँ । त्यसपछि म्युजिक भिडियो र एडहरू गरेँ । मलाई भिडियोबाट निकै अफर आउन थाले । बाबाले पढाइ बिग्रने भयो भनेर चिन्ता लिनुभयो । त्यसपछि मैले एक वर्षसम्म केही गरिनँ ।

प्राइम कलेज, सोह्रखुट्टेमा बिआइएम ज्वाइन भएर पढ्दै थिएँ । प्रसन्न सरले फेरि भिडियोको अफर गर्नुभयो । उहाँले अञ्जु पन्तले गाउनुभएको ‘वनमा फुल्यो फुलैफूल’ बोलेको मीठो गीतको भिडियो बनाउँदै हुनुहुँदो रहेछ । मलाई भिडियो गर्न मन लागेको थियो । तर, घरमा मनाउन गाह्रो थियो । ममीसँग सल्लाह गरेर मनाएँ । त्यो भिडियो सुटिङका लागि म पहिलोचोटि घरबाहिर जिरी पुगेकी थिएँ । अचम्म लागेको थियो । यता यही कुरालाई लिएर ममी र बाबाबीच विवाद भएछ । मैले पढाइ कत्ति पनि नबिगार्ने वाचा गरेर भिडियो गर्न थालँे । पढाइमा कमी हुन थाल्यो भने म छोडिहाल्छु भनेर उहाँहरूलाई विश्वस्त पारेँ । सोहीअनुसार पढाइ र अभिनयलाई एकसाथ अघि बढाएँ । त्यहीबीचमा ‘स्वर’ फिल्मबाट मेरो डेब्यु भयो । म्युजिक भिडियो, एडहरूमा पनि निकै व्यस्त भएँ । अफर त कति आउँथे–आउँथे, तर समय मिलाएर आफूलाई एकदम ठीक लागेको काम मात्र स्विकारेँ ।

ब्याचलर सक्दा–नसक्दै म फिल्म अभिनयमा व्यस्त भइसकेकी थिएँ । कलेजका साथीभन्दा पनि कलाकारिता क्षेत्रका साथी बढी हुन थाले । उताभन्दा यता नै रमाइलो लाग्दै गयो । दिनरात सुटिङमा व्यस्त भए पनि समय मिल्नेबित्तिकै किताब पल्टाइहाल्थेँ । भ्याएसम्म कलेज गइहाल्थेँ । छुटेका पाठहरू साथीहरूसँग नोटबुक लिएर पढ्ने गर्थेँ । एसाइन्मेन्टहरू इमेल गरेर भए पनि मैले पूरा गर्ने गर्थेँ । कलेज नगएका दिन फोनबाट हुन्छ कि, भेटेर हुन्छ कि, मेलबाट हुन्छ, साथीबाट के–के पढाइ भयो, सबै जानकारी लिन्थेँ । लगातारको सुटिङको व्यस्तताका कारण पनि कतिपय दिन त दुई–तीन घन्टा सुतेर मात्र भए पनि असाइन्मेन्ट सकेकी छु । मैले कलाकारिता र पढाइ, दुवैतिर ‘फुल टाइम’ नै दिएँ । जतिसुकै व्यस्त भए पनि पढाइलाई भने मैले ‘इग्नोर’ गरिनँ । किनभने, मैले बाबाममीसँग गरेको वाचा पूरा गर्नु नै थियो । त्यसका लागि मिहिनेत गर्न कहिल्यै हिच्किचाइनँ ।

एकातिर पढाइको लोड, अर्कातिर आफूले इच्छाएको क्षेत्रमा पाइरहेको अवसर, सन्तुलित रूपले अघि बढ्न निकै गाह्रो थियो । त्यतिवेला म आफूले चाहेर पनि कतिपय इभेन्टमा सहभागी हुन सकिनँ । यतिसम्म कि आफ्नै फिल्मको प्रिमियरमा जान पनि मैले धेरै गरेर समय मिलाउनुपथ्र्याे । टिनएजमा यस्तो हुन्छ, उस्तो रमाइलो हुन्छ, रमाइलो गर्नुपर्छ भन्ने सुनेकी थिएँ । तर, मैले कहिल्यै पनि त्यतातिर ध्यान दिइनँ ।

पहिला रहरमा सोख पूरा गर्नका लागि फिल्म–भिडियो गर्दै थिएँ । एकदम चित्त नबुझेसम्म ओके गर्दिनर्थेँ । तर, पछि गएर मैले काम गरेर परिवारलाई सहयोग गर्नुपर्ने परिस्थिति आयो । हामी घरायसी समस्यामा फस्यौँ । त्यसपछि मैले रहर मात्र नभई बाध्यताका हिसाबले पनि काम गर्नुपर्ने स्थिति भयो । तर, म डगमगाइनँ । घरको समस्यामा मैले आफूले सकेसम्म सहयोग गर्न थालेँ । जति समस्या परे पनि मैले पढाइलाई ‘इग्नोर’ गरिनँ । ब्याचलर पनि डिस्टिंसन ल्याएर पास गरेँ । कामको चापाचाप, आफ्नो पारिवारिक स्थिति र मनस्थितिका कारण मैले ब्याचलरपछि केही समय पढाइ रोक्ने सोच बनाएँ । तर, बाबाममीले पढाइ रोक्ने कुरा मान्नुभएन । बाबाले जिन्दगी चुनौती हो, यसलाई सामना गर्नुपर्छ । अहिले तिमीले पढाइ रोक्यौ भने रोकेको रोक्यै हुन्छ, त्यसैले कुनै पनि हालतमा तिमीले मास्टर्स सक्नुपर्छ । तिमी नडगमगाऊ भन्नुभयो । त्यसपछि मैले मास्टर्स ज्वाइन हुने निधो गरेँ ।

एकातिर काम गर्नुपर्ने बाध्यता थियो, अर्काेतिर पढाइ पनि अगाडि बढाउनुपर्ने थियो । त्यसैले, मैले बिहानको कलेज खोजेँ । बिजुली बजारस्थित प्रिसिडेन्टियल कलेजमा मर्निङ सिफ्टमा मास्टर्स पढाइ हुँदो रहेछ, त्यहीँ एमबिए ज्वाइन भएँ । ब्याचलर पढ्दा मलाई धेरैले चिन्दैनथे । मास्टर्स पढ्दा भने सबैले चिन्ने भइसकेकी थिएँ । ब्याचलर पढ्दाका साथी कोही कता, कोही कता भए । मास्टर्समा रेगुलर कलेज जान सकिनँ । साथी पनि निकै कम भए । तर, उनीहरूले मलाई राम्रै सहयोग गरे ।

मास्टर्स पढ्दै गर्दा म फिल्ममा निकै व्यस्त भइसकेकी थिएँ । त्यसैले कुनै पनि सुटिङ बिहान नौ बजेपछि मात्रै राखिदिन अनुरोध  गर्थेँ । सकेसम्म म कलेज जान्थेँ, नभ्याएका दिन भने के–के पढाइ भयो भनेर अपडेट हुने गर्थेँ । एकचोटि मलाई सरहरूले क्लासमा पर्याप्त मात्रामा हाजिर नभएको भन्ने कम्प्लेन गर्नुभयो । त्यसको असर क्लास एक्ज्याममा पनि प¥यो । टाइम म्यानेज गर्न एकदमै गाह्रै भए पनि मैले पढाइमा असर पर्न दिइनँ ।

एमबिए पनि डिस्टिंसन ल्याएर पास गरेँ । एक वर्षअघि नै पास भए पनि गत शनिबार मात्रै दीक्षान्त समारोह भयो । कलेजले दीक्षान्त समारोहमा स्पिचका लागि मलाई छनोट गरेको थियो । मैले आफूले भोगेका अनुभवहरू सेयर गर्दै जस्तोसुकै परिस्थितिमा पनि कोसिस जारी राख्नुपर्ने मन्तव्य दिएँ । भूकम्पपछिको विपत्तिमा एकले अर्कालाई गरेको सहयोग र सद्भावको उदाहरण पनि दिएँ । मेरो स्पिच सबैले मन पराउनुभयो ।

मैले एमबिए पास गरेँ । मान्छेहरू सोध्छन्, यो डिग्रीले तिमी के गछ्र्याै ? कतै जागिर खान्छ्यौ ? या आफैँ कुनै व्यवसाय गछ्र्याै ? पढ्नु एकदमै राम्रो कुरा हो । पढेको, सिकेको कुरा कहिल्यै खेर जाँदैन । मैले जुन विषय पढेकी छु, त्यसले मलाई आफैँलाई ‘म्यानेज’ गर्न सिकाएको छ । अन्य कुनै म्यानेजमेन्ट फिल्डमा जागिर खाने या व्यवसाय गर्ने सोचले मैले डिग्री पूरा गरेकी होइन । म फिल्ममै करिअर अझ अगाडि बढाउन चाहन्छु । भविष्यमा गएर मेरो लक्ष्य फिल्म निर्माण हो । त्यतिवेला पनि मलाई मेरो पढाइले ठूलो साथ दिनेछ । म भन्छु कि पढ्नु एकदमै महवपूर्ण उपलब्धि हो । यो उपलब्धि हासिल गर्न जुनसुकै परिस्थितिसँग पनि मुकाबिला गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्